Skip to content
LAXMI SUNRISE BANK

बाढी प्रभावितका लागि युनिलिभर नेपालद्वारा ५ करोड आर्थिक सहयोग, १ करोडको स्वास्थ्य तथा सरसफाइ सामग्री प्रदान

अर्थ सरोकार

काठमाडौं । बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले युनिलिभर नेपाल लिमिटेडले करिब ६ करोड रुपैयाँ बराबरको सहयोग गरेको छ ।

युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ योगदान गरेको हो । साथै, बाढी प्रभावित परिवारका लागि करिब १ करोड रुपैयाँ मूल्य बराबरका २६ टन दैनिक अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्री उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

बाढीपछि प्रदूषण तथा विभिन्न संक्रमणको जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै कम्पनीले लाइफबोय, लक्स, सनसिल्क, क्लोजअप, भीम र रिनलगायतका स्वास्थ्य तथा घरायसी सरसफाइसम्बन्धी सामग्री उपलब्ध गराएको हो । यी सामग्रीले प्रभावित परिवारलाई व्यक्तिगत सरसफाइ कायम राख्न तथा घर वरपरको वातावरण स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले विपद्को कठिन समयमा प्रभावित समुदायको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।

उनले नेपालले चुनौतीपूर्ण परिस्थितिमा पनि धैर्यता र सहनशीलता देखाउँदै आएको उल्लेख गर्दै राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त योगदान गरेको बताए ।

युनिलिभर नेपालले स्वास्थ्य, सरसफाइ तथा सामाजिक कल्याणमा केन्द्रित पहलमार्फत समुदायलाई सहयोग गर्दै आएको जनाएको छ । पछिल्लो सहयोग पनि बाढी प्रभावित समुदायको कल्याणमा योगदान पुर्‍याउने र पुनःस्थापनाको प्रयासलाई समर्थन गर्ने उद्देश्यले गरिएको कम्पनीको भनाइ छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK