काठमाडौँ । एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बीमा’ नामक एक नवीन योजना सुरु भएको छ । यो सेवा लिने ग्राहकहरुले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकैसाथ पाउने छन् ।
नेपालमै पहिलोपटक सुरु भएको यो सेवा अन्तर्गत एनसेलका ग्राहकहरूले दुई विशेष प्याकेजहरूमध्ये कुनै एक रोजेर बीमाको फाइदा लिन सक्नेछन्, जसमा डेटा प्रयोगसँगै बीमा सुविधा पनि प्राप्त हुनेछ ।
दुई प्याकेजहरूमा पहिलोमा कर सहित रु. ९९ को प्याक रहेको छ । ३ दिन समयसीमा रहेको यो प्याकमा १०० एमबी डेटा, रु. २,००,००० बराबरको म्यादी जीवन बीमा र रु. २,००,००० बराबरको घातक रोग बीमा पाइन्छ । यो बीमा सुविधा प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म मान्य रहने छ ।
दोस्रोमा रु ३९ को प्याक रहेको छ । यो प्याकमा ग्राहकले ३ दिनका लागि १०० एमबी डेटा, रु. ५०,००० बराबरको म्यादी जीवन बीमा र रु. ५०,००० बराबरको घातक रोग बीमा पाउने छन् । यो बीमा सुविधा प्याक खरिद गरिएको मितिबाट ३० दिनसम्म मान्य रहन्छ ।
ग्राहकहरूले एनसेल एपमार्फत आफूलाई मनपर्ने प्याक छानी बीमाका लागि एउटा फाराम भरेर सजिलै यी दुई मध्ये एक प्याक लिन सक्नेछन् । यी प्याकहरु ८१२३८४८६३ डायल गरेर पनि लिन सकिन्छ । प्याक लिएका ग्राहकहरुको टर्म लाइफ इन्स्योरेन्स फारम बुझाउने बितिकै तुरुन्तै सुरु हुन्छ भने क्रिटिकल इलनेस (गम्भीर रोग) कभरेज ३० दिनको प्रतिक्षा अवधिपछि सक्रिय हुन्छ ।
यो साझेदारीले एनसेल प्रयोगकर्ताहरूका लागि बीमा पहुँच सहज बनाउने लक्ष्य राखेको छ । विशेषतः लामो समयदेखि यस्तो सेवाबाट बन्चित विकट दुरदराजका समुदायहरुलाई यसले ठूलो महत्व राख्दछ । सुलभ शुल्क, पूर्ण डिजिटल प्रक्रिया, र प्रभावकारी बीमा सुविधासहितको “डाटासँगै जीवन बीमा” योजनाले नेपालको वित्तीय समावेशिता र सामाजिक सुरक्षातर्फको यात्रामा महत्वपूर्ण यात्रा सुरु गरेको छ ।













