काठमाडौँ । नेपाल बैंकको खुद नाफा घटेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २.३१ प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले कुल ५८ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ६० करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.३८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १८.२३ प्रतिशत घटेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १२.७५ प्रतिशत र सञ्चालन मुनाफा ३२.८१ प्रतिशत बढेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ५७ करोड १ लाख रुपैयाँ ऋणात्मक छ ।
यस अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । समीक्षा अवधिमा बैंकको ईपीएस ३८ पैसा घटेर १६ रुपैयाँ १ पैसामा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ यस अवधिमा २६० रुपैयाँ ३२ पैसा छ भने मूल्य आम्दानी अनुपात १५.०५ गुणा छ । १४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २३ अर्ब ५५ करोड रुपैयाँ सञ्चित छ ।













