Skip to content
LAXMI SUNRISE BANK

‘पर्यटन अर्थतन्त्रको मेरुदण्डसँगै राष्ट्रको आत्मा, संस्कृति र पहिचानको मिश्रित अभिव्यक्ति हो’

अर्थ सरोकार

काठमाडौँ । विश्‍व मानचित्रमा सानो देखिने नेपाल अद्वितीय भौगोलिक बनोट, सुन्दर प्रकृति र समृद्ध संस्कृतिले भरिपूर्ण छ । संसारभरका पर्यटक, शोधकर्ता र साहसिक यात्रुहरूलाई आकर्षित गर्ने अनुपम धरोहरको रूपमा नेपाल स्थापित छ । समुद्री सतहबाट ६० मिटरको तराईदेखि ८८४८.८६ मिटरको सगरमाथासम्मको उचाइसहित जलवायु र जैविक विविधता भएको एक मात्र देश नेपाल हो । नेपालको जलवायु र जैविक विविधता अतुलनीय छ । जहाँ अनन्त प्रजातिका वनस्पति, दुर्लभ वन्यजन्तु र सांस्कृतिक विविधताले परस्पर जीवन र पर्यावरणको अद्भुत सहअस्तित्वको नमूना प्रस्तुत गरेका छन् । जसले प्राकृतिक र सांस्कृतिक सम्पत्तिको साक्ष्य दिँदै विश्वभरिका पर्यटकलाई स्वागत गर्छन् ।

नेपाल आर्य र तिब्बतो बर्मन सभ्यताको संगमस्थल मात्र नभई बहुआयामिक संस्कृति, अप्रतिम कला, विविध परम्परा र सौन्दर्यले भरिएका भौगोलिक दृश्यावलीका कारण विश्वभरका पर्यटकहरूको आकर्षण केन्द्र बनेको छ । जसका कारण पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड मात्र नभई राष्ट्रको आत्मा, संस्कृति र पहिचानको मिश्रित अभिव्यक्ति बनेको छ ।

सगरमाथासहित विश्वका १४ सर्वोच्च शिखरमध्ये ८ वटा शिखरको ताज बोकेको नेपालको हावामा पर्वतीय सुगन्ध, पानीमा इतिहासको धारा र माटोमा जनताको उष्मा मिसिएको छ । हरेक पहाड, नदी, वन र गाउँसँग जोडिएका कथाले नेपाललाई उत्कृष्ट गन्तव्य बनाउन बलियो सम्भाव्यता बोकेका छन् ।

वर्तमान अवस्था र सकारात्मक पहल
पर्यटन विकासको लक्ष्य हासिल गर्न दिशाबोध गर्ने मूल पथ–प्रदर्शकको रूपमा सरकारले नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना सन् २०१६–२०२५ कार्यान्वयनमा छ । जसमा नेपाललाई एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गरी देशको अर्थतन्त्रमा योगदान पु¥याउने महत्वपूर्ण माध्यमको रूपमा विकास गर्ने र अन्तर्राष्ट्रिय पर्यटकहरूलाई उनीहरूका चाहना र इच्छाअनुसार विविध अनुभवहरू प्रदान गर्न हालका केही पर्यटकीय केन्द्रहरूका अतिरिक्त अन्य पर्यटकीय गन्तव्य तथा अनुभवमा विविधीकरण ल्याउने लक्ष्य राखिएको थियो । त्यसैअनुरूप नेपाल पर्यटन बोर्डले आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवद्र्धन गर्दै नेपालको छविलाई पुनस्र्थापित गर्ने दिशामा सक्रिय रुपमा काम गरिरहेको छ ।

पर्यटन क्षेत्रले नेपालको कुल राष्ट्रिय आम्दानी (गार्हस्थ्य उत्पादन)मा करिब तीन प्रतिशत योगदान पुर्याइरहेको छ भने रोजगारी र स्थानीय विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । त्यसैले नेपालको दिगो पर्यटन विकास र प्रतिस्पर्धी बनाउन रणनीतिक दृष्टिकोण र प्रवद्र्धन कार्यहरू अझ प्रभावकारी बनाउन बोर्डले निरन्तर पहल गरिरहेको छ ।

पर्यटक आगमन, बसाइ, खर्च र आकर्षणहरू
सन् १९६४ मा ९ हजार ५२६ पर्यटकलाई स्वागत गरेको नेपालले पर्यटन बोर्डको स्थापना भएको वर्ष सन् १९९८ र १९९९ मा ४ लाख ९४ हजारलाई स्वागत ग¥यो । त्यसपछि निरन्तर पर्यटक आगमनको ग्राफ (केही विशेष परिस्थितिबाहेक) निरन्तर उकालो लागिरहेको छ ।

पछिल्लो समय सन् २०१९–२०२० मा कोरोना कहरले विश्‍वमा आवतजावत ठप्प भयो । जसको असर सन् २०२० देखि २०२२ सम्म प¥यो । यस तीन वर्षको अवधिमा नेपालमा ९ लाख ९५ हजार ९ सय १६ पर्यटकको मात्रै आगमन भएको देखिन्छ । तर, सन् २०२४ पछि पर्यटक आगमन पुनः लयमा फर्किन थालेको छ ।

सन् २०२४ मा बोर्डले नेपालका पर्यटकीय उत्पादनहरूलाई विभिन्‍न मुलुकमा पुर्याउने क्रमलाई तीव्रता दिएसँगै ११ लाख ४७ हजार ५ सय ४८ पर्यटक आगमन भएको तथ्यांक छ । सन् २०२५ को पछिल्लो ७ महिनामा नेपालले ६ लाख ४७ हजार ८ सय ८२ पर्यटकलाई स्वागत गरिसकेको छ ।

पर्यटन उद्योगमा बसाइ अवधि प्रमुख सूचक हो, जसले पर्यटकको व्यवहारका विभिन्न पक्षहरू साथै पर्यटनको आर्थिक प्रभावबारे महत्वपूर्ण जानकारी प्रदान गर्छ । पर्यटकको औसत बसाइ अवधि पनि क्रमशः सुधारोन्मुख देखिन्छ । सन् २०२३ मा पर्यटकको औसत बसाइ १३.२ दिन थियो भने सन् २०२४ मा १३.३ दिन छ । उनीहरूको प्रतिपर्यटक दैनिक खर्च करिब ४२ अमेरिकी डलर छ । यसले स्थानीय अर्थतन्त्र, बजारीकरणका लागि गरिएका प्रयासहरू र पर्यटकको सन्तुष्टिको अवस्था सुधार भइरहेको सूचित गर्दछ । यस्ता सूचकहरूले पर्यटन रणनीतिमा गर्नुपर्ने सुधार र आगामी योजना निर्माणमा सहयोगी हुन्छ । पर्यटकको बसाइ अवधि लम्बिँदा समग्र रूपमा राष्ट्रिय आर्थिक विकास र स्थानीय समुदायको उत्थानमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।

विश्‍व पर्यटनका अगुवा बेलायती नागरिक थोमस कुकले सन् १८४१ मा सुरु गरेको पर्यटन र आजको पर्यटकका रोजाइमा निकै भिन्नता आइसकेको छ । यद्यपि, आधारभूत सिद्धान्तमा भने खासै फरक देखिँदैन । सन् १८५४ मा कुकले ‘पर्यटन केवल स्थल परिवर्तन मात्र नभई आत्मालाई पुनर्ताजगी गर्ने प्रक्रिया’ भन्दै परिभाषित गरेका थिए । त्यो समय यात्राको मुख्य उद्देश्य प्रकृतिसँग प्रत्यक्ष सम्पर्क गर्नु र ज्ञानको भोक मेटाउनु थियो । आज, नेपालले यही भावना आधुनिक संरचना र प्रविधिसँग जोड्दै पुनः जीवित बनाउने काम गरिरहेको छ ।

२०औँ शताब्दीको मध्यतिर पर्यटन उद्योग डिजिटल प्रविधि, हवाइ यातायात र विश्वव्यापीकरणले पुनर्परिभाषित भए पनि कुकको यात्रा दर्शन नेपालजस्तो हिमाल, संस्कृति र प्रकृतिको सम्मिश्रण भएको देशमा अझै सान्दर्भिक छ र यात्रुलाई गहिरो अनुभव दिन सक्षम छ । सन् २०२४ को पर्यटक आगमनको प्रवृत्ति विश्लेषण गर्दा कुल आगमनको ६०.४ प्रतिशत पर्यटक विदा मनाउन आएको देखिन्छ । साहसिक पर्यटको आगमन संख्या सन् २०२३ मा १३.१ प्रतिशत रहेकोमा २०२४ मा १४.५ प्रतिशत पुगेको छ ।

त्यसैगरी व्यापारिक पर्यटक आगामन ३.६ प्रतिशत, औपचारिक तथा कार्यालय प्रयोजनका लागि आउनेहरू ४.४ प्रतिशत, स्वास्थ्य, भेटघाटलगायतका पर्यटक आगमन ९.८ प्रतिशत रहेको देखिन्छ । धार्मिक पर्यटक आगमन सन् २०२३ मा १३.१ प्रतिशत थियो भने सन् २०२४ मा १५.२ प्रतिशत पुगेको छ । धार्मिक पर्यटनमा हिन्दू र बौद्ध धर्मका पर्यटकहरू बढी देखिन्छन् ।

नेपालका प्रमुख पर्यटन उत्पादनहरूमा सांस्कृतिक पर्यटनअन्तर्गत काठमाडौं उपत्यकाका दरबार स्क्वायर, लुम्बिनीलगायत पर्दछन् भने पर्वतारोहणअन्तर्गत सगरमाथा, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा लगायत पर्दछन् । त्यसैगरी पदयात्रामा सगरमाथा आधारशिविर, अन्नपूर्ण सर्किट, लाङटाङलगायत छन् भने जैविक तथा वाइल्डलाइफअन्तर्गत चितवन, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्‍ज पर्यटकको रोजाइमा पर्ने गरेका छन् । साहसिक पर्यटन ¥याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी, रक क्लाइम्बिङ छन् भने धार्मिक र आध्यात्मिक पर्यटनअन्तर्गत पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ, जनकपुरलगायत छन् ।

नेपालमा साहसिक पर्यटकहरूको संख्यामा भइरहेको वृद्धिलाई केन्द्रमा राखेर सरकारले हाल ९७ वटा नयाँ हिमालहरूलाई आगामी दुई वर्षसम्म निःशुल्क आरोहण गर्न दिने निर्णय गरेको छ । जसले केही दुर्गम क्षेत्रका पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने अपेक्षा छ ।

नयाँ गन्तव्यको खोजी, प्रचारप्रसार र प्रवद्र्धन
प्रकृतिको अनुपम कृति नेपालका हरेक कुना हिमालदेखि तराईसम्म, एक अलग किसिमको कथासँग जोडिएको छ । त्यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ । पछिल्लो समय रारा, बडीमालिका, खप्तड, पाल्पा, जनकपुर, इलाम, पाथीभरा, दोलखा, मुस्ताङजस्ता ओझेलमा परेका ठाउँहरू उदीयमान गन्तव्यको रुपमा अघि आइरहेका छन् ।

डिजिटल युगको शक्तिशाली माध्यम र सामाजिक सञ्जालमार्फत ती सुन्दर स्थलहरू अन्तर्राष्ट्रिय मेलाहरूमा उपस्थित हुँदै प्रचारप्रसार तीव्र गतिमा हुँदै छ । नयाँ गन्तव्यहरूको प्रवद्र्धनसँगै त्यहाँका स्थानीय बासिन्दा र व्यवसायीलाई पनि पर्यटनमैत्री बनाउने सतत प्रयासहरू भइरहेका छन् । नयाँ गन्तव्य चयन गर्दा न्यूनतम पूर्वाधारयुक्त क्षेत्रहरूलाई प्राथमिकता दिइएको छ, ता कि दिगो विकासको आधार तयार होस् ! यसरी नेपालले आफ्ना भूगोल र संस्कृतिको विविधता प्रयोग गर्दै नयाँ गन्तव्यहरूको खोजी, पूर्वाधार सुधार र समन्वयात्मक प्रयासमार्फत पर्यटन प्रवद्र्धनका प्रयासलाई सफल र दिगो बनाउन विभिन्न तहमा सक्रियता बढाइँदै छ । यी सबै प्रयासले नेपालको सांस्कृतिक सम्पदालाई विश्वसामु उजागर गर्नुका साथै देशको पर्यटन क्षेत्रलाई दीर्घकालीन समृद्धितर्फ अग्रसर गराउनेछ ।

पदयात्रा तथा पर्वतारोहणको बजार
नेपाल विश्वकै प्रमुख पर्वतारोहण तथा पदयात्रा गन्तव्यको रुपमा स्थापित छ । सगरमाथा मात्र होइन अन्नपूर्ण, मनास्लु, धौलागिरिलगायतका विश्वकै आठवटा आठ हजारभन्दा अग्ला हिमालहरूमा वार्षिक हजारौँ आरोही पुग्छन् । यी हिमाली क्षेत्रहरूले साहसिक पर्यटनको अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको महत्वलाई अझ बलियो बनाएका छन् । यद्यपि यस क्षेत्रमा बजार अझै पनि मुख्य रूपमा मध्यमस्तरीय ट्राभल व्यवस्थापकहरूमै सीमित छ । विस्तृत र लक्षित बजारीकरण रणनीति, उच्चस्तरीय सुरक्षा व्यवस्था, सटिक मौसम पूर्वानुमान प्रणाली, आधुनिक गाइडिङ सेवा र प्रविधिको समावेशीकरणले बजारलाई थप फराकिलो बनाउन सकिन्छ । तसर्थ यसतर्फ थप लगानी र ध्यान जानु जरुरी छ । साथै, स्थानीय समुदायलाई समावेश गरेर दिगो पर्यटन विकास गर्न ध्यान दिँदा थप सम्भावना खोलिनेछ ।

पर्यटन प्राथमिकता
लामो समयदेखि साहसिक र पर्वतीय पर्यटन मात्रै प्रचार भएकोमा पछिल्लो समय नेपालमा पर्यटनको मुख्य प्राथमिकता सांस्कृतिक, साहसिक र पदयात्रामा केन्द्रित देखिन्छ । सांस्कृतिक पर्यटनले ठूलो संख्या मध्यम बजेटका पर्यटक आकर्षित गर्न सक्छ भने साहसिक र पर्वतारोहण पर्यटनले बढी खर्च गर्ने विशेष वर्गलाई तान्न सहयोग पु¥याउँछ । तर, पर्यटन क्षेत्रमा विविधता थप्न वाइल्डलाइफ पर्यटन, हेल्थ र स्पिरिचुअल टुरिज्म (जस्तै योग, ध्यान, आयुर्वेद) मा पनि लगानी बढाउन आवश्यक छ । यी नयाँ र विकसित भइरहेका क्षेत्रहरूले पर्यटकको अनुभवलाई सुदृढ बनाउने मात्र होइन, दिगो र समावेशी पर्यटनको आधार तयार गर्नेछन् । यसरी नेपालले आफ्नो प्राकृतिक र सांस्कृतिक विविधतालाई समेट्दै, आधुनिक प्रविधि र सशक्त व्यवस्थापनमार्फत विविध प्रकारका पर्यटन विकास गर्ने रणनीति अपनाउँदा पर्यटन उद्योग थप सशक्त बन्‍नेछ ।

यसका लागि मुख्य स्रोत बजारहरू भारत, अमेरिका, चीन, बेलायत र अस्ट्रेलियामा नेपालका नयाँ गन्तव्यहरू र पर्यटनका विविध आयामको बजारीकरण गर्नुपर्छ । यी बजारहरू नेपालका लागि दीर्घकालीन पर्यटन सम्भावनाका आधार हुन् । नेपालको पर्यटनमा एकातिर अपार सम्भावना र सुन्दर भविष्यको चित्र देखिन्छ भने अर्कोतिर चुनौतीहरूको लामो सूची पनि छ ।

सम्भावनासँगै चुनौती
नेपालको पर्यटन विशाल सम्भावनासहितको क्षेत्र हुँदाहुँदै पनि पूर्वाधार विकास, हवाइ सेवा सुदृढीकरण, वातावरणीय संरक्षण, स्थानीय समुदायको सहभागिता र गन्तव्य व्यवस्थापनमा सुधारका चुनौतीहरू कायम छन् । जसका कारण गुणस्तरीय पर्यटकहरू भित्र्याउन समय लागिरहेको छ ।

क) गुणस्तरीय पर्यटक किन बढ्न सकेनन् ?
नेपालको पर्यटन उद्योगको प्रमुख चुनौती भनेको गुणस्तरीय पर्यटकलाई तान्न नसक्नु नै हो । नेपाल आउने पर्यटकको ठूलो हिस्सा मध्यम बजेट योजनाका हुन्छन् । उच्चस्तरीय पर्यटक, जसले प्रतिदिन सयौँ डलर खर्च गर्न सक्छन् । उनीहरूलाई तान्नका लागि स्तरीय पूर्वाधारका साथै गुणस्तरीय होटल सेवा, सरसफाइ, डिजिटल भुक्तानी सुविधा, गाइडको दक्षता र जानकारीको पहुँच अझै सन्तोषजनक छैन ।

ख) सडक पूर्वाधार, यातायातको चुनौती
नेपालमा पर्यटन भित्र्याउने अर्को ठूलो चुनौती भनेको दुर्गम क्षेत्रसम्मको सडक पहुँच अझै सहज हुन सकेको छैन । वर्षात्को समयमा हिलोयुक्त हुने र हिउँदमा धुलाम्य हुने मात्र नभई सडकहरू ढुक्कसँग यात्रा गर्ने गरी सुरक्षित बन्‍नसकेका छैनन् । हवाइ सेवा, विशेष गरी लुक्ला, जोमसोम, डोल्पा, रारा, सिमिकोटजस्ता विमानस्थलमा यात्रा गर्न मौसममा भर पर्नुपर्ने अवस्था छ ।

अन्तर्राष्ट्रिय हवाइ यात्राका लागि पनि उडान सीमित छ । पर्यटक सूचना प्रणाली, अनलाइन टिकट बुकिङ, स्मार्ट गाइडिङ प्रणालीलगायतका डिजिटल पूर्वाधारको पर्याप्त पहुँच विस्तार भएको छैन ।

ग) महँगो गन्तव्यको कथन
नेपाल महँगो गन्तव्य हो भन्ने भ्रम पनि छ । वास्तवमा विश्वका अन्य हिमाली गन्तव्य (भुटान, स्विट्जरल्यान्ड) वा माल्दिभ्सजस्ता समुद्री गन्तव्यसँग तुलना गर्दा नेपाल सस्तो हो ।
खासगरी नेपालका ग्रामीण क्षेत्रका पर्यटकीय गन्तव्यमा यात्रा गर्दा यातायात भाडा, खाजापानी, गाइडिङ सेवा र गुणस्तरताबीच सन्तुलन नमिल्दा पर्यटकहरूले महँगो महशुस गर्छन् । यस्तो समस्या समाधान गर्न सरकारी तवरबाट गुणस्तरीयता उकास्ने, गन्तव्यसम्मको पहुँच बढाउने, ठूलो लगानी भित्र्याउने र लक्षित बजारमा बढी प्रवद्र्धन गर्ने र स्थानीयहरूलाई आवश्यक सहुलियत उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ ।

घ) भिसा सुविधा, विदेशी मुद्राको चलनचल्ती र भुक्तानी
पर्यटकको संख्यामा वृद्धि गर्न भिसा प्रणाली अझ सहज बनाउनुपर्छ । अनलाइन भिसा सुविधा भए पनि प्रक्रिया छिटो र सरल बनाउन सकिएको छैन । विदेशी मुद्राको सटही र डिजिटल भुक्तानी (यूपीआई, पेपल, कार्ड) को पहुँच अझै सीमित छ । विदेशी मुद्राको सटहीमा सीमा नाकामा र साना सहरहरूमा समस्या छन् । जुन तत्काल सहज बनाउनुपर्छ ।

ङ) पर्यटकको सुरक्षा
नेपालमा पर्यटक सुरक्षा र उद्धारको पक्षमा पनि केही चुनौतीहरू कायम छन् । ट्रेकिङ, पर्वतारोहण वा साहसिक गतिविधिमा दुर्घटना भएको अवस्थामा उद्धारमा ढिलाइ हुने समस्याहरू पूर्णरुपमा समाधान हुन सकेका छैनन् । डिजिटल ट्र्याकिङ प्रणाली सबै क्षेत्रमा लागू भएको छैन । बीमासम्बन्धी विश्‍वसनीयता बढाउनुपर्ने आवश्यकता छ ।

संरक्षण र प्रवद्र्धन
दिगो पर्यटन विकासको आधार नै संरक्षण र प्रवद्र्धनको सन्तुलित दृष्टिकोण हो । देशको पर्यटन क्षेत्र केवल आय–आर्जनको स्रोत मात्र नभई राष्ट्रिय पहिचान, सांस्कृतिक सम्पदा र जैविक विविधताको संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको छ । नेपालमा पर्यटनको संरक्षण पक्षले प्राकृतिक सौन्दर्य, जैविक विविधता, ऐतिहासिक स्थल, कला–संस्कृति, जातीय परम्परा र धार्मिक धरोहरलाई जोगाउने उद्देश्य राख्छ । त्यस्तै, प्रवद्र्धन पक्षले यिनै सम्पदाको प्रभावकारी प्रचार–प्रसार, व्यवस्थित व्यवस्थापन, पूर्वाधार निर्माण र आधुनिक मार्केटिङ रणनीतिहरू प्रयोग गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्ने कार्यलाई सम्बोधन गर्दछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टिक्न संरक्षण र प्रवद्र्धन दुवैको सन्तुलित संयोजन आवश्यक हुन्छ । यसका लागि सरकारी र निजी दुवै पक्षको सकारात्मक र रचनात्मक योगदान विशेष रहन्छ ।

क) निजी क्षेत्रको पहल
पछिल्लो दशकमा निजी क्षेत्रको लगानीले नेपालको पर्यटन पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको छ । काठमाडौं, पोखरा, चितवन, लुम्बिनीलगायतका प्रमुख पर्यटकीय गन्तव्यहरूमा अन्तर्राष्ट्रिय मापदण्डका स्तरीय तारे होटल, लक्जरी रिसोर्ट, अन्तर्राष्ट्रिय फ्रेन्चाइज रेस्टुरेन्ट, एड्भेन्चर स्पोर्ट कम्पनी, सफारी तथा वेलनेस स्पा सञ्चालनमा आएका छन् । तर, लगानीकर्ताहरूले अझै पनि करको जटिलता, निर्माण अनुमति प्रक्रियाको ढिलाइ र दीर्घकालीन नीतिगत स्थायित्वको अभावलाई प्रमुख चुनौतीका रूपमा औँल्याएका छन् । लगानीमैत्री नीतिजस्तै भन्सार शुल्क छुट, सस्तो ब्याजदरमा पर्यटन ऋण, ‘सिंगल–डोर’ क्लियरन्स प्रणाली तत्काल लागू गर्न जरुरी छ ।

ख) होटललाई उद्योगसरह मान्यता
होटल तथा रिसोर्ट उद्योगलाई औद्योगिक क्षेत्रको मान्यता दिइएमा बिजुली शुल्कमा औद्योगिक दर, निर्माण सामग्रीमा भन्सार छुट, बीमा प्रिमियममा कमी र आयकरमा छुट हुने हुँदा प्रत्यक्ष फाइदा पुग्नेछ । यो पहलले प्रतिस्पर्धात्मक मूल्यमा उच्चस्तरीय सेवा दिन मद्दत पु¥याउनेछ । यसका लागि पर्यटन मन्त्रालय, उद्योग मन्त्रालय र ऊर्जा मन्त्रालयबीच स्पष्ट समन्वय आवश्यक छ । यससम्बन्धी केही घोषणा भए पनि प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । जुन यथाशीघ्र हुन जरुरी छ । यस्तै, होटल तथा रेस्टुरेन्ट क्षेत्रलाई ‘ग्रिन होटल’ मापदण्डमा लैजान सकेमा अन्तर्राष्ट्रियस्तरमा नेपालको ब्रान्डिङ अझ बलियो हुन्छ ।

ग) आम्दानी र रोजगारी कसरी वृद्धि गर्ने ?
पर्यटनको आम्दानी र रोजगारी वृद्धि गर्न नेपालले बहुआयामिक रणनीति अपनाउन आवश्यक छ । यसका लागि स्थानीय समुदायमा आधारित पर्यटन महत्वपूर्ण पक्ष हो । जसअन्तर्गत गाउँस्तरीय होमस्टे, सांस्कृतिक महोत्सव, स्थानीय खाद्य तथा हस्तकलाको प्रवद्र्धनमार्फत ग्रामीण क्षेत्रमा सीधा आर्थिक लाभ पु¥याउन सकिन्छ । होमस्टे सञ्चालनले ग्रामीण महिलालाई आयआर्जन र उद्यमशीलतामा जोड्ने अवसर प्रदान गर्छन् ।

यसैगरी पर्यटन, शिक्षा र तालिमलाई व्यवस्थित गर्दै होटल म्यानेजमेन्ट, टुर गाइड, पर्वतारोहण, तथा सुरक्षासम्बन्धी सीप विकास गराउन सकिन्छ, जसले नयाँ पुस्तालाई रोजगारीमा जोड्ने सम्भावना बढाउँछ । साथै सिजन विस्तार (अफ–सिजन टुरिज्म) पनि अर्को प्रभावकारी उपाय हो । जसअन्तर्गत वर्षा र जाडो मौसममा वेलनेस पर्यटन, नेपालजस्तो चाडपर्वले भरिएको मुलुकमा धार्मिक पर्यटकहरूलाई भित्र्याउन चाडपर्वअनुसारका प्याकेज घोषणा, सम्मेलन तथा प्रदर्शनी, आरोग्य पर्यटन, फिल्म पर्यटन र आन्तरिक पर्यटनको प्रचारमार्फत पर्यटकको प्रवाह वर्षभर कायम राख्न सकिन्छ ।

खनाल आयोग प्रतिवेदनका सुझावहरू
खनाल आयोग (२०८०) ले पर्यटन नीति सुधार, संस्थागत समायोजन, सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडल विस्तार, टुरिज्म ब्रान्डिङ, हवाइ पूर्वाधारको विकास, डिजिटल प्रवद्र्धन, स्वदेशी उत्पादनको प्रयोगजस्ता पक्षहरूलाई समेटेर सुझावहरू सिफारिस गरेको छ । आयोगले ‘नेपालः प्राकृतिक र आध्यात्मिक (नेचुरल एण्ड स्प्रिचुअल)’ ब्रान्डमार्फत नयाँ पहिचान सिर्जना गर्नुपर्ने सुझाव दिएको छ । पर्यटन बोर्डले पीपीपी मोडलमार्फत प्रचारप्रसार, मेलामा सहभागिता, डिजिटल मार्केटिङ, क्षेत्रीय टुरिज्म प्रवद्र्धनमा काम गरिरहेको छ । यद्यपि नीति निर्माण तहमा प्रभाव बढाउनु, समन्वय सुधार गर्नु, कार्यान्वयनमा पारदर्शिता बढाउनु उत्तिकै आवश्यक छ ।

अन्त्यमा,
नेपाललाई पर्यटनमैत्री राष्ट्र बनाउन सरकार, निजी क्षेत्र, स्थानीय समुदाय र अन्तर्राष्ट्रिय साझेदारबीचको सहकार्य अपरिहार्य छ । नेपालको ब्रान्डिङलाई विश्वबजारमा अझ मजबुत बनाउँदै गन्तव्यहरूको प्रवद्र्धनमा नवीनतम प्रविधिको प्रयोग गर्नुपर्ने आवश्यकता छ । नेपालको पर्यटन केवल आर्थिक पक्षमा मात्र होइन, सांस्कृतिक पहिचान र पर्यावरणीय संरक्षणमा पनि योगदान पुर्याउने क्षेत्र हो । त्यसैले पर्यटनलाई दीर्घकालीन र दिगो विकासको अभिन्न अंग बनाउन सबै सरोकारवालाहरूले साझा दृष्टिकोण र कार्ययोजना अपनाउन जरुरी छ । विश्वको वर्तमान ट्रेन्ड हेर्दा र आफ्नै सम्भावना मूल्यांकन गर्दा नेपालको भविष्य उज्यालो छ ।

नेपाललाई विश्वको पर्यटन मानचित्रमा स्थायी रूपमा शीर्ष स्थानमा राख्ने भनेको सुन्दर दृश्य मात्र होइन, उत्कृष्ट अनुभव, सहज पूर्वाधार, र सुरक्षित यात्रा सुनिश्चितता गर्नु पनि हो । संसारको पर्यटन यात्रामा नेपाल अगाडि बढ्न तयार छ । तर, स्पष्ट दृष्टिकोण, पर्यटनमैत्री नीति र व्यावहारिक कामको गति बढाउनुपर्ने हुन्छ ।

  • दीपकराज जोशी (सिइओ, नेपाल पर्यटन बोर्ड)
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK