Skip to content
LAXMI SUNRISE BANK

सिगाना बन्यो ‘सुन्तला गाउँ’, एक सिजनै भित्रियो ४ करोड

अर्थ सरोकार

काठमाडौँ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका–८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादमा वृद्धि गरिरहेका छन् ।

गत वर्ष रु पाँच लाखमा धादिङका व्यापारीलाई सुन्तला बगैँचा जिम्मा लगाएका अनन्त खड्काले यसपटक भने रु सात लाख ५० हजारमा सुन्तला बगैँचा एकमुष्ट बिक्री गरेका छन् । यसवर्ष सुन्तला बिक्रीबाट सिगानामा रु चार करोड भित्रिएको छ ।

खड्काले यस वर्ष उत्पादनसँगै सुन्तलाको मूल्य राम्रो पाएकामा खुसी व्यक्त गरेका छन् । आफूजस्ता एक सयभन्दा बढी किसानले रु एक लाखदेखि सात लाखसम्म रकम गाउँ भित्र्याएको बताए । अन्य किसानले पनि धेरैथोरै रकम भित्र्याउँदै आएका छन् ।

सुन्तला उत्पादनको तथ्याङ्क भने वडा कार्यालयले नभई गाउँको गणेश कृषि सहकारीले राख्दै आएको छ । सिगानाका सुन्तला स्वादिष्ट हुने भएकाले यहाँका सुन्तलाको बजार पोखरा, काठमाडाँै र चितवनमा छ । कोदो बारी र धान खेत मासेर यहाँका किसानले २०५० सालयता व्यावसायिक सुन्तलाखेतीमा लागेका किसान अहिले धमाधम सुन्तलाखेती विस्तारमा छन् । सिगानामा अबको पाँच वर्षमा गाउँ नै ढाकिनेगरी सुन्तलाखेती विस्तार भइरहेको छ । सिगानाको बेँसी, पात्ले, पाखाबारी, बाँस्बोट र सायकोटमा अहिले सुन्तला लगाउनटे क्रम जारी छ ।

गत वर्ष सुन्तला बिक्रीबाट रु तीन करोड ५० लाख भित्र्याएका सिगानाका किसानले यसवर्ष चार करोड रकम भित्र्याएका छन् । सिगानामा समग्रमा रु ५० लाखको सुन्तला उत्पादनमा गत वर्षको तुलनामा वृद्धि भएको स्थानीय अगुवा शिवकुमार खड्काले बताए । उनले सहकारीमार्फत सुन्तलाखेती विस्तार गर्दै अनुदानमा सुन्तलाका बिरुवा पनि वितरण गर्दै आएको जानकारी दिएका छन् ।

गत वर्षको तुलनामा यस वर्ष मौसम राम्रो र रोग नलागेका कारण सुन्तला उत्पादनमा वृद्धि भएको हो । यहाँका सुन्तलाको स्तरीकरण गरेर फरक–फरक मूल्यमा ठेकेदारले पोखरासहितका अन्य बजारमा पठाउने गरेका छन् । वडा कार्यालयले सुन्तलाको तथ्याङ्क समेत राख्न नसकेको भन्दै गणेश कृषि सहकारी सिगानाका अध्यक्ष रामबहादुर खड्काले गत वर्षदेखि सिगानाको सुन्तलाको तथ्याङ्क संकलन गर्ने कार्य थालिएकाले यो वर्ष चार करोड बढी रकम सुन्तला बिक्रीबाट सिगाना भित्रिएको बताएका छन् ।

सिगानामा २५० भन्दा बढी किसानको सानादेखि ठूलो सुन्तला बगैँचा छ । यस वर्ष ४०० नयाँ बोटले सुन्तला उत्पादन दिन सुुरु गरेका छन् । सिगाना गाउँका साविक ३, ४, ५ र ७ वडामा सुन्तला राम्रो उत्पादन हुने गरेको छ । यहाँका अधिकांश किसान सहकारीमा आबद्ध छन् र वार्षिक रूपमा सुन्तला उत्पादन बढिरहेको पूर्व वडाध्यक्ष तथा सुन्तला किसान जितबहादुर जिसीले जानकारी दिएका छन् ।

यहाँका टोपबहादुर खड्का, रामप्रसाद गौतम, राधा खड्का र गङ्गा केसीलगायत किसानले पोखरा, चितवन, नारायणगढ र धादिङ व्यापारीमार्फत सुन्तलाको बजारीकरण गर्दै आएका छन् । बगैँचा विस्तार र मलजलका कारण सुन्तलाखेती उत्पादन फस्टाउँदै गएको पाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK