Skip to content
LAXMI SUNRISE BANK

साँझ, गाउँ र घडी फूलहरूको यादमा

अर्थ सरोकार

  • प्रशंसा घिमिरे

​म मध्यपहाडी गाउँकी एक सामान्य परिवारमा जन्मेकी हुँ। जहाँ बिहान घामले उज्यालो छर्नेबित्तिकै मान्छेहरू श्रममा समाहित हुन्छन्। बेलुकी चुल्होबाट निस्केका धुवाँहरू देख्दा चित्रकारको कुनै क्यानभास झैँ भान पर्छ। मेरो जन्म त्यही धुलो र माटोमा भयो, जहाँ गोदावरी फुल्छन् र धानको बाला लहलह झुल्छन्। खेतबारीको काम नै यहाँका मानिसहरूको मुख्य परिचय बनेको छ। गाईवस्तुको घाँटीमा झुन्डिएको घण्टीले गोधुलीलाई अझ रोचक बनाउँछ यहाँ। रोदीघरमा मीठा गीतहरू गुन्जन्छन् र चराहरू यहीका रुखमा विश्राम गर्छन्। गाउँ भन्नू ससाना कुरा खुशी साटिने ठाउँ पनि हो ।

​हाम्रो पनि एउटा सामान्य घर थियो। त्यो रातोमाटोले बनेको घर अहिले पनि सम्झना आउँछ। घरअगाडि फराकिलो आँगन थियो। बर्खामा त्यहाँ पानी बग्थ्यो र हिउँदमा कुहिरोले झ्यालनेरै छुन्थ्यो। विद्यालय जान खेत अनि बारीको बाटो हिँड्नुपर्थ्यो। गर्मीमा कुवाको पानी खाँदा बेग्लै अनुभूति हुन्थ्यो। बर्खामा हिलो र झरीले गर्दा गाउँलाई पूरा बर्खा लाग्थ्यो। मानिसलाई सुहाउने मौसम थियो गाउँमा। गाउँको बितेको बाल्यकालले जीवनमा धेरै पाठ सिकायो। साहित्यकारहरूले लेखेको पढेकी छु, माटोले ममता सिकाउँछ। यसैले त मातृभूमि भन्ने शब्द प्रचलनमा आएको हो। आफ्नो जन्मेको भूमि सबैलाई सुन्दर लाग्छ ।

मेहनतको अवश्य फल मिल्छ भनेर मैले गाउँका किसानहरूबाट सिकें। माटोमा बीउ रोपेर किसानहरूले लहलह धान झुलाएका छन्। माटो नै जीवनको आधार भएको छ यहा ।
हजुरआमा खेतको डिलमा बसेर भन्नुहुन्थ्यो, “नानी, असफलताले नै पाठ सिकाउँछन्। असफलतादेखि नआतिनु ।”

​हाम्रो परिवार धेरै धनी थिएन। तर, हामी भोकै बस्नुपर्ने अवस्थामा पनि थिएनौं। पहाडका प्रायः किसान परिवारको कथा एकै हुन्छ। निम्न मध्यम वर्गको आफ्नै किसिमको पीडा हुन्छ। हामीसँग सीमित साधन र स्रोत थियो, अनि अभाव पनि थियो ।

गाउँमा एसएलसी पास गरेपछि म सहर आएँ।
​सहरमा पाइला राख्दा मेरा जीवनको नयाँ अध्याय सुरू भयो। फराकिलो सडक , चम्किला बत्ती, ठूला घरहरू र हजारौं विद्यार्थीको भीड देख्दा म अचम्ममा परेँ। सहरले मलाई प्रतिस्पर्धा, समयको मूल्य र अनुशासन सिकायो। सहरले पीडा पनि दियो। सहरमा म एक “गाउँकी केटी” न थिएँ।

साथीहरूको महँगो पहिरन र जुत्ता देख्दा मलाई आफ्ना लुगा सामान्य लाग्थे। कोठामा एक्लै बसेर रोएका क्षणहरू छन् । रातभरि सोचेर बिताएका रातहरू पनि छन्। कोठामा बत्ती निभाएर सुत्दा म गाउँको चौतारो सम्झन्थें, आमाको माया सम्झन्थें। म मनमनै भन्थें, “एक दिन यो सहरमा मेरो पनि पहिचान हुनेछ ।”

बुबा राजनीतिक चेतना भएको मान्छे हुनुहुन्थ्यो, उहाँ भन्नुहुन्थ्यो, “मेरी छोरीहरुले पढ्नैपर्छ।” त्यही वचनले मलाई अघि बढ्ने शक्ति दियो। छोराछोरीलाई समान व्यवहार गर्ने बुबाको चेतना साह्रै उन्नत थियो।

