Skip to content
LAXMI SUNRISE BANK

सुरक्षा र भरोसाको मापदण्ड स्थापना गर्दै पठाओ

अर्थ सरोकार

काठमाडौं । राइडर र यात्रु दुवैको सुरक्षा र भरोसालाई प्राथमिकतामा राख्दै राइड–सेयरिङ कम्पनी पठाओले अत्याधुनिक प्रविधि, तत्काल प्रतिक्रिया प्रणाली, बीमामा आधारित सुरक्षात्मक व्यवस्था लगायतका सेवामार्फत आफ्नो सेवालाई थप जिम्मेवार र सुरक्षित बनाउँदै लगेको छ । दुर्घटना, आपत्कालीन अवस्था तथा दैनिक गुनासोलाई प्रभावकारी रूपमा सम्बोधन गर्न कम्पनीले क्विक रेस्पोन्स टिम (क्यूआरटी), २४सैँ घण्टा कल सेन्टर, मोनिटरिङ तथा आय–सुरक्षा कार्यक्रम लागू गर्दै आइरहेको छ ।

सुरक्षालाई थप मजबुत बनाउन परिचालन गरिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी)ले दुर्घटना, विवाद, शङ्कास्पद गतिविधि वा आपत्कालीन सूचनामा तत्काल छानबिन गरी समस्या समाधान गर्दछ । यात्रु र राइडर दुवैको सुरक्षालाई सुनिश्चित गर्न पठाओ एपभित्र लाइभ लोकेसन सेयर गर्ने सुविधा उपलब्ध छ । साथै, इमर्जेन्सी कल जस्ता विशेष सुरक्षा फिचरहरू समावेश गरिएको कम्पनीले जनाएको छ । सेवा गुणस्तर कायम राख्न अनिवार्य अनलाइन प्रशिक्षण, परीक्षामा न्यूनतम ८० प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था तथा प्रत्यक्ष भेरिफिकेशन प्रक्रिया निरन्तर रूपमा लागू गर्दै आइरहेको छ ।

दुर्घटनाका कारण काम गर्न नसक्ने अवस्थामा पनि राइडरको आम्दानीमा असर नहोस् भन्ने उद्देश्यले पठाओले ‘पठाओ बेनिफिट प्रोग्राम’ अन्तर्गत बेड–रेस्ट भत्ता सहितका आय–सुरक्षा योजना लागू गरेको छ । यसअन्तर्गत श्रेणीअनुसार रु. १०,००० देखि ३०,००० सम्मको राहत प्रदान गरिन्छ । साथै, दुर्घटनाको अवस्थामा अधिकतम रु. १०,००,००० सम्मको बीमा सुरक्षा र उपचारका लागि रु.  १,००,००० सम्मको मेडिकल बीमा सुविधा पनि उपलब्ध गराइएको छ । यसरी नेपालमा बीमाको सुविधा दिनेमा पठाओ पहिलो कम्पनी हो ।

गुनासो व्यवस्थापनलाई प्राथमिकतामा राख्दै पठाओले कम्प्लेन रिसोलुसन टिम गठन गरेको छ, जसले छिटो, पारदर्शी र प्रभावकारी रूपमा समस्या समाधान गर्ने लक्ष्य लिएको छ । यात्रु तथा राइडरले प्रत्यक्ष रूपमा समस्या राख्न सक्ने वाक–इन सपोर्ट सेवा पनि उपलब्ध गराइएको छ, जहाँ कागजात अपडेट, व्यवहारसम्बन्धी गुनासो, सेवा विवरण तथा प्रशिक्षणसम्बन्धी सहायता प्रदान गरिन्छ ।

पठाओ नेपालकी निर्देशक सुरक्षा हमालका अनुसार यात्रुलाई निरन्तर सुरक्षित महसुस गराउने उद्देश्यले कम्पनीले आफ्नो कार्यप्रणाली र सेवालाई निरन्तर सुदृढ बनाउँदै आएको छ । ‘यात्राका क्रममा देखिने आपत्कालीन अवस्थादेखि दैनिक रूपमा आउने गुनासोलाई सम्बोधन गर्न पठाओले २४सैँ घण्टा कल सेन्टर सेवामा विशेष ध्यान दिएको छ । यसले पछिल्लो समय धेरै प्रभावकारी पनि भएको छ । यात्रु र राइडर दुबैले सुरक्षित महसुस गरेका छन् ।,’ उनले भनिन् ।

सुरक्षा व्यवस्थाबारे स्पष्ट पार्दै निर्देशक हमालले भनिन्, ‘पठाओका लागि राइड सेयरिङ सेवा सञ्चालन गर्नु मात्र पर्याप्त होइन । राइडर र यात्रु दुवैको सुरक्षालाई व्यवहारिक रूपमा सुनिश्चित गर्नु र आवश्यक परेको समयमा साथ दिनु हाम्रो जिम्मेवारी हो ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK