काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गर्नु भएको छ । मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउनका लागि आफूले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने लक्ष्य लिएको पनि स्पष्ट पार्नु भयो । गत मंसीर १ गतेबाट सिंचाईमा खपत हुने विद्युतको शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै उहाँले अव त्यसलाई निःशुल्क बनाएर मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउन आफूलागि परेको बताउनु भयो । शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल हस्तकला महासंघको ४१ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री भुसालले नेपालमा उत्पादित हुने बस्तुहरु आयात नगर्न पनि व्यवसायीहरुलाई पटकपटक आग्रह गर्नु भयो । उहाँले नाफा हुन्छ भन्दैमा प्लाष्टिकका फूलहरु आयात गर्ने काम व्यवसायीहरुले गर्न नहुने धारणा राख्नु भयो । उद्योगीहरुले मुलुकको मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउने खालको बस्तुहरुको उत्पादन र विक्रीवितरणमा ध्यान दिनुपर्ने उहाँको भनाई थियो । मन्त्री भुसालले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन नेपाली हस्तकलाका बस्तुहरुको निर्यातमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । उहाँले भन्नुभयो, ‘नाफा हुन्छ भनेर जे पनि व्यवसाय नगरौं भनेर म विशेष ढंगले आग्रह गर्न चाहन्छु । हामी धेरै कुरा गर्छौ । धेरै कुरा माग्छौं । तर कमसेकम व्यवसाय पनि त्यस्तो गरौं, जसले राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्याउँछ । हाम्रो देश भित्र हुने कुरा चाँही आयात नगरौं । अहिले साँढे २ खर्वको वार्षिक रुपमा खाद्यन्न, तरकारी र फलफूल आयात हुन्छ । त्यसलाई रोक्नका लागि कृषिमा आत्मनिर्भर बनौं । त्यसैका लागि आफूले मंसीर १ गतेबाट सिँचाईमा खपतमा हुने विद्युतको मूल्य ५० प्रतिशत घटाएको छु । मेरो उद्देश्य त्यसलाई निःशुल्क बनाउनेछ ।’
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बजारको माग अनुसार हस्तकला सामग्रीहरुको विक्रीवितरण गर्न उद्योगीहरुलाई आग्रह गर्नु भयो । उहाँले हस्तकलाका सामग्रीको प्रवद्र्धनका लागि औद्योगिक ग्राम बनाउनुपर्ने र त्यसका लागि आवश्यक पूर्वाधार विकासका लागि काठमाडौं महानगरपालिकाकाले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हस्तकलाका सामग्रीहरुको उत्पादन र विश्व बजारमा निर्यातका लागि सहयोग गर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन सम्बन्धित क्षेत्रका उद्योगीहरुलाई आग्रह गर्नु भयो । उहाँले कोभिडका लागि हस्तकला क्षेत्रका व्यवसायीहरु पलायन हुने अवस्था आएको उल्लेख गर्दै उनीहरुलाई पलायन हुन नदिन आफूले सक्दो पहल गर्ने पनि बताउनु भयो । मेयर महर्जनले भूकम्पले ध्वस्त बनाएका सम्पदाहरुको पुनर्निर्माणको कामलाई आफूहरुले स्थानीयबासीकै सहकार्यमा अघि बढाएको पनि स्मरण गराउनु भयो । हेर्नुहोस् भिडियोः