​अहिले पनि केही मीठा सम्झनाहरू मनमा आउँछन्। बाल्यकालमा हामी घडी फूल फुलेको हेर्दै त्यसैलाई समय हेर्ने साधन बनाउँथ्यौं; फूलका तिनै आकृति हेर्दाको गाउँको त्यो बालसुलभ परिवेश र साथीहरूका स्नेही अनुहारहरू अझै पनि मेरा मानसपटलमा ताजै छन्। आज समयले मलाई कहाँबाट कहाँ पुर्‍यायो, र पनि गाउँको सुवास बोकेको घडी फूल आँगनमा फूलेको सम्झना खुब आएको छ। म आँगनभरि फुलेका गोदावरी र सयपत्री फूलहरूलाई पनि सम्झिरहेकी छु।

​आँगनको डिलमा ढकमक्क फुलेका ती नीलो-बैजनी फूलहरू बारे सोच्दा मेरो मन अनायासै बाल्यकालतिर पुगिहाल्छ। यो परदेशमा पनि बैजनी फूलहरू फुलेका छन्। यी फूलहरूको सौन्दर्य एकोहोरिएर हेर्छु, यिनीहरूले मलाई मेरा पुराना दिनहरूको सम्झना गराउँछन्। त्यो गाउँको माटोमा खेलेको याद आउँछ, विद्यालय जाने हतारो सम्झिन्छु, आमाको मायालु हातहरूको स्पर्श सम्झन्छु। आज पराइ भूमिमा हुँदा बाल्यकालका ती घडी फूलहरू यता नफुले पनि, मेरा विगतका पलहरू सम्झाउन अरू नै फूलहरू फुलेका छन्। ती फूलहरू हेर्छु र मलाई घरकै याद आउँछ।

​वैदेशिक रोजगारीको अवसर पाउँदा मनमा दुईथरी कुरा खेले। एउटा मनले भन्यो — परिवारलाई ऋण तिर्न र जीवनलाई सुन्दर बनाउन यो सुनौलो अवसर हो। अर्को मनले भन्यो — गाउँको चौतारो, आफन्तको माया, साथीहरूको साथ र थुप्रै यादहरूलाई यतै छोडेर कसरी त्यो पराई भूमिमा जाऊँ? म बाध्यता र चाहनाको बीचमा अल्झिएकी थिएँ। यही बाध्यताले नै मलाई विदेशको यात्रामा धकेल्यो। विदेश आएपछि थाहा भयो, टाढा भएपछि मात्र आफ्नो देश र परिवारको माया धेरै लाग्दोरहेछ। अपरिचित सडकमा हिँड्दा गाउँका कान्ला र बारीका बाटोहरूको सम्झना आउछ्न अचेल । क्यान्टिनमा खाना खाँदा पनि आमाको हातले पकाएको आलु, तामा र बोडीको तरकारीको याद आउछ । टाढा रहे पनि मन सधैं आफ्नै माटो र संस्कृतिसँग जोडिएको हुँदोरहेछ। यही सम्झनाले मलाई अझ धेरै मेहनत गर्ने प्रेरणा दियो।

​जीवनमा जस्तोसुकै चुनौती आए पनि आफ्नो लक्ष्य छाड्नु हुँदैन। संघर्षले मानिसलाई बलियो बनाउँछ र धैर्यले सफलताको ढोका खोलिदिन्छ भन्ने सोचाइहरू मनमा खेलिरहे। कठिन समय सधैं रहँदैन, मानिसमा संघर्षरत हुने हिम्मत चाहिँ हुनुपर्छ। विदेशमा काम गर्दा कति रात थकित भएर निदाएँ, कति पटक सपनामा गाउँको आँगन देखें। भविष्य सुन्दर भएको सपनाहरू पनि देखिरहे।
मलाई थाहा थियो — आजको संघर्ष नै भोलिको उपलब्धि बन्नेछ। निरन्तर मेहनत, इमानदारी र सकारात्मक सोचले एक दिन सफलता अवश्य मिल्छ। दुःख र संघर्षको अनुभव गरेको मानिसले मात्र सफलताको सही अर्थ बुझ्न सक्छ।

​अन्ततः जीवनमा धैर्य, संघर्ष र आशा कहिल्यै छोड्नु हुँदैन। म त भन्छु, चुनौतीलाई अवसरमा बदलेर आफ्ना सपना साकार पार्ने हिम्मत राखौँ साथी ।
म गाउँको माटोमा जन्मिएकी, सहरको अनुभव पनि गरेकी र विदेशमा खारिएकी एक सामान्य नेपाली युवती हूँ। मसँग ठूलो पद वा सम्पत्ति छैन, तर माटोको माया र संघर्षको अनुभव छ। जब म सफलताको शिखरमा पुग्नेछु, त्यो शिखरमा म मात्र एक्लो हुनेछैन। त्यसमा मेरो गाउँको आशीर्वाद, सहरका सपना र विदेशमा बगाएको पसिनाको प्रतिफल पनि जोडिएको हुनेछ। हिम्मत नहार, यात्री! यस्तै भन्छु अचेल ।
म शिखरमा पुग्दा मेरा सबै शुभचिन्तकहरूलाई सम्झिनेछु।

हाल दूर देश ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK