काठमाडौँ । नेपाल, प्राकृतिक स्रोत र सौन्दर्यले भरिपूर्ण देश । यहाँको करिब ४५ प्रतिशत भूभाग वनले ढाकेको छ । यो हरियो सम्पदा हाम्रो पहिचान मात्र होइन, राष्ट्रिय समृद्धिको एउटा प्रमुख आधार पनि हो । झण्डै तीन दशकदेखि सामुदायिक वनको सफल अभ्यासले विश्वमाझ नेपाललाई चिनाएको छ ।
२२ हजारभन्दा बढी सामुदायिक वन उपभोक्ता समूहले लाखौँ हेक्टर वनको संरक्षण र व्यवस्थापन गरिरहेका छन्, जसले स्थानीयस्तरमा जीविकोपार्जनदेखि जैविक विविधता संरक्षणसम्म अतुलनीय योगदान पु¥याएको छ । तर, यति ठूलो सम्भावना बोकेको हाम्रो वन क्षेत्र आज किन समृद्धिको संवाहक बन्न सकेको छैन, किन हामी अर्बौँको काठ र काठजन्य सामग्री विदेशबाट आयात गर्न बाध्य छौँ र हाम्रै जंगलमा काठ कुहिएर किन खेर गइरहेको छ भन्ने तमाम प्रश्नहरू केन्द्रमा छन् । अव्यावहारिक वन नीति, केन्द्रीकृत मानसिकता र व्यवस्थापनमाथिको अनावश्यक नियन्त्रणले विकास चरणमा वनप्र्रति गलत भाष्य देखाइएको छ ।
विकासको बाधक बन्दै वन नीतिः समृद्धिको सपनामाथि कानुनी अंकुश
कानुनहरू बनाउँदाको उद्देश्य जतिसुकै राम्रो देखिए पनि कार्यान्वयन तहमा आइपुग्दा ती विकास र समृद्धिका लागि बाधक बन्ने गरेका छन् । वन क्षेत्र यसको सबैभन्दा ज्वलन्त उदाहरण हो । वन ऐन, २०७६ ले पर्या–पर्यटन, उद्यमशीलता र वन पैदावारको उपयोगमार्फत सामुदायिक वनलाई समृद्धिसँग जोड्ने विश्वास गरिएको थियो । तर ऐनको भावनालाई नियमावली र निर्देशिकाहरूले पूर्णतः निस्तेज पारिदिए । कानुनमा एउटा कुरा लेखिएको त हुन्छ तर त्यसलाई कार्यान्वयन गर्न बन्ने निर्देशिकाहरूले अर्कै रूप लिन्छन् भन्ने प्रमाण पनि बन ऐन बनेको छ । नियमावली वा निर्देशिकाहरू यति कसिलो र अव्यावहारिक हुन्छन् कि तिनीहरूले समृद्धिको ढोका खोल्नुको सट्टा झन् बलियो ताल्चा लगाउने काम गर्छन् ।
उदाहरणका लागि, वन पैदावारमा आधारित साना तथा मझौला उद्यम खोल्ने विषय नै हेरौँ न ! सामुदायिक वननजिकै खाली र उपयोगविहीन जमिन हुँदाहुँदै पनि ‘वन क्षेत्रको निश्चित किलोमिटरभित्र उद्योग खोल्न नपाइने’जस्ता प्रावधानले उद्यमशीलतालाई सुरुमै तुहाइदिएको छ । उद्यमीले निजी जग्गा किन्नुपर्ने वा महँगो भाडा तिर्नुपर्ने बाध्यताले वनमा आधारित उद्योग फस्टाउन सकेको छैन । यसले स्थानीयस्तरमा रोजगारी सिर्जना हुने र कच्चापदार्थको मूल्यअभिवृद्धि हुने सम्भावना समाप्त भएको छ ।
विकासको अर्को पूर्वाधार हो- सडक । तर, वन क्षेत्रमा सडक निर्माण गर्नुपर्दा प्रक्रिया यति झन्झटिलो र लामो छ कि विकास आयोजनाहरू वर्षौँसम्म अलपत्र पर्छन् । एउटा रुख काट्नुपर्दा ‘मान्छे मारेभन्दा चर्को कानुन लाग्छ’ भन्ने आमबुझाइ छ । निश्चय पनि, अन्धाधुन्ध वन फँडानी रोक्नुपर्छ तर विकास र संरक्षणबीच सन्तुलन भने आवश्यक छ । वनको ‘फायर लाइन’ (डढेलो नियन्त्रण रेखा) जस्ता व्यवस्थापनका कार्यसँग जोडेर सडक सञ्जाल विस्तार गर्नेजस्ता रचनात्मक उपायहरू सोच्न सकिन्थ्यो होला । तर हाम्रा नीतिहरू यसतर्फ मौन छन् ।
त्यसमाथि वातावरण संरक्षण ऐन, २०५३ (संशोधित) र त्यसअन्तर्गत बनेको राष्ट्रपति चुरे–तराई मधेश विकास संरक्षण समितिले चुरे क्षेत्रलाई ‘अति संवेदनशील’ भन्दै त्यहाँका समुदायलाई आफ्नो छेउको जंगलमा प्रवेश गर्नसमेत लगभग बन्देज लगाएको छ । उदयपुरको कटारीमा स्थानीयले ‘हामीले १० वर्ष भयो यो जंगलमा खुट्टा टेक्न नपाएको’ भनेर सुनाउँदा हाम्रो नीतिले कसरी स्थानीयलाई आफ्नै स्रोतबाट विमुख गरिरहेको छ भन्ने प्रस्ट हुन्छ । संरक्षणको नाममा जनतालाई स्रोतबाट अलग्याउने नीतिले न यसको दिगो संरक्षण हुन्छ, न त विकास नै । यसले केवल जनता र राज्यबीच अविश्वासको खाडल फराकिलो बनाउँछ ।
संघीयतामा वनको केन्द्रीकृत अभ्यासः अधिकारविहीन स्थानीय तह
नेपालमा संघीयता कार्यान्वयनमा आएसँगै स्वास्थ्य, शिक्षा, कृषिजस्ता क्षेत्रहरूको अधिकार र संरचना स्थानीय तहसम्म पुग्यो । तर, वन क्षेत्रको पुनर्संरचना भएन । यो आजको सबैभन्दा ठूलो विडम्बना हो । संविधानले वनलाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा राखेको छ । तर, व्यवहारमा वन प्रशासनको मानसिकता अझै पनि केन्द्रीकृत र एकात्मक छ ।
संविधानले ‘वन्यजन्तु’को अधिकार स्थानीय तहलाई दियो तर ‘वन’को दिएन । यो कस्तो व्यवस्था हो ? के वन्यजन्तु जंगलबाहेक अन्यत्र बस्छ र ? वनको अधिकार नदिई वन्यजन्तुको अधिकार दिनु भनेको स्थानीय सरकारलाई जिम्मेवारी मात्रै दिने तर स्रोत र अधिकार नदिने पुरानै केन्द्रीकृत सोचको निरन्तरता हो । यसले संरक्षण र विकासलाई सँगसँगै लैजाने संघीयताको मर्ममाथि नै प्रहार गरेको छ ।
वन ऐन, २०७६ निर्माणका क्रममा हामीले सामुदायिक वनको कार्ययोजना स्वीकृत गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्छ भनेर लामो लबिङ गर्यौं । तर, ऐनमा ‘सिफारिस गर्ने’ भन्ने शब्द राखियो, जसले स्थानीय सरकारको भूमिकालाई कमजोर बनाइदियो । आज अवस्था कस्तो छ भने स्थानीय सरकार र डिभिजन वन कार्यालय एकअर्काका प्रतिस्पर्धी वा शत्रुजस्ता देखिन्छन् । स्थानीय सरकारले आफ्नो पालिकाभित्रको वनको सम्भावना पहिचानपूर्वक बजेट छुट्याएर उद्यमशीलतासँग जोड्ने कार्ययोजना बनाउन खोज्छ तर डिभिजन वन कार्यालयले त्यसलाई अनेक बहानामा अड्काइदिन्छ ।
प्रदेश सरकारको अवस्था पनि उस्तै छ । राष्ट्रिय वन व्यवस्थापनको जिम्मा प्रदेशलाई भनिएको छ । तर ‘संघीय कानुनसँग नबाझिने गरी’ कानुन बनाउनुपर्ने प्रावधानले प्रदेशलाई संघीय सरकारको ‘फोटोकपी’ मात्र बनाएको छ । जबसम्म वन क्षेत्रको साँचो अर्थमा पुनर्संरचना हुँदैन र स्थानीय समुदाय तथा स्थानीय सरकारलाई विश्वास गरेर अधिकार हस्तान्तरण गरिँदैन तबसम्म वन क्षेत्र सिंहदरबारको साँघुरो कोठाबाटै सञ्चालित भइरहन्छ र संघीयताको अनुभूति जनताले गर्न पाउँदैनन् ।
वनमा अन्तर्राष्ट्रिय प्रभाव: हस्तक्षेपभन्दा सहयोगको ‘सिफ्टिङ’
वन क्षेत्रमा प्रत्यक्ष अन्तर्राष्ट्रिय हस्तक्षेप छ भनेर किटान गर्न नसकिएला । तर अन्तर्राष्ट्रिय सहयोग र प्राथमिकताको क्षेत्र परिवर्तन (सिफ्टिङ) भएको छ, जसको असर नेपालले भोगिरहेको छ । कुनै बेला अस्ट्रेलियन वन विकास परियोजना, फोर्ड फाउन्डेसनजस्ता अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूले नेपालको सामुदायिक वनको अवधारणालाई स्थापित गर्न, क्षमता विकास गर्न र विकेन्द्रीकरणलाई बल पु¥याउन ठूलो लगानी गरेका थिए । त्यसैको जगमा आज नेपालको सामुदायिक वन यहाँसम्म आइपुगेको हो ।
तर, आज त्यो लगानी र प्राथमिकता अन्यत्र मोडिएको छ । वन क्षेत्रमा आउनुपर्ने अन्तर्राष्ट्रिय सहयोग कृषि वा अन्य क्षेत्रमा गएको छ । यसले सामुदायिक वनमा आएका नयाँ पुस्ताका अगुवाहरूको क्षमता विकास, संघीयताअनुकूल नीतिनिर्माणमा स्थानीय समुदायको सहभागिता र पैरवीजस्ता महत्वपूर्ण कामहरूका लागि स्रोतको अभाव खड्किएको छ ।
अर्कोतर्फ, जलवायु परिवर्तनको असर न्यूनीकरणमा नेपालको वन क्षेत्रले पु¥याएको योगदानको कदर विश्व समुदायले गर्न सकेको छैन । कार्बन सञ्चिति गरेर विश्वलाई बचाइरहेका समुदायले पाउनुपर्ने क्षतिपूर्ति (लस एन्ड ड्यामेज) र अनुदानका कार्यक्रमहरू प्रभावकारी रूपमा भित्रिनसकेका छैनन् । कहिलेकाहीँ अन्तर्राष्ट्रिय साझेदारको स्रोतमा बन्ने कानुनहरू उनीहरूकै स्वार्थअनुकूल पो बनेका छन् कि भन्ने आशंका गर्ने ठाउँसमेत रहन्छ । यद्यपि, यो सरकारले जवाफ दिनुपर्ने विषय हो । तर, सारमा भन्नुपर्दा आज वन क्षेत्रमा बाह्य हस्तक्षेपभन्दा पनि आवश्यक सहयोगको अभाव टड्कारो रूपमा देखिएको छ ।
अर्बौँको आयात तर आफ्नै जग्गाको रुख काट्न नपाइने
एउटा किसानले आफ्नो बारीमा मकै, कोदो, भटमास रोपेर निर्बाध रूपमा बेच्न पाउँछ । तर त्यही बारीको डिलमा हुर्काएको रुख बेचेर छोराछोरी पढाउँछु, घर बनाउँछु वा गर्जो टार्छु भन्दा उसले राज्यको सयवटा ढोका चहार्नुपर्छ । यो व्यक्तिको सम्पत्तिको अधिकारमाथिको ठाडो हस्तक्षेप हो ।
विशेषगरी सालजस्ता प्रजातिका रुख निजी जग्गामा भए पनि काट्न र बेच्न अत्यन्तै झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्छ । यसले दुईवटा नकारात्मक असर पारेको छ । पहिलो, मानिसहरूले आफ्नो खेतबारीमा रुख रोप्न निरुत्साहित भएका छन् । दोस्रो, भएका रुख पनि काट्न नपाउँदा गाउँघर जंगलजस्तै बन्न थालेका छन् र यसले मानव–वन्यजन्तु द्वन्द्वलाई भयावह रूपमा बढाएको छ । हामीले यो विषय सम्माननीय प्रधानमन्त्रीसमक्ष पनि राखेका छौँ र उहाँले यसलाई गम्भीरतापूर्वक लिनुभएको छ । यदि सरकारले निजी जग्गामा हुर्काएका रुखबिरुवालाई सहजै बिक्री–वितरण गर्न दिने हो भने मात्रै पनि हजारौँ परिवारको आयआर्जनमा सुधार आउनेछ र काठ आयात घटाउन मद्दत पुग्नेछ । आफ्नै नागरिकलाई विश्वास नगर्ने र उसको सम्पत्तिमाथि अनावश्यक नियन्त्रण गर्ने नीति तत्काल अन्त्य हुनुपर्छ ।
वनको सदुपयोग गर्ने विषयले समग्र देशलाई नै फाइदा हुन्छ किनभने विगत ५ वर्षको काठ आयातको तथ्यांकले मुलुकबाट कति पैसा बाहिर पठाइरहेका छौँ भन्ने देखिन्छ । गत आर्थिक वर्ष २०८१÷८२ को कुल तथ्यांक अझै आइसकेको छैन । तर त्यसअघि आव २०७६/७७ देखि २०८०/८१ सम्म काठजन्य सामग्री आयातमा कुल ३१ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ देशबाट बाहिरिएको छ ।

वन व्यवस्थापनको उत्तम उपायः समुदाय नै सर्वेसर्वा
वन व्यवस्थापन कसले, कसरी गर्ने भन्ने बहस नेपालमा लामो समयदेखि चलिरहेको छ । कहिले ‘वैज्ञानिक वन व्यवस्थापन’को नाममा सालका जंगलहरू सखाप पार्ने प्रयास भयो । यसलाई हामीले समुदायको बलमा रोक्यौँ । त्यो मोडलमा न सुशासन थियो, न समुदायको सहभागिता, न त महिलाको भूमिका नै । त्यसको एक मात्र उद्देश्य काठ काट्ने र बेच्ने थियो । वन व्यवस्थापनको सबैभन्दा उत्तम र दिगो उपाय भनेको समुदायमा आधारित व्यवस्थापन नै हो । जसले पुस्तौँदेखि वनको संरक्षण गर्यो, त्यसको व्यवस्थापन गर्ने क्षमता र ज्ञान पनि उसैसँग छ ।
अबको व्यवस्थापन कस्तो हुनुपर्छ ?
१. कसले गर्ने ?: वनको व्यवस्थापन उपभोक्ता समुदायले नै गर्ने हो । प्राविधिक ज्ञान र सहजीकरणमा सरकार र अन्य निकायले सहयोग गर्ने हो तर निर्णय प्रक्रियामा समुदाय नै सर्वेसर्वा हुनुपर्छ ।
२. कसरी गर्ने ?: ‘एकै साइजको जुत्ता सबैलाई लगाउने’ केन्द्रीकृत मोडल अब चल्दैन । हिमाल, पहाड र तराईको वनको चरित्र फरक छ, त्यसैले त्यहाँको व्यवस्थापन विधि पनि स्थानीय परिवेशअनुकूल हुनुपर्छ । हालै ल्याइएको ‘वनको दिगो व्यवस्थापनको राष्ट्रिय मापदण्ड’लाई पनि समुदायले बुझ्ने गरी सरलीकृत गरिनुपर्छ । वन व्यवस्थापन भनेको रुख काट्नु मात्र होइन; यो त वनभित्रको जडीबुटी, गैरकाष्ठ पैदावार, पानीको मुहान, माटो र जैविक विविधतासहित सम्पूर्ण इकोसिस्टमको समग्र व्यवस्थापन हो ।
३. व्यवस्थापनको उद्देश्य के ?: व्यवस्थापनको अन्तिम लक्ष्य वनको स्वास्थ्य राम्रो बनाउँदै त्यहाँबाट प्राप्त हुने लाभलाई स्थानीय समुदायको जीवनस्तर सुधार र राष्ट्रिय समृद्धिमा जोड्नु हो । यसका लागि निम्न कुरामा ध्यान दिनुपर्छ ः
– मूल्यअभिवृद्धिमा जोड: जडीबुटीजस्ता कच्चापदार्थ सस्तोमा बेच्ने होइन । स्थानीयस्तरमै प्रशोधन केन्द्र खोलेर औषधि, कस्मेटिकजस्ता तयारी वस्तु उत्पादन गर्नुपर्छ ।
– काठको मूल्य घटाउने: नेपालमा उत्पादित काठको मूल्य अचाक्ली महँगो छ । बाहिरबाट प्रतिक्युबिक फिट ३५०० मा काठ आउँदा हाम्रो काठको मूल्य ८००० रुपैयाँसम्म पर्छ । यसको कारण हो- लामो र झन्झटिलो प्रक्रिया, अनेक तहमा लाग्ने कर र बिचौलियाको बिगबिगी । यो चक्र तोडेर नेपाली काठलाई सस्तो र सुलभ बनाउन सके मात्रै आयात प्रतिस्थापन हुन्छ ।
– उद्योगसँग सहकार्य: कागज उद्योग, फर्निचर उद्योगजस्ता ठूला उद्योग स्थापनाका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सकिन्छ । समुदायले कच्चा पदार्थ उपलब्ध गराउने र निजी क्षेत्रले प्रविधि र बजार व्यवस्थापनमा सहयोग गर्ने मोडलले विकास र रोजगारी दुवै सिर्जना गर्छ ।
– पर्या–पर्यटनको प्रवद्र्धन: वनलाई पर्या–पर्यटनको आकर्षक गन्तव्य बनाउन स्थानीय सरकार र समुदाय मिलेर पूर्वाधार विकास र प्रवद्र्धनमा लाग्नुपर्छ ।
अन्त्यमा,
नेपालको वन समृद्धिको अपार खानी हो । तर हामीले यो खानीको ढोका खोल्ने सही साँचो भेट्टाउनसकेका छैनौँ । त्यो साँचो हो— समुदायमाथिको विश्वास र अधिकारको वास्तविक हस्तान्तरण । जबसम्म हामी हाम्रा नीतिहरूलाई सरल र व्यावहारिक बनाउँदैनौँ, जबसम्म संघीयताको मर्मअनुसार वन प्रशासनलाई विकेन्द्रीकृत गर्दैनौँ र जबसम्म निजी जग्गादेखि सामुदायिक वनसम्मका स्रोतहरूको दिगो उपयोग गर्ने बाटो खोल्दैनौँ तबसम्म ‘समृद्धिमा उपयोग हुन नसकेको वन’को बहस चलिरहनेछ । वनलाई बन्द कोठाभित्रको नीतिले होइन, जंगलसँगै बाँचेका समुदायको ज्ञान, सहभागिता र स्वामित्वले मात्र दिगो बनाउन सकिन्छ । अबको बाटो भनेको विवाद र नियन्त्रणको होइन, सहकार्य, विश्वास र समृद्धिको हुनुपर्छ ।
- भारती पाठक (निवर्तमा अध्यक्ष, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्