Skip to content
LAXMI SUNRISE BANK

सहिद दिवसमा बालेनको सन्देश- ‘सहिदका बलिदानीलाई बेवास्ता गर्ने छुट छैन’

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले राणा शासनविरुद्ध संघर्ष गर्ने सहिदको बलिदानपछि पनि राज्य जनताकै बन्न नसकेको टिप्पणी गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन राज्यले क्रूरतापूर्ण हत्या गरेको ८५ वर्ष पूरा भएको स्मरण गराएका छन् ।

ती सहिदको बलिदानको करिब एक दशकपछि राणा शासनको अन्त्य भए पनि राज्यको चरित्र नफेरिएको बालेनले बताएका छन् ।

‘८५ वर्षमा पटक-पटक व्यवस्था फेरियो, तर सत्ताको चरित्र फेरिएन ।’, बालेनले लेखेका छन्, ‘नेपाली जनताले निरन्तर संघर्ष गर्नुपर्यो, पटक-पटक जनता शहीद भए, तर शहीदका सपना अझै पूरा हुन सकेनन् ।’

उनले पछिल्ला दिनमा भएको भदौको ‘जेनजी आन्दोलन’को प्रसंग पनि उठाएका छन् । सुशासन र भ्रष्टाचार अन्त्यको माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले जीवन बलिदान दिनुपरेको भन्दै उनले त्यसप्रति दुःख व्यक्त गरेका छन् ।

बालेनले अब शहीदका सपना पूरा गर्ने दिशामा अघि बढ्ने समय आएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नुपर्ने दायित्व वर्तमान पुस्ताको काँधमा रहेको बताएका छन् । ‘लामो समयदेखि जरा गाडेको भ्रष्टाचार अन्त्य गरी नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनुपर्छ ।’, उनले भनेका छन् ।

त्यस्तै, राज्यका निकायमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनु अपरिहार्य रहेको उनको भनाइ छ । ‘यी शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन ।’, उनले भने ।

शहीद दिवसको अवसरमा बालेनले सुशासनयुक्त र भ्रष्टाचारमुक्त देश निर्माणका लागि मन, वचन र कर्मले प्रतिबद्ध भएर लाग्न आह्वान समेत गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK