काठमाडौँ । नागरिकको विश्वास र सेवाको गुणस्तरमा इसेवा कसरी हिरोबाट जिरोमा पुग्यो भन्ने बुझ्न धेरै खोजी गर्नुपर्दैन । इसेवाको फेसबुकमा राखिएको सामान्य स्टाटसका कमेन्ट सेक्सन हेरे पुग्छ । अधिकांश कमेन्टहरुमा भनिएको छ- ‘इसेवा, जहाँ इ चल्छ, सेवा चल्दैन ।’
इसेवाले मेरो पैसा खायो, कहिले फिर्ता हुन्छ ? इसेवाले त मेरो मात्र होइन सांसदकै पैसा खाएछ कुरा के हो ? अरे यार इसेवा, स्ट्याटस लेख्न छोडेर तिम्रो गुणस्तर बढाउ पहिला, केवाईसी भेरिफिकेसन हुँदैन भएन, अस्ति झन्डै इसेवा नचलेर रेष्टुरेन्टमा भाँडा माझ्नु परेको, मैले त इसेवा छाडिसकेँ, अहिले ढुक्क छ । इसेवामा मेरो पैसा अड्कियो, इसेवामा मेरो पैसा फसेको धेरै भयो, इसेवामा मेरो पैसा हरायो, म ठगीमा परें, इसेवा होइन, झुर सेवा भयो, यस्तै यस्तै कमेन्ट बाहेक इसेवाका ग्राहकहरुको प्रतिक्रिया निकै कम छ । अनि, इसेवा यी प्रश्नको जवाफ दिन नसकेर एउटा रेडिमेट कमेन्ट गरेर भनिरहेको छ, इन्बक्स गर्नुहोस्, समस्याबारे हेरौँला ।
कुनै बेला जनताले आहा भनेको इसेवा आखिर किन अहिले छ्या इसेवा भयो त । कुनै बेला पेमेन्टको सारथी भएको इसेवा अहिले कसरी जनताको दुश्मनजस्तो बन्यो त ? कुनै बेला हामीकहाँ इसेवा पनि चल्छ है भन्ने कुरा शानसँग भन्ने रेष्टुरेन्टहरुमा आजकल किन इसेवा त चल्दैन नि, सकेसम्म इसेवा नगरिदिनुस् है भन्ने स्थिति आयो । कुनै बेला पेट्रोल पम्पहरुले हामी इसेवा पनि एसेप्ट गर्छौं भनिरहँदा अहिले किन पेट्रोल पम्पहरुले ’नो इसेवा’ भनेर सूचना टाँस गरिरहेका छन् त ? हिजो कर्पोरेट विश्वासको उदाहरण बनेको इसेवा आज किन कर्पोरेट फेलरको बहस बनिरहेको छ । आज किन जनताको १० अर्ब बढी डिपोजिट भएको इसेवा जुनसुकै बेला ढल्न सक्छ, सिष्टम ह्याक हुन सक्छ, र जुन सुकै बेला नागरिकको पैसा स्वाहा हुन सक्छ भन्ने बहस चलिरहेको छ । आज किन हप्तामा दुई दिन बिग्रिने इसेवालाई अव राष्ट्र बैंकले अनुमति नवीकरण गर्नु हुँदैन भन्ने बहस चलिरहेको छ त ?
कुरा प्रष्ट छ, यो सब हुनुको पछाडी नन् टेक्निकल नेतृत्व, इसेवा भित्र आएको कर्मचारीहरुको बीचको टकराव, त्यसलाई समाधान गर्न नसकेको व्यवस्थापन, अनि लिडर भन्ने घमण्ड बोकेर प्रयोगकर्ताहरुले जे भने पनि पत्याउँछन् भन्ने भ्रम र वेवकुफी । कुनै बेला इसेवा एक्लो थियो, त्यो बेला खासै समस्या आउँदैन थियो अनि अहिले थुप्रै प्रतिष्पर्धीहरुबीच प्रयोगकर्ता छरिदा पनि किन इसेवामा किन समस्या आईरहेको छ ? यसको एक मात्र कारण नेतृत्व हो । कम्पनीका सीइओसँग हाम्रो कुनै लेनादेना छैन, आग्रह पूर्वाग्रह छैन, हुनुपर्ने कारण पनि छैन । तर ब्यालेन्स सिट बाहेक केहि नबुझ्नेलाई टेक्निकल टिमको नेतृत्व दिदा कसरी एउटा सफल प्रोजेक्ट फेलर भईरहेको छ, टेक्निकल टिमले सकेसम्म जगदीश खड्कालाई फेलर बनाउने नाममा जनताको डिपोजिटमाथि कुन हदसम्मको घात भईरहेको छ, अनि एउटा व्यक्तिका कारण जनताको ठुलो रकम होल्ड गरेको इसेवा कसरी पतनको बाटोमा जाँदैछ भन्ने हाम्रो चिन्ता हो ।
इसेवा र अन्य केहि यस्तै सेवा प्रदायकहरुबारे गुनासो अत्याधिक बढेपछि नियामक नेपाल राष्ट्र बैंकले इसेवा लगायतमा इन्सपेक्सन गरेको छ । र, राष्ट्र बैंकले जे तथ्य भेटाएको छ, त्यो झन् गम्भीर छ । लिडर हुनाका नाताले इसेवामा बढी समस्या त देखिएको छ नै, ट्रेण्ड सेटरका नाममा सबैभन्दा बढी बदमासी पनि इसेवाले नै गरेको छ ।
