काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकमा ऋणीले राखेको धितोको सुन लुटियो भन्यो बैंकले । हुन त भन्नेहरुले जति सुन लुटियो भनिएको छ, त्यो सुन नै सो बैंकमा त्यो रात थिएन पनि भन्छन् । बैंकबाट केही पैसा र सुन चोरिएको फुटेज सार्वजनिक भएको छ, तर बैंकले दाबी गरेजस्तो २० केजी सुन लुटिएको प्रमाणित हुनेगरि कुनै पनि खालको भिडियो फुटेज सार्वजनिक भएको छैन । बैंकबाट लुटेराहरुले केहि थान सुन लुट्दा त प्रत्यक्षदर्शीले भिडियो बनाएको देखिन्छ भने त्यसरी २० किलो सुन लुट्दा त्यसको फोटो/भिडियो सार्वजनिक नहुनु आफैँमा रहस्यमय छ ।
बैंककै कतिपय कर्मचारीहरुले चिया गफमा ‘धितोमा राखिएका नक्कली सुन सबै सक्कली भनेर देखाइएको छ र त्यो रात बाहिर हल्ला आएजस्तो सुन नै थिएन’ पनि भन्छन् । ल ठिक छ, बैंककै दाबी अनुसारकै सुन त्यो दिन लुटियो रे ! त्यसको अनुसन्धान गर्नु पर्दैन ? हराएको सुन कहाँ नै पो गयो होला र ? त्यो बेला पो देश राज्यविहीन थियो त, अब चोरहरुलाई खोज्नु पर्दैन ? अनि हराएको भनिएको किलोका किलो सुन खोज्दा पनि नखोज्ने, सुन साँच्चै हराएको हो कि होइन भन्ने विषयको थप अनुसन्धान पनि नगर्ने, अनि हतारहतार कसको कति धितो थियो ? त्यही अनुसारको पैसा दिने भनेर बैंक किन हतारिएको छ ? प्रश्न यहाँ गम्भीर छ ।
ल एकछिनलाई मानौँ, सुन हराएकै हो रे, अनि सुन धितोमा राख्नेहरुको सुनको पैसा नै फिर्ता गर्दा पनि ऋणीले जुन दिन सुन निकाल्न खोज्छ, त्यही दिनको भाउ दिनु पर्दैन र ? अवश्य पर्छ । तर यहाँ बैंक, आफ्नो मनलाग्दी खोजिरहेको छ । जुन दिन सुन लुटिएको थियो, त्यही दिनको भाउ फिर्ता गर्ने रे ! तोइट ! यस्तो पनि गर्न पाइन्छ ? ऋणीलाई हेप्नुको पनि सिमा हुन्छ नि, होइन र ?
राष्ट्रिय वाणिज्य बैंकमा सुन राखेर पैसा निकाल्ने ऋणीहरु भनिरहेका छन्, ‘हामीलाई सकेसम्म हाम्रै सुन खोजेर देऊ, होइन भने आजको भाउमा पैसा फिर्ता गर ।’ बैंकले गर्नुपर्ने पनि त्यही हो । किनकि ऋण लिँदाका बखतको करार के हो भने बैंकले सुन धितोमा राख्ने, ऋणीले पैसा लैजाने । समयमा ब्याज तिर्ने, अनि सावाँ पनि तिरिसकेपछि आफ्नो सुन लैजाने । ऋण लिने बेलाको करारमा प्रष्टसँग कुन दिन ऋण चुक्ता गर्ने र पैसा फिर्ता गर्ने समयसमेत तोकिएको पनि हुन्छ । तर, बैंक भनिरहेको छ, ‘जुन दिन सुन लुटियो, त्यही दिनको पैसा फिर्ता गर्छौँ, अहिलेको भाउ दिन सक्दैनौँ ।’
यहाँ सुन हराउनुमा ऋणीहरुको केहि दोष छैन । अझ बैंकमा धितोमा राखेको सुन हरायो भने के गर्ने ? भन्ने प्रष्ट नीति पनि छ । अर्थात सो सुनको इन्स्योरेन्स हुन्छ । इन्स्योरेन्स कम्पनीले हराएको सुनको भुक्तानी गर्छ र सोही पैसा ऋणीले पनि पाउँछन् । यहाँ बैंकले अहिलेकै भाउमा पैसा चाहिन्छ भनेर आफ्ना ऋणीको पक्ष लिनुपर्ने हो, तर खै, हराएको सुनको बिग्रिएको हिसाब मिलाउन हो वा बजार हल्ला जस्तै घोटाला भएको सुनको भाउ मिलाउन हो, बैंक त्यहि दिनको मात्र पैसा दिन्छौँ भनिरहेको छ, जुन सामान्य न्यायको सिद्धान्तले पनि दिंदैन ।
बैंक त्यही संस्था हो, जसले एक एक दिनको हिसाब जोडेर ऋणीसँग लिन्छ । तर त्यही बैंक, भाउ बढिसकेको सुनको पैसा भने पुरानै भाउमा फिर्ता गर्छु भन्छ । मानौं, ऋणीले १० बर्षअघि बैंकबाट एक बर्षका लागि भनेर १ लाख ऋण लग्यो । अव, एक बर्षमा सो रकम ब्याजसहित १ लाख १० हजार पुग्यो । त्यही बेला व्यवसाय बिग्रियो, पैसा बुझाउन ऋणीले सकेन । अव १० वर्षपछि ऋण त एक वर्षलाई भनेर दिइएको थियो म त्यही एक बर्षको पैसा बुझाउँछु भनेर मिल्छ त ? मिल्दैन । हो, त्यस्तै सुनको भाउ कति बढीसक्यो । अनि फिर्ताचाहिँ अहिले गर्छु भाउ चाहिँ हराएको दिनको दिन्छु भनेर पाइन्छ त ? पाइन्न, पाइँदै पाइँदैन । तर, राष्ट्रिय वाणिज्य बैंक यही कुरामा लिडे ढिपी कसेर बसेको छ । परिणाम, पेलाईको पनि हद भएपछि, आफ्नो हराएको सुन पनि नखोज्ने, पैसा पनि अहिलेको भाउ अनुसार नदिने भएपछि, बैंकले हामीले गर्ने यहि हो, तिमीहरुले सकेको गर भनेर दादागिरी देखाउन खोजेपछि ऋणीहरु जागे, सीइओलाई घेरे, बढी कुरा बीचमा प्वाक्क गरिहालेको भन्दै, सीइओ सचिवालयमा रहेका मुराहरी अधिकारीलाई पनि हप्काए र नाराबाजी गरे, ‘बैंकको मनपरी सहिन्न । मनपरी गर्न पाइन्न ।’
हुन त राष्ट्रिय वाणिज्य बैंकलाई बदमासी गर्ने र पेलेरै जाने बानी परिसकेको छ । राष्ट्र बैंककै पूर्व हाकिम अध्यक्ष भएकाले राष्ट्र बैंकले खासै पेल्न नसक्ने, अडिटर नै सीइओको साढुदाइ भएकाले अडिटले बदमासी केलाउने कुरै भएन । संचालक आफैँ गैरकानुनी रुपमा एमालेको झोले भएकै कारण नियुक्त भएका छन्, तिनले सही कुरामा अडान लिने कुरै भएन । सीइओ सचिवालयमा पैसा नपाई, गरिसकेको कामसमेत अघि नबढाउने छोटे डन छन्, उनले अरुका कुरा सुन्ने कुरै भएन । सिइओले नै बदमासी गरेपछि अरुले बोल्ने कुरै भएन । माओवादीले लालसलाम कमरेड भनेर बैंकको हाकिम बन्न आशिर्वाद दिएपछि सीइओले अरुले भनेको कुरा सुन्ने कुरै भएन । अनि त बदमासी यतिसम्म छ कि राष्ट्रिय वाणिज्य बैंकमा त्यसको कुनै लेखाजोखा नै छैन ।
हामीले बैंकका सिइओसँगको भेटमा ‘त्यो रात बैंकमा हराएको भनिएको सुन नै थिएन भन्छन् नि तपाईंका कर्मचारी कुरा के हो ?’ भनेर सोध्दा उनले यसको जवाफ दिन सकेनन् । बरु यति धेरै मान्छे मरेका छन्, सुनको के हिसाब किताब गर्नु भनेर थप शंकास्पद जवाफ पो दिए त । अनि प्रश्न थप उठेको छ, ऋणीलाई पेल्नुको पनि हद हुन्छ, देशको कानुन भन्दा माथि म छु भनेर सीइओले बदमासी गर्न पाइन्छ ? हो, यहि प्रश्न गरिरहेका छन् ऋणीहरु ।
अहिले ऋणीहरु भनिरहेका छन्, जुन दिन सुनको पैसा फिर्ता गर्ने हो, त्यहि दिनको भाउ चाहिन्छ । यहि माग लिएर उनीहरुले देवेन्द्र रमण खनाललाई सीइओ बनाउन उर्दी दिने प्रचण्ड, राष्ट्रिय वाणिज्य बैंकमा महिला आयोगले दोषी ठहर गरे पनि अध्यक्ष बनाउने राष्ट्र बैंक र पार्टीको झोले भएकै कारण गैरकानुनी रुपमा संचालक हरि सिलवाललाई संचालक बनाउन उर्दी जारी गर्ने विष्णु पौडेलसम्म पनि पुगेका छन् । राजनीतिक पावरका भरमा कतिपयले सुटुक्क भित्रभित्रै पछिल्लो भाउ पाएको पनि कुरा छ, तर अधिकांश ऋणी पीडीत बनेका छन् । परिणाम, ऋणीहरुले बैंक घेरेका छन् । धन्न ! उनीहरु संयमित हुँदा सचिवालयकाले कुटाई खाएनन, सीइओ बालबाल बचे ।
सुन भनेको फगत सम्पत्ति होइन, यो भावनासँग जोडिएको कुरा हो । सुखको गहना, दुःखको खजाना हो सुन । केही सीप नलागेर सुन नै धितो राखेर लिएको ऋण लगानी गरेको बिजनेश त जेनजी आन्दोलनपछि कमजोर बन्यो नै, धितोमा राखिएको सुनकै भाउ बैंकले खोस्न खोजेपछि ऋणी नजाग्ने कुरै भएन ।
कुरा प्रष्ट छ, बिना कुनै इफ बट, ऋणीलाई सुन फिर्ता गरेकै बखतको भाउ दिनुपर्छ । अझ आफुले सुनको सुरक्षा गर्न नसकेकोमा माफी मागेर ग्राहकलाई सुन दिनु पर्छ । भन्ने बेलामा राष्ट्रिय बाणिज्य बैंक, आफ्नो भनेको आफ्नै हुन्छ भन्ने, अनि परेका बेला सौतेनी व्यवहार गरेर हुन्छ ? ऋणीलाई दुश्मन सोचेर हुन्छ ? बैंकमा सीइओ सिए छन्, संचालक सिए छन्, अनि ति सिएहरुले टाइम भ्यालु अफ मनि चाहिं पोलेरै खाए, कि अहिले राजनीतिक दम्भमा बुझ पचाईरहेका छन् ?
पछिल्लो समय बैंकहरुविरुद्ध कतिपय समूह नियोजित रुपमा लागेका छन् । बैंकले यसरी नै खुलेआम बदमासी गर्दा उनीहरुको मनोबल बढेको छ । बैंक भनेको कर्पोरेट संस्था हो, यसले यस्तो थर्ड क्लास लजिक दिएर ऋणीलाई मार पार्नु हुँदैन । किनकि त्यो रात राष्ट्रिय वाणिज्य बैंकमा जे भयो, त्यसको एक एक अनुसन्धान गर्ने हो भने बैंकका कतिपय कर्मचारी जेल जाने पक्का छ । किनकि राष्ट्रिय बाणिज्य बैंक नक्कली सुन धितोमा राखेर ऋणसमेत दिने बैंक हो भन्ने तथ्य यसअघि नै पुष्टी भईसकेको छ, र त्यो रात बैंकमा भएका सबै पहेँलो धातु पनि सुन थिएनन् भन्ने चर्चाको यार्थार्थ बाहिर आउनै बाँकी छ । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्