काठमाडौँ । सुनसरी सदरमुकाम इनरुवा-२ बिहीबारे हाटमा रहेका राजा शर्माको दिनचर्या फलामका विभिन्न सामग्री बनाउनेमै बित्ने गरेको छ । उनले बिहानैदेखि फलामको सामग्री बनाउन तल्लीन देखिन्छन् । वैदेशिक रोजगारी र अन्यको मजदुरी गर्नुभन्दा उनले फलामकै विभिन्न सामग्री निर्माण गरेर बेच्दा मनग्य आम्दानी हुने गरेको बताउँछन् ।
उनले दुहबीमा रहेको फलाम उद्योगबाट फलाम ल्याएर आफ्नो हस्तकलाको प्रयोग गर्दै विभिन्न सामग्री निर्माण गरेर बिक्री गर्दै आएका छन् । उनले चुलेसी, कचिया, खुर्पी, दबिया, सुपारी काट्ने मेसिनलगायत विभिन्न सामग्री बनाउँछन् ।
‘फलामको सामग्री निर्माण गरेर मासिक रु ४० देखि ५० हजारसम्म आम्दनी हुन्छ ।’, उनले भने, ‘रोजगारीका लागि विदेश जानुभन्दा आफ्नै गाउँठाउँमा मेहनत र सीपको प्रयोग गर्यो भने राम्रै आम्दानी गर्न सकिन्छ ।’
उनीजस्तै बिहीबारे हाटमा रहेका ४० भन्दा बढी शर्मा (लोहार) समुदायका मानिसले फलामको सामग्री बनाउनेमै बित्ने गरेको छ । त्यस ठाउँमा रहेका शर्मा (लोहार) समुदायका मानिसले फलामको सामग्री निर्माण गरेर त्यसबाट आएको आम्दनीले घरपरिवार चलाउनुका साथै बालबालिकालाई राम्रो शिक्षादीक्षा दिँदै आएको स्थानीय सन्तोष शर्माको भनाइ छ ।
लोहारसमुदायका मानिसले फलामबाट निर्माण गरेको सामग्री स्थानीय हाटबजारमा बिक्री गर्नुका साथै पूर्वी नेपालको विभिन्न जिल्लामा बिक्री गर्दै आएको स्थानीय राजा शर्माको भनाइ छ ।
पुख्र्यौली पेशालाई संरक्षण गर्दै सोचे जतिको आम्दानी गर्दै आएको उनले बताएका छन् । आधुनिकताको विकास भए पनि सो समुदायका अधिकांश मानिसले पुरानै शैली र उपकरणको प्रयोग गरेर फलामको सामग्री बनाउँदै आएका छन् ।