राष्ट्र बैंकको इन्सपेक्सन अनुसार इसेवामा आन्तरिक सुशासन सबैभन्दा कमजोर देखिएको छ । इसेवाले जोखिम व्यवस्थापन नीति पालना नगरेको पाइएको छ । इसेवाको कमजोर आन्तरिक र प्राविधिक व्यवस्थापनका कारण साइबर सुरक्षा चुनौती बढाएको र फस्र्योट खाताको दुरुपयोग भएकोसमेत राष्ट्र बैंकको निष्कर्ष छ । राष्ट्र बैंकले वित्तीय स्थायित्व र उपभोक्ता सुरक्षाका लागि ती संस्थाहरुलाई आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्न तथा तोकिएको नियामक मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ । यसो त इसेवासँगै अन्य केहि सेवा प्रदायकमा पनि यस्तो समस्या देखिएको छ । तर सबैभन्दा समस्या इसेवामै देखिएको छ । तर पर्यो इसेवा, कमाइ गरेर दिने प्रयोगकर्तालाई त टेर्दैन भने नियामकलाई के टेथ्र्यो होला र ?
राष्ट्र बैंकले इसेवाभित्र देखेका समस्या र चुनौतीका फेहरिस्त लामै छन् । ग्राहकको सन्तुष्टीको लेभल डाउन भएको तथ्य घाम जतिकै छर्लंग छ । कुन दिन इसेवा पूरै ह्याक भएर जनताको १० अर्व बढी रकम विदेश पुग्ने हो भन्ने चिन्ता बढेको छ जनतामा । इसेवाले होल्ड गरेका, नफर्काएका, अड्काएका पैसा नै लाख होइन, करोड, करोड होइन करोडौँ पुगिसकेको छ । ग्राहकहरु इसेवाका स्ट्याण्ड नै फुटाएर डस्टबिनमा फाल्न थालिसकेका छन् । इसेवाका प्रयोगकर्ताको संख्या यसरी घटेको छ कि, अव इसेवा डाउनलोड गर्ने तर प्रयोग अरु नै गर्नेहरुको संख्या पनि दिनानुदिन बढिरहेको छ । इसेवाको प्राविधिक टिमका अधिकारीले दिएको जानकारी अनुसार डाउनलोड भएकामध्ये ३५ प्रतिशतले मात्र इसेवामा नियमित कारोबार गर्छन्, कारोबार गर्नेहरुमध्ये ९७ प्रतिशत असन्तुष्ट छन् । अनि यो आंकडाले कुनै पनि बेला इसेवा गम्भीर दुर्घटनामा जाने संकेत गरेको छ ।
हाम्रो इसेवालाई अनुरोध छ, ग्राहक भगवान हुन्, भगवान रिसाए भने कसैको भलो हुँदैन । यो कुरामा ख्याल गर । जनताको आक्रोसको अगाडी कस्ता कस्ता शासक त ढले भने तिनले नै पोसेर बिग्रिएको इसेवा ढल्न कुनै पनि समय लाग्दैन । जनताको समस्या समाधान गर्न भनेर राखिएको फोन उठ्दैन, इसेवाका अधिकारीहरु इसेवाको समस्याबारे बोल्नै चाहान्नन्, हुन त बोल्न पनि कुन मुखले बोल्नु भनेर होला तर पनि यो समाधान होइन ।
इसेवा गतिलो चल्दैन यो सत्य हो । निर्मम सत्य । इसेवाप्रति ९० प्रतिशत भन्दा बढी ग्राहक असन्तुष्ट छन्, यो अर्को निर्मम सत्य हो । इसेवाबाट हजारौं युवा ठगिएका छन्, तिनका पैसा हराएको छ, यो अर्को निर्मम सत्य हो । बेटिङ्ग साइटहरु बन्द भएपछि इसेवाले गरिरहेको गैरकानुनी भुक्तानीको धन्दा पनि बन्द भएको छ र यस कारण इसेवाको नाफा घटेर इसेवा रन्थनिएको छ, यो अर्को कठोर सत्य हो । तर यी तमाम समस्याका बीच इसेवा बन्द हुनु हुँदैन, यो हाम्रो प्रार्थना हो ।
इसेवालाई अव मात्र दुई विकल्प छ । कि सच्चिने, कि सक्किने । सच्चिने हो भने प्रयोगकर्ताको गुनासो सम्बोधन गर । सक्किने नै मन हो भने राम राम, भरोसा बाबा जगदीश कि बाहेक केहि भन्न सकिएन । आगे इसेवाकै मर्जी । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper











प्रतिक्रिया दिनुहोस्