Skip to content
LAXMI SUNRISE BANK

प्रभुका सिइओलाई निलम्बन गर्नेबारे बोर्डभित्रै मतभेद, पौडेलको नाम लिँदै एक संचालकको तर्क- ‘कानुन मान्नुपर्छ’, अध्यक्षको राय- ‘राष्ट्र बैंकलाई सोध्नुपर्छ’

अर्थ सरोकार

काठमाडौँ । प्रभु बैंकका सिइओ सुमन शर्मा विरुद्ध अदालतले पक्राउ अनुमति दिएको, सोही अनुसार पक्राउ पुर्जी जारी भएको, उनी विरुद्ध ठगी तथा विश्वासघातमा फौजदारी मुद्दा दर्ता भएको र बैंकको कर्मचारी विनियमावलीले नै यस्तो अवस्थामा बैंकका कोही पनि कर्मचारी स्वतः निलम्बन हुने व्यवस्था गरेको अवस्थामा प्रभु बैंकको बोर्डमा शर्मा स्वत निलम्बन भइसकेकाले कार्यवाहक सिइओ तोक्ने वा अर्को कुनै सिइओ तत्काल ल्याउने विषयमा कुरा उठेको पाइएको छ । बैंकका संचालक समितिका एक सदस्यले बैंकका सिइओविरुद्ध अदालतले पक्राउ अनुमति नै दिइसकेको अवस्थामा कावा तोक्नुपर्ने कुरा उठेको र त्यही क्रममा अर्को सिइओ ल्याउनेसम्मको प्रस्ताव आएको पुष्टि गरे ।

संचालक समितिका ती सदस्यका अनुसार बोर्डमा केही दिन अवस्था हेरौँ भन्ने छलफल भएको छ । सिइओले सोमबार अदालत फेस गर्ने तयारी गरेको र धरौटी खुलेमा, केही समय अघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंककै नजिरलाई टेकेर सुमन शर्मा नै सिइओ रहनेगरी अगाडि बढ्ने र यस विषयमा राष्ट्र बैंकसमेत पोजेटिभ भएकोले सोही अनुसार हुने विषय बोर्डमा उठेको थियो ।

कथम कदाजित, उनी पूर्पक्षका लागि जेल चलान भए भने केही समयका लागि राम रिमाललाई कार्यवाहक सिइओ बनाउने तयारीबारे बोर्डमा छलफल भएको थियो । तर राम रिमाललाई नै तत्काल सिइओ नबनाउने र त्यस्तो अवस्था आए बाहिरबाट सिइओ ल्याउनेसमेतको छलफल भएको थियो ।

सो विषयमा दुई संचालकले जनक शर्मा पौडेलको नामसमेत लिएको संचालकको दाबी छ । ‘दुई जनाले जनक शर्मा पौडेललाई ल्याउनुपर्छ भनेर कुरा उठाउनुभयो । यसको संयोजन बैंकभित्र रविन्द्र ढकालले गर्न सक्ने कुरा पनि उठेको थियो । तर, अहिले त्यहाँसम्म पुग्ने भन्दा पनि, सुमन शर्मालाई कसरी सेफल्याण्ड गरेर बैंकमै फर्काउने कुरामा जोड दिनुपर्ने निष्कर्ष बोर्डको थियो ।

ती संचालकका अनुसार यस्ता केसमा सिइओ पक्राउ हुन नहुने कुरामा राष्ट्र बैंक प्रष्ट छ । आफ्नो क्षेत्राधिकार मिचिएको दाबीसहित राष्ट्र बैंकले सीइओहरुलाई यस्ता केसमा जोगाउने दाबी उनको छ ।

केही संचालकको तर्क-‘स्वीकृत कर्मचारी विनियमावली कसरी मिच्ने ?’
यसो त कर्मचारी विनियमावलीमा भएको व्यवस्थाबारे पनि बोर्ड बैठकमा कुरा उठेको थियो । फौजदारी केसमा कुनै पनि कर्मचारीविरुद्ध मुद्दा दर्ता भएमा सो मुद्दाको अन्तिम किनारा नलागेसम्म निज कर्मचारी स्वतः निलम्बनमा पर्ने व्यवस्था प्रभु बैंकको स्वीकृत कर्मचारी विनियमावलीमा छ । ‘सिइओका लागि छुट्टै विनियमावली नभएको अवस्थामा कानुन मान्नुपर्छ, कसरी मिच्ने ? पछि अर्को अफ्ट्यारो पर्छ भनेर समेत एक संचालकले कुरा उठाउनुभयो । तर, यस विषयमा राष्ट्र बैंकसँग सल्लाह गरेर मात्र अघि बढ्नुपर्ने तर्क अध्यक्षज्यूको आयो ।’ ती संचालकले भने । 

बैंकको रेडिमेड जवाफ- ‘नाइँ मलाई थाहा छैन’
यता बैंकमा नयाँ सिइओ ल्याउनेबारे छलफल भएको, बैंकका सीइओविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमासमेत आफुलाई केही पनि थाहा नभएको तर्क बैंकका सूचना अधिकारी रविन्द्र ढकालको थियो । सीइओविरुद्ध पक्राउ पुर्जी जारी भएपछि काठमाडौँ छाडेका सीइओबारे थाहा नभएको दाबी गर्दै ढकालले भने, ’१३ गतेसम्म अफिसमै नियमित काममा हुनुहुन्थ्यो । अहिले फोर्स लिभमा हुनुहुन्छ ।’ उनले यसो भने पनि सिइओ शर्मा भने हाल पर्सामा लुकेर बसेका छन् । उनी सोमबार अदालत फेस गर्दैछन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK