Skip to content
LAXMI SUNRISE BANK

लगातार दुई खेलमा हारपछि सन्दीपले भने- ‘हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो’

अर्थ सरोकार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले लगातार दोस्रो हार बेहोरेपछि कप्तान सन्दीप लामिछानेले टोलीको कमजोर फिल्डिङ र धैर्यताको कमीलाई हारको मुख्य कारण बताएका छन् । कर्णाली याक्ससँग पराजित भएपछि आयोजित पोस्टम्याच प्रेस मिटमा कप्तान सन्दीपले ब्याटिङ र बलिङमा टोलीले राम्रो सुरुवात गरे पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नसकेको बताए ।

उनले खेलको सुरुवाती चरणमा टोलीको प्रदर्शन राम्रो रहेको र विपक्षीका चार–पाँच विकेट लिइसकेको अवस्थामा पनि दबाब कायम राख्न नसकेको बताए ।

‘हामीले सात–आठ ओभरसम्म एकदम राम्रो गरिरहेका थियौँ। टिमको मोमेन्टम पनि हामीसँगै थियो। चार–पाँच विकेट लिइसकेका थियौँ। तर इनिङ नसकिँदासम्म धैर्य राख्नुपर्ने थियो, जुन हामीले गर्न सकेनौँ ।’, उनले भने ।

सन्दीपले टोलीको सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रहेको स्वीकार गरे । उनका अनुसार टोलीले चारदेखि पाँचवटासम्म क्याच छाडेको थियो। विशेषगरी दोस्रो इनिङमा बलिङ गर्न कठिन अवस्था रहे पनि फिल्डिङमा सुधार गर्न नसक्दा टोलीले त्यसको मूल्य चुकाउनुपरेको उनले बताए ।

‘हामीले आज एकदमै कमजोर फिल्डिङ गर्यौं । टिमका रूपमा चार–पाँचवटा क्याच छाड्यौँ । यस्तो अवस्थामा बलरहरूलाई खासै सहयोग हुँदैन । ड्यु फ्याक्टर थियो, पिचले पनि साथ दिइरहेको थिएन । यस्तो अवस्थामा फिल्डिङमा पनि कमजोर प्रदर्शन हुनु कुनै पनि टिमका लागि स्वीकार्य हुँदैन ।’, उनले भने । उनले समग्रमा टोलीको ब्याटिङ र बलिङ खराब नभए पनि राम्रो प्रदर्शनलाई जितमा बदल्न नसकेको बताए । अघिल्लो खेलमा पनि राम्रो ब्याटिङ गर्दा गर्दै टोलीले विकेट गुमाएको र यस खेलमा पनि विपक्षीलाई खेलमा फर्किने अवसर दिएको उनको भनाइ थियो ।

कर्णालीविरुद्धको खेलमा १८७ रन बनाउनु राम्रो स्कोर भएको उल्लेख गर्दै उनले सुरुवाती चरणमा विपक्षीका विकेट निकालेर पनि त्यसलाई निरन्तरता दिन नसकेको बताए ।

‘हामीले छिट्टै पाँच विकेट लिएका थियौँ। पावर प्लेमा पनि तीन–चार विकेट निकालेका थियौँ । तर त्यसपछि झन्डै १० भन्दा बढी गल्ती गर्यौं । तीमध्ये सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो ।’, उनले भने ।

कर्णालीका सोमपाल कामी, पवन र गुलशन झाको साझेदारी तथा अन्तिम चरणको प्रदर्शनको प्रशंसा गर्दै सन्दीपले विपक्षी टोलीलाई जितको श्रेय दिए ।

सन्दीपले लोकेशको ब्याटिङ प्रदर्शनको पनि प्रशंसा गरे। लोकेशले आफ्नो क्षमतामाथि विश्वास गर्दै चुनौतीपूर्ण अवस्थामा पनि राम्रो प्रदर्शन गरिरहेको उनको भनाइ थियो ।

उनले खेलको अन्तिम चरणसम्म पनि आफूले टोलीलाई जिताउन सक्ने विश्वास राखेको बताए । दोस्रो इनिङमा बलिङ गर्न कठिन भए पनि आफू खेल जिताउने योजनासहित मैदानमा रहेको उनको भनाइ थियो ।

‘मलाई अन्तिम ओभरसम्म पनि यो खेल टिमका लागि जिताउन सक्छु भन्ने विश्वास थियो । आठ ओभर बाँकी हुँदा पनि म संघर्ष गर्न तयार थिएँ । तर क्रिकेटमा यस्ता क्षणहरू आउँछन् । खेलले हामीलाई सिकाएको छ ।’, उनले भने ।

सन्दीपले हारका बाबजुद टोलीले समग्रमा राम्रो क्रिकेट खेलिरहेको दाबी गर्दै आगामी खेलमा गल्ती सुधार गर्ने संकेत गरे । उनले कर्णाली याक्सलाई जितका लागि बधाई दिँदै क्रिकेटमा एउटा टोलीले जित्ने र अर्कोले हार्ने भएकाले विपक्षीलाई श्रेय दिनुपर्ने बताए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK