Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकमा चिफ बिजनेश अफिसर नै धनगढी सरुवा !

अर्थ सरोकार

काठमाडौँ । प्रभु बैंकमा चिफ बिजनेश अफिसरकै सूदूरपश्चिम सरुवा भएको छ । बैंकमा सिबिओका रुपमा कार्यरत रमेश कुमार श्रेष्ठको धनगढी सरुवा भएको हो । उनलाई बैंकले एक इमेल लेख्दै सोमबारदेखि लागु हुनेगरी धनगढी सरुवा भएको जानकारी दिएको हो । उनको सरुवासँगै बैंकभित्र फरक खालको बहस सुरु भएको छ ।

चिफ बिजनेश अफिसरको भूमिकामा रहेका श्रेष्ठ नै काठमाडौँ बाहिर सरुवा भएपछि बिजनेशमा सिधा असर गर्ने तर्क कर्मचारीहरुको छ । अर्कोतिर, बैंकभित्र भएका केहि लिलामीमा फरक मत राखेकै कारण प्रतिशोध साँधिएको तर्क पनि सुनिएको छ ।

‘केहि लिलामीका बारेमा रमेशजीले फरक मत राख्नुभयो । यहि कारण उहाँलाई सरुवा गरिएको बुझिएको छ ।’ बैंकका अर्का एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘बैंककै हितमा होइन भने तर्कको खण्डन गर्ने हो । कि बुझाउने हो । तर आफ्नो भन्दा फरक तर्क आयो भन्दैमा कसैलाई सरुवा गर्ने होइन नि, जे भयो गलत भयो ।’ ती कर्मचारीले भने ।

अर्काथरी कर्मचारीले श्रेष्ठको सरुवालाई लिएर तत्कालीन सेन्चुरी कमर्सियल बैंकबाट आएका कर्मचारीलाई कमजोर बनाउने रणनीति भएको आरोपसमेत लगाएका छन् । ‘सेन्चुरीको प्रतिनिधित्व गर्ने एक जना रमेशजी मात्र थिए । पोस्ट मर्जरका तमाम समस्या छन् । सेन्चुरीबाट आएकाहरुमध्ये अलि माथिल्लो तहमा भएको भनेको रमेशजी र दिपेन्द्र बिष्टजी हुनुहुन्छ । दिपेन्द्रजीको बारेमा थप कुरै गर्नुपरेन । अव हाम्रो कुरा माथि कसले राख्ने ?’ ती कर्मचारीले थपे ।

यता, श्रेष्ठ स्वयम् भने यो विषयमा कुराकानी गर्न तयार देखिएनन् । सरुवाबारे उनलाई सोधिएको प्रश्नमा उनले भने -‘यसमा मेरो कुनै कमेन्ट छैन । बैंकले धनगढी पठाएको छ । सोमबार हाजिर हुन जान्छु ।’ कतिपय लिलामीमा फरक मत राखेकै कारण सरुवा गरेको भन्ने सुनियो नि ? भन्ने हाम्रो प्रश्नमा उनले भने – ‘जे गरेको, बोलेको हो, बैंककै पक्षमा बोलेको हो । बाँकी भन्नु केहि छैन । किन सरुवा गरेको हो भन्ने विषय बैंकसँग नै बुझ्नुहोस् ।’

यस विषयमा बुझ्न बैंकलाई फोन गर्दा बैंकका सूचना अधिकारी रविन्द्र ढकालले फोन नै उठाएनन् ।

स्वभाविक मानिँदैन बरिष्टहरुको सरुवा, एनआईसीमा यस्तै सरुवाले ल्याएको थियो फाटो !
कतिपयलाई कुनै कर्मचारीको सरुवा ठुलो कुरा नलाग्न सक्छ । तर श्रेष्ठ यसअघि कामु सीइओ भईसकेका निरज लम्सालकै पोजिसन अर्थात एजिएम हुन् । उनी बैंकको डेपुटी सीइओका दाबेदार पनि हुन् । तर बैंकले अर्को डेपुटी सीइओ ल्याउने तयारी गरिरहँदा उनलाई सुदूरपश्चिम सरुवा गर्ने विषयलाई बैंकरहरुले निकै सिरियस रुपमा बुझेका छन् ।

केहि समय अगाडी एनआईसी एशिया बैंकमा यस्तै सरुवाको केस भएको थियो । बैंकले बैंकका सिनियर डेपुटी सीइओ सुधिर नाथ पाण्डेलाई मधेश प्रदेशको प्रमुख बनाएर सरुवा गर्ने निर्णय गरेपछि पाण्डेले बैंकको जागिर नै छाडेका थिए । पाण्डे अहिले कुमारी बैंकमा सिनियर डेपुटी सीइओ छन् । उनलाई मधेश प्रदेश सरुवा गर्ने निर्णयपछि बैंकमा ठुलो हलचल भएको थियो । सोहि घटनापछि बैंकको उँधोगति सतहमा आएको विश्लेषण बैंकिङ क्षेत्रमा हुने गरेको छ । रमेश श्रेष्ठलाई पनि ‘बैंक छाडे हुन्छ’ भन्ने सन्देशसहित यो सरुवा गरेको तर्क बैंकभित्रका कर्मचारीहरुको छ ।

यसो त, यसअघि निरज लम्सालले समेत श्रेष्ठलाई सरुवा गर्न भने खोजेका थिए । तर आफु कामु मात्र भएकाले उनले सो रिस्क लिएका थिएनन् । अहिले श्रेष्ठलाई सरुवा गर्ने विषयमा निरज लम्साल, रबिन्द्र ढकाल र दिपेन्द्र बिष्ट एक भएर लागेको दाबी स्वयम् रमेश कुमार श्रेष्ठको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK