Skip to content
LAXMI SUNRISE BANK

डिजिटल ठगी र यसको समाधानको उपायहरू

अर्थ सरोकार

काठमाडौँ । अहिले नेपालमा विभिन्न बहानामा घटेका ठगीका केसहरू, डिजिटल स्क्यामहरू र इमोसनल स्क्यामहरू देख्दा के हामी साँच्चिकै इजी मनी प्राप्त गर्न खोजिरहेका छौँ, कि हामीमा वित्तीय साक्षरताको कमी छ ? भन्ने प्रश्न खडा हुन्छ । हालसालै, मैले सुनेका, भोगेका घटनाहरुलाई आधार मानेर भन्ने हो भने यस्ता घटनाहरु एकदम धेरै नै घटेका छन्। सामाजिक सञ्जालमा एउटा टिकटक निकै भाइरल छ “मलाई एक हप्तामै लास्टै धनी हुनुपर्नेछ । कसरी हो मलाई थाहा छैन तर लास्टै धनी हुनुपर्नेछ ।” के हामी यही टिकटकमा भने अनुसार छिटै धनी हुने आसमा, विभिन्न प्रलोभनमा परेर भएको पैसा पनि गुमाउँदै त छैनौँ ?

हामी वित्तीय साक्षर त हौला, तर हाम्रो लोभले गर्दा र थोरै होसियार नपुर्याउँदा ठूलो आर्थिक हिनामिनामा परेका छौं र ठगी गर्ने मान्छेहरूलाई प्रोत्साहन मिलिरहेको छ । उनीहरुले ठग्नलाई कमी गरेकै छैनन् । प्रत्येक वर्ष विभिन्न वित्तीय कारोबार गर्ने संघ संस्थाहरू, नेपाल राष्ट्र बैंक लगायत धेरै संघ संस्थाहरुले वित्तीय साक्षरताका कार्यक्रमहरू गर्दै आइरहेका छन् । प्रहरीले पनि विभिन्न घटनाहरुलाई उदृत गर्दै वित्तीय ठगीबाट जोगिने उपायहरु आफ्नो सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट जनताहरुलाई जानकारी गराइरहेको मैले पाउँछु ।

फेसबुक, ह्वाट्सएप, म्यासेन्जर, टिकटक लगायतका विभिन्न सामाजिक सञ्जालहरूको प्रयोग गरेर तपाईँलाई ठूलो राशिको चिठा परेको छ, अन्य कोही कसैको अपुताली बापतको सम्पत्ति दिनुपर्नेछ भन्दै तपाईहरुसँग भावनात्मक रुपमा नजिक हुनको लागि मेसेज आउँछ, उनीहरूले कुराकानी यति राम्रो तरिकाले गर्छन कि तपाईहरुले सबै कुरा विश्वास मान्नुहुन्छ भावनात्मक रुपमा नजिक बन्नुहुन्छ यो मान्छेले मलाई झुट बोलेको छैन भन्ने कुरा भ्रम पैदा गर्दिन्छन तपाईहरु भावनात्मक रुपमा अट्याच हुँदै जानुहुन्छ, त्यसपछाडि सुरु हुन्छ पैसा माग्ने खेल । तपाईंले यो उपहार प्राप्त गर्न, तपाईँले जित्नुभएको लट्रीको पैसा प्राप्त गर्न, अथवा अपुतालीवापतको पैसा प्राप्त गर्न तपाईंले अहिले यो देशको कानुन बमोजिम लाग्ने केही कर रकम तपाईँले भुक्तानी गर्नुपर्ने हुन्छ भन्छन, उनीहरुले सानो सानो रकमबाट पैसा माग्न सुरु गर्छन् ।, उनीहरुले तपाईंको आर्थिक हैसियत चेक गरिरहेको हुन्छन, तपाईं जति पैसा हाल्दै जानुहुन्छ उनीहरुले विभिन्न बहाना थप्दै कहिले यो गिफ्ट पुलिसले एयरपोर्टमा रोक्यो, कहिले कुरियर खर्च जम्मा गर्दिनुस भन्दै बहानाहरू थपदै जान्छन् । र जम्मा गर्न लगाउने रकम पनि सुरुमा सानो रकमबाट सुरु हुन्छ र बिस्तारै रकमको आकार बढ्दै जान्छ ।

नेपालमा पछिल्लो समय ठगहरूले अपनाइएका विभिन्न उपायहरु निम्न बमोजिम पनि छन् ।

१. म बैंकको कर्मचारी तपाईंको खाताको केवाईसी अपडेट गर्नुपर्नेछ, मोबाइलमा एउटा ओटिपी आउँछ त्यो मलाई उपलब्ध गराइदिनुहोला ।

२. तपाईंको राष्ट्रिय परिचयपत्र अपडेट गर्नुपर्ने भएकोले तल दिएको लिङ्कमा क्लिक गर्नुहोला अथवा तपाईंको मोबाइलमा आएको ओटिपी मलाई भन्नुहोला ।

३. तपाईँको कनेक्ट आइपिएस ब्लक भएको छ । कनेक्ट आइपीएस एक्टिभेट गर्नलाई तलको लिङ्कमा क्लिक गर्नुहोला ।

४. अनलाइन सपिङ गर्दा तपाईँले पैसा भुक्तानी गरिसक्नुभयो तर मेरो खातामा पैसा आएको छैन । तपाईंको स्क्रिन मलाई सेयर गर्नु म तपाईंको पैसा तपाईंकै खातामा फिर्ता हुने उपाय म सिकाउँछु। भन्ने ह्वाट्सएपबाट भिडियो कलगर्ने र स्क्रिन सेयर गरी आएको ओटिभी युज गरेर पैसा ठग्ने ।

५. विभिन्न बहानामा फेसबुकमा साथी बन्ने म विदेशमा एक्लै छु । मसँग करोडौंको सम्पत्ति छ मसँग भएको सम्पत्ति बेचेर नगद र सुनचाँदी के के छ मसँग सबै लिएर म तपाईँलाई भेट्न नेपाल आउँदैछु भन्ने, अनि आइफोन, सुन चाँदीका गरगहना लगायतको महँगा सामग्रीहरूको भिडियो बनाएर यो सबै म तपाईंको लागि लिएर आउँदैछु भन्ने एयरपोर्टमा नगईकन एयरपोर्टमा गएजस्तो भिडियोहरू बनाएर हाल्ने पुलिसहरूको नक्कली डिपी प्रयोग गरेर मलाई पुलिसले रोक्यो कर तिर्ने पैसा पठाइदिनुस् । भनेर नेपालकै अरु कोही व्यक्तिहरूको खातामा पैसा जम्मा गर्न लगाउने बारम्बार खाताहरू फरकफरक व्यक्तिहरूको प्रयोग गर्ने र अब यो मान्छेले पैसा जम्मा गर्दैन भन्ने थाहा भइसके पछाडि हरेक ठाउँको कनेक्सनहरुबाट ब्लक गर्ने र हराउने ।

६. सामानहरू खरिद गर्दा नचिनेको व्यक्तिहरूको खाताबाट पसलमा भुक्तानी दिने, सामान खरिद गर्न आउने मान्छे ठग भएकै कारण पछि कानुनी झन्झटमा पर्ने ।

७. अनलाइन गेमहरू खेल्ने तपाईँले पुरस्कारहरू जित्नुभयो भने पुरस्कार दाबी गर्नका लागि फेरि तपाईंले कर बापत पैसाहरु भुक्तानी गर्नुपर्छ भनेर पैसा माग्न सुरु गर्ने ।

८. तपाईंको नजिकको छिमेकी आफ्नो साथीभाइ लगायतका व्यक्तिहरूको म्यासेन्जर, ह्वाट्सएप ह्याक गरेर तपाईंको साथी बनेर म एकदमै अप्ठ्यारो अवस्थामा छु अहिले तत्काल मसँग मेरो आफ्नो मोबाइल बैंकङ एटिएम केही पनि नभएको कारणले अरु कोही व्यक्तिको खातामा पैसा हाल्दिनु भनेर रिक्वेस्ट पठाउँछन् ।

यी माथि भनेका सम्पूर्ण कुराहरूमा स्क्यामरहरुले यिनीहरुलाई स्क्याम गर्न सकिन्छ कि सकिन्न भन्ने कुराहरूको स्क्रिनिङ गर्छन त्यसपछि स्क्याम गर्न सकिन्छ भन्ने उनीहरू ढुक्क भइसके पछाडि माथि मध्यका कुनै उपायहरु अपनाई ठगीधन्दा सुरु गर्छन् । यस्ता ठगीका घटनाहरूमा वित्तीय साक्षरता को कमी भएका व्यक्तिहरू मात्र पर्दैनन, वित्तीय रूपमा साक्षर भएका सर्वसाधारणहरू साथै प्रशासनीक क्षेत्र, बैँक र विभिन्न क्षेत्रमा कार्यरत कर्मचारी समेत ठगीमा परेका केसहरु हामीले सुन्न र पढ्न पाएका छौँ। किन हामी कोही अछुतो छैनौं ? हामीले सजिलै विश्वास मान्छौं त्यही विश्वासमा नै उनीहरुले ठगिरहेका छन् ।

यो समस्याका मुख्य कारणहरू

  • लोभ:  छिटै पैसा कमाउन चाहाना ।
  • भावनात्मक प्रलोभन: अनलाइनमा भेटिएका अपरिचित मान्छेहरूसँग भावनात्मक सम्बन्ध गाँस्नु ।
  • जानकारीको कमी: बैंकले ओटिपी वा व्यक्तिगत विवरण फोनमा माग्दैन भन्ने कुराको जानकारी नहुनु ।
  • लापरवाही: मेसेज वा लिंकको सत्यता जाँच नगरी विश्वास गर्नु ।
  • आफूले गर्दै नगरेका, आफू सम्बन्धमै नभएको, आफूलाई जानकारी नै नभएका कुराहरुमा अर्काले बनावटी कुरा गर्याे भन्दैमा आँखा चिम्म गरेर विश्वास गर्नु नै हामी ठगिएर थप आर्थिक क्षति पुर्याउने मुख्य कारणहरू हुन् ।

यस्ता किसिमका ठगीबाट कसरी जोगिने 

१. बैंकले कहिले पनि फोन गरेर ओटिपी, खाता नम्बर, नागरिकता नम्बर माग्दैन भन्ने कुरा जान्नु । बैंकसँग सम्बन्धित केवाईसी अपडेट गर्ने, राष्ट्रिय परिचयपत्र अपडेट गर्ने, कनेक्ट आइपीएस ब्लक भएमा एक्टिभ गर्ने सम्पूर्ण कामहरू बैंकको नजिकैको शाखामा गएर गर्न सकिन्छ ।

२. चिन्दै नचिनेको देशबाट नचिनेको व्यक्तिले तपाईँलाई अपुताली बापतको लाखौ, करोडौं रकम तपाईंले प्राप्त गर्दै हुनुहुन्छ भनेर देखाएको लालच मा नफस्नु ।

३. कोही पनि व्यक्तिहरू अनलाइनमा कुराकानी गरेको आधारमा मात्र यो मान्छे मेरो आफ्नो हो, यो मान्छेले मलाई मन दिएको छ, म यसको मायामा परे भन्ने भ्रम बाट टाढा बस्नु ।

४. अनलाइनमा देखाइएका सबै भिडियोहरू सबै वास्तविक हुन जस्तैः गिफ्टहरू, एयरपोर्ट आउँदाका भिडियोहरु सबै एनिमेटेड पनि हुनसक्छन अथवा तपाईँलाई त्यस्तो देखाइएको पनि हुनसक्छ भन्ने कुराहरुमा सचेत रहनु ।

५. चिन्दै नचिनेको जान्दै नजानेको व्यक्तिहरूबाट गिफ्टको आशा नगर्नु र त्यो गिफ्ट प्राप्त गर्नका लागि कर र कुरियर चार्ज भनेर पैसा भुक्तानी नगर्ने।

६. आफूले भर्दै नगरेको चिट्टा पर्याे भन्ने कुरामा विश्वास नगर्ने आश पनि नगर्ने ।

७. कुनै पनि माध्यममा प्राप्त भएका मेसेज तथा लिङ्कहरू पूर्णरूपमा विश्वस्त नभएसम्म क्लिक नगर्ने ।

८. आफूलाई थाहा नभएको विषयहरूमा आफ्नो नजिकको आफन्त अथवा आफूभन्दा जानकारी भएको व्यक्तिहरूसँग सरसल्लाह गरेर मात्र आर्थिक कारोबारहरू गर्ने ।

९. आफ्नो एटिएम कार्ड, मोबाइल बैंकिङको पिन, कनेक्ट आइपीएसको युजर आइडी पासवडर्, चेकबुकहरू, नागरिकता र खाता नम्बरहरू सुरक्षित तवरले राख्ने, सजिलै जो कसैको पहुँचमा नदिने ।

१०. ओटिपी भनेको आफ्नो प्रयोगको लागि मात्र हो, कसैले फोन गरेर माग्यो भने नदिने ।

११. तपाईँको साथीभाइ इष्टमित्र लगायत कसैले म्यासेन्जर, ह्वाट्सएप मार्फत म्यासेज गरेर पैसा माग्छन भने, स्वयं साथी अथवा आफन्तको खातामा बाहेक अन्य खातामा पैसा भुक्तानी मागेको बखतमा साथीहरूसँग कलमा कुरा गरेर मात्र भुक्तानी गर्दिनु ।

ठगहरूले ठग्नका लागि माथि उल्लेखित भन्दा बाहेकका अन्य विभिन्न प्रलोभनका प्रक्रियाहरू, ठग्ने नयाँ नयाँ तरिकाहरू अपनाउन सक्छन, आफू ठगिनबाट आफै जोगिने बाहेक अरु विकल्प हुँदैनन् । एकपटक ठगी परिसकेपछि सो रकम फिर्ता ल्याउनलाई धेरै नै कठिनाइहरु हुनसक्छन, त्यस कारण ठगिनबाट जोगिनु नै सबैभन्दा उत्तम उपाय हो ।

कदम कदाचित ठगिमा परीहालियो भने आफूले भुक्तानी गरेको बैंक खाता रोक्का गर्न ठगेका सम्पूर्ण विवरणहरू सहित नजिकको जिल्ला प्रहरी कार्यालयमा गएर उजुरी दर्ता गरी अनुसन्धान गर्न लगाउने गर्न सकिन्छ ।

‘सचेत बनौँ, ठगीबाट जोगिउँ, ठगिनबाट जोगाउँ ।’

-तुलसी राम आचार्य

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK