Skip to content
LAXMI SUNRISE BANK

विशेष महाधिवेशनको तरङ्गबीच नैनसिंह महरको ‘परिपक्व’ पहल

अर्थ सरोकार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित प्रक्रियाको साटो ‘विशेष महाधिवेशन’ को तयारी थालेपछि पार्टीभित्र देखिएको अन्योल चिर्न केन्द्रीय सदस्य एवं प्रभावशाली नेता नैनसिंह महर अग्रसर भएका छन् ।

आगामी १५ औं महाधिवेशनमा महामन्त्री पदका लागि ‘निर्विकल्प’ र जित सुनिश्चित मानिएका नेता महरले पार्टीलाई सम्भावित दुर्घटनाबाट जोगाउन र एकताबद्ध राख्न भन्दै आफू निकट नेताहरू र प्राज्ञहरुलाई विशेष छलफलका लागि बोलाएका छन् ।

महामन्त्रीद्वयको कदमले देशभरका कार्यकर्ता पंक्तिमा संशय र अन्योल सिर्जना गरेको भन्दै महरले अहिलेको जटिल मोडमा नेतृत्वले अभिभावकीय र परिपक्व भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । आफू सधैं विधि, विधान र पार्टी एकताको पक्षपाती रहेको उल्लेख गर्दै महरले हतारमा गरिने निर्णयले पार्टीको लोकतान्त्रिक छवि र आन्तरिक एकतामा आँच आउन नहुने बताए ।

‘पछिल्ला घटनाक्रमले साथीहरूमा धेरै प्रश्न उब्जाएको छ। म विधानको सर्वोच्चता र पार्टीको बृहत्तर एकताको पक्षमा छु ।’ महरले भने, ‘अहिले हामीले बाटो बिरायौं भने इतिहासले हामीलाई माफ गर्ने छैन। त्यसैले गम्भीर समीक्षा र साझा धारणा बनाउन छलफल अपरिहार्य ठानेको हुँ ।’

पार्टीलाई फगतका बहसमा अल्झिनुभन्दा विधानसम्मत निकास खोज्नुपर्ने महरको मत छ । १५ औं महाधिवेशनमा महामन्त्रीको बलियो दाबेदारका रूपमा स्थापित भइसकेका महरले लिएको यो पहलकदमीलाई कांग्रेस वृत्तमा ‘जिम्मेवार र सन्तुलित’ कदमका रूपमा हेरिएको छ ।

संस्थापन र इतर दुवै पक्षका कार्यकर्तामाझ लोकप्रिय रहेका महरले बोलाएको यो छलफलले पार्टीभित्र देखिएको धु्रवीकरणलाई रोक्न र सहमतिको मिलनबिन्दु खोज्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । महरको यो सक्रियताले उनी पार्टीको संकटमोचक र भावी नेतृत्वका लागि पूर्ण रूपमा तयार रहेको सन्देश समेत प्रवाह गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK