महेन्द्रनगर । आठ वर्ष अघिसम्म कञ्चनपुरको बेलौरी नगरपालिका-३ पणावका ३८ वर्षीय धमलराज चौधरी गाउँघरमा ज्यालादारीमा काम गर्न भौतारिँदै हिँड्नुहुन्थ्यो ।परिवारको आर्थिक अवस्था नाजुक थियो नै आफूसित भएको थोरै जमिनमा अन्नबाली लगाएर जेनतेन गुजारा गरिरहनुभएका उहाँले गाउँमा तरकारी खेती गर्न थालेपछि चौधरीको आर्थिक अवस्थामा सुधार हुँदै आएको छ । स्थानीय तह र दातृ निकायले बीउबिजनका साथै गाउँमै पुगेर प्राविधिक सहयोगसमेत दिन थालेपछि चौधरीजस्तै थारु समुदायकै दुई दर्जन स्थानीयवासी अहिले व्यावसायिक तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।
“तरकारी खेती गर्न थालेको सात वर्ष जति भयो ।” चौधरीले रासससित भन्नुभयो, “मौसमअनुसारको तरकारी फलाएर धनगढी र महेन्द्रनगरसम्म खपत गर्छु ।”उहाँले गाउँबाट सवारीसाधन भाडामा लिएर तरकारी बजारसम्म पु¥याउन जाने गरेको बताउनुभयो । “अहिले काउली, धनिया, मुला, रायोलगायत तरकारी गाउँभरि प्रशस्तै छ ।” चौधरीले भन्नुभयो, “बजार पुर्याउन अलिकति असहज हुन्छ ।” दुई बिघा खेतमा तरकारी खेती गरेर दुई÷तीन युवालाई ज्यालादारीमा काम पनि लगाउनुभएका उहाँले कृषि सहकारीबाट मल नपाउँदा भने समस्या हुने गरेको बताउनुभयो । “यहाँ नपाए भारतबाट अवैधरूपमा ल्याइएको मल महँगोमा किन्नुपर्ने अवस्था आउँछ ।” चौधरीले भन्नुभयो, “धान, गहुँ खानलाई लगाइए पनि बढीजसो तरकारी खेतीमै ध्यान दिएको छु ।”
त्यसैगरी स्थानीय रामबहादुर चौधरीले पनि एक दशकयता तरकारी खेतीलाई निरन्तरता दिँदै आउनुभएको छ । “अहिले १५ कट्ठा जमिनमा तरकारी खेती गरेको छु ।” उहाँले भन्नुभयो, “विदेशको चर्को गर्मीमा साहुको हप्की खाएर मजदुरी गर्नुभन्दा आफ्नै खेतबारीमा काम गर्नुको मज्जा छुट्टै छ ।” चौधरीले बढ्दो बेरोजगारीलाई न्यूनीकरण गर्न युवा पिँढीलाई गाउँमै तरकारी खेती, पशुपालनलगायतका आयमूलक काममा लगाउने खालका कार्यक्रम सरकारले ल्याउनुपर्ने बताउनुभयो । “युवाशक्ति दिनहुँसजो मजदुरीका लागि विदेश पलायन हुँदैछन् ।” उहाँले भन्नुभयो, “कोरोनाको सङ्क्रमण हुँदा पनि बेरोजगार युवालाई राज्यले सम्बोधन गर्न सकेन ।”
तरकारी खपतका लागि स्थानीय बजार पनि धाउने गर्नुभएका चौधरीले यही व्यवसायले परिवारको खर्च चलेको बताउनुभयो । “तरकारीबाटै कमाएर १३ कठ्ठा जमिन पनि गाउँमा किनेको छु ।” उहाँले भन्नुभयो, “यहाँ आयमूलक काम गरेर समूहमा बचत गर्नेदेखि आत्मनिर्भर हुनेको सङ्ख्या बढिरहेको छ ।” चौधरीले बेलौरी नगरपालिकाबाट बोरिङ, पानी तान्ने मोटर, पावर टेलरलगायत कृषि औजार अनुदानमा पाउनुभएको छ ।
त्यसैगरी अर्का स्थानीय जग्गुलाल चौधरीले पनि तरकारी खेतीबाटै परिवारको जिविका रामैसँग चलेको छ भन्नुभयो ।“पन्ध्र कट्ठा जमिनमा तरकारी खेती गर्न थालेको आठ वर्ष भयो ।” उहाँले भन्नुभयो, “गाउँमा विभिन्न आयमूलक काममा लाग्नेको सङ्ख्या बढिरहेको छ ।” गाउँमै रहेको आरक्ष पीडित निवारण कृषि समितिका अध्यक्षसमेत रहनुभएका चौधरीले सोही समितिमा किसान मासिक बचत गर्ने गरेको बताउनुभयो । “समितिबाट बीउबिजन, मल खरिदमा ऋण लगानी गछौंँ ।” उहाँले भन्नुभयो, “समितिमा आबद्ध प्रायः स्थानीय कृषि पेसामै छन् ।”
सोही वडाका वडाध्यक्ष नेत्र गिरीले दातृ निकाय र स्थानीय तहको सहयोगले समुदायका विपन्न परिवार स्वरोजगार बनेको बताउनुभयो । “नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ र नगरपालिकाको सहयोगले यहाँका धेरै विपन्न समुदायका नागरिक अहिले आत्मनिर्भर बनेका छन् ।” उहाँले भन्नुभयो, “व्यवसाय, स्वास्थ्य, शिक्षा र सचेतनाका क्षेत्रमा उहाँहरुको ठूलो लगानी छ ।” कञ्चनपुरमा पछिल्लो समय थारु समुदायका नागरिक व्यावसायिक तरकारी खेतीमा आबद्ध हुने क्रम बढिरहेको वढाध्यक्ष गिरीको भनाइ थियो ।
उहाँले आफ्नो वडामा आरक्ष विस्थापित, विपन्न, दलित समुदायका नागरिकको जीवनस्तर माथि उकास्न विभिन्न निकायबाट सहयोग भइरहेको बताउनुभयो । नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लु ) कृषि एवं वातावरण संयोजक राजकुमार सुनारले लालझाँडी र बेलौरी नगरपालिकामा तरकारी खेतीमा स्थानीयवासीलाई आबद्ध गराउन यो संस्था सक्रिय रहेको बताउनुभयो ।“हामीले किसानलाई बीउबिजन र प्राविधिक सहयोग दिँदै आएका छौँ ।” उहाँले भन्नुभयो, “विपन्न र निम्न आयस्रोत भएका परिवारलाई लक्षित आयूमलक काममा लाग्न प्रेरित गर्नु हाम्रो दायित्व पनि हो ।”-रासस