Skip to content
LAXMI SUNRISE BANK

फलोअपः गैरकानुनी रुपमा गैर बैंकिङ सम्पति भाडामा लगाएको एक्सेल डेभलपमेन्ट बैंकले कर समेत नतिरेको खुलासा !

अर्थ सरोकार

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले गैरकानुनी रुपमा गैर बैंकिङ सम्पत्तिलाई भाडामा लगाएको खबर अर्थ सरोकारले ब्रेक गरेसँगै यससँग सम्बन्धित बैंकका अन्य बदमासी पनि बाहिर आएका छन् । यसैबीच बैंकले उठाएको सो भाडाको घर बहाल कर स्थानीय सरकारलाई नतिरेको खुलासा भएको छ ।

एक्सेल डेभलपमेन्टले कर्जा असुल नभएपछि मिति २०७९/६/३१ गते कमल गाउँपालिकास्थित एक जग्गा सकार गरेको थियो । सो जग्गा भाडामा लगाएर आम्दानी गर्न नपाइने कानूनी व्यवस्था भए पनि बैंकका सिइओ, डेपुटी सिइओ, असुली विभाग प्रमुख र बैंकको दमक शाखा प्रबन्धकको मिलेमतोमा मासिक १ लाख रुपैयाँ भाडा असुल गर्नेगरी सो सम्पति सन साइन बोर्डिङ्ग स्कुललाई गैरकानुनी रुपमा भाडामा लगाइएको छ ।

यसरी लगाइएको भाडा बैंकले अन्य आम्दानी भनेर बुक गरेको छ, तर घरभाडा लिएपछि तिर्नुपर्ने घर बहाल कर स्थानीय सरकारलाई तिरेको छैन ।

बैंकले सो जग्गा मात्र नभई अन्य गैर बैंकिङ सम्पत्ति पनि भाडामा लगाएको पाइएको छ । अर्थ सरोकारलाई प्राप्त प्रमाण अनुसार बैंकले अन्य आम्दानीका नाममा गैरकानुनी आम्दानी बुक गरिरहेको छ ।

सो जग्गा बैंकले सकारेपछि सो जग्गाका तत्कालीन धनी एवं ऋणी भने उपचारका नाममा चन्दा मागिरहेको भिडियो यति बेला सामाजिक संजालमा भाइरल बनेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK