Skip to content
LAXMI SUNRISE BANK

जलविद्युत् विकासमा सिटिजन्स बैंकको अर्को ऐतिहासिक लगानी

अर्थ सरोकार

काठमाडौं । नेपालको ऊर्जा आत्मनिर्भरता र दिगो आर्थिक विकासमा निजी क्षेत्रको भूमिका दिनप्रतिदिन विस्तार हुँदै गएको छ। विशेषगरी जलविद्युत् क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानीले देशको ऊर्जा उत्पादन क्षमता वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ । यही अभियानलाई निरन्तरता दिँदै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड को अगुवाइमा पाँच बैंकले रु. ७ अर्ब २० करोड सहवित्तीयकरण कर्जा लगानी गर्ने गरी ४४.५२ मेगावाट क्षमताको सानिभेरी जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

यस आयोजनाका लागि सिटिजन्स बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक तथा सानिमा बैंक र प्रवर्द्धक कम्पनी एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट प्रा.लि. बीच सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको हो । बैंकका अनुसार यो आयोजना लुम्बिनी प्रदेशको रुकुम पूर्व जिल्लास्थित सिस्ने गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिका क्षेत्रमा निर्माण गरिनेछ ।

करिब रु. ९ अर्ब ६० करोड लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी रहने वित्तीय संरचना तय गरिएको छ । कुल ऋण लगानीमध्ये सिटिजन्स बैंकले रु. २ अर्ब ५० करोड लगानी गर्नेछ भने नबिल बैंकले रु. १ अर्ब ५० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु. १ अर्ब २० करोड, सिद्धार्थ बैंकले रु. १ अर्ब तथा सानिमा बैंकले रु. १ अर्ब लगानी गर्नेछन् । बाँकी स्वपुँजी प्रवर्द्धक कम्पनीबाट जुटाइनेछ ।

बैंकका अनुसार आयोजना आगामी चार वर्षभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ। निर्माण सम्पन्न भएपछि उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको बाफिकोट सबस्टेशन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

आयोजनाबाट वार्षिक करिब २८१.११३ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ । यसमध्ये हिउँदमा ९८.७२७ गिगावाट घण्टा र वर्षायाममा १८२.११३ गिगावाट घण्टा विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ। यसले राष्ट्रिय ऊर्जा आपूर्तिमा थप योगदान पुर्‍याउनुका साथै स्वच्छ तथा नवीकरणीय ऊर्जाको विस्तारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

सहवित्तीयकरण सम्झौता कार्यक्रममा बोल्दै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ले बैंकले स्थापना कालदेखि नै जलविद्युत् तथा हरित ऊर्जा क्षेत्रमा एकल लगानी, अगुवा बैंक, सह-अगुवा बैंक तथा सहवित्तीयकरणमार्फत निरन्तर लगानी गर्दै आएको उल्लेख गरे । उनले निजी क्षेत्र, बैंकिङ क्षेत्र तथा स्वतन्त्र ऊर्जा उत्पादकबीचको सहकार्यले नेपालको ऊर्जा क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याएको धारणा व्यक्त गरे ।

बैंकका अनुसार हालसम्म १६६.४०१ मेगावाट क्षमताका ११ वटा सम्पन्न आयोजना तथा १,०३४.६२७ मेगावाट क्षमताका २४ वटा निर्माणाधीन आयोजना सहित कुल १,२०१.०२८ मेगावाट क्षमताका ३५ वटा जलविद्युत् आयोजनामा सिटिजन्स बैंकको लगानी रहेको छ । तीमध्ये १४ वटा आयोजनामा अगुवा बैंक, ३ वटा आयोजनामा सह–अगुवा बैंक, १४ वटा आयोजनामा सहभागी बैंक तथा ४ वटा आयोजनामा एकल लगानीकर्ता का रूपमा बैंक संलग्न रहेको जनाएको छ ।

प्रवर्द्धक कम्पनी एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट प्रा.लि. का अध्यक्ष अंगिस घिमिरे ले आयोजना निर्माणका लागि आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै निर्माण कार्य तत्काल सुरु गरी निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

सिटिजन्स बैंकले वित्तीय सेवा विस्तारसँगै दिगो विकास र हरित लगानीलाई पनि आफ्नो प्राथमिकतामा राख्दै आएको जनाएको छ । जलविद्युत्, नवीकरणीय ऊर्जा तथा पूर्वाधार विकासका क्षेत्रमा गरिएको लगानीले देशको आर्थिक विकास, ऊर्जा आत्मनिर्भरता र वातावरणमैत्री विकासमा दीर्घकालीन योगदान पुग्ने बैंकको विश्वास छ ।

हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर तथा ७४ शाखारहित बैंकिङ इकाइ मार्फत १९ लाख ३० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ उपाधिबाट सम्मानित बैंकले डिजिटल बैंकिङ, नवप्रवर्तन र दिगो विकासलाई केन्द्रमा राख्दै आफ्नो सेवा विस्तारलाई निरन्तर अघि बढाइरहेको जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK