भाद्र ११, २०७२- अदालतको कठघरामा उभ्याइदासम्म उनी निकै डराएकी थिइन् । होचो कद र पातलो शरीरकी उनको अनुहारलाई बुर्काले ढाकेको थियो । आँखा मात्रै देखिन्थ्यो । न्यायाधीशले बयान लिन अनुमति दिएपछि दोभाषे बाराका केदारनाथ खरेल अगाडि गएर उभिए ।
‘तिमीलाई बलात्कार भयो भनेर प्रहरीले मुद्दा दायर गरेको छ,’ कुबेती वकिलले भनेपछि अरबी भाषालाई नेपालीमा अनुवाद गर्दे खरेलले उनलाई प्रश्न गरे, ‘बलात्कार कसरी हुन गयो ?’
२७ बर्षीया युवतीले तुरुन्तै जवाफ दिइन् । जब उनले जवाफ दिन थालिन् उनका आँखाबाट आँशुका ढिक्का खस्न थाले । अदालतभरी उनको सुँक्क सुँक्क आवाजमात्रै सुनियो । टाउको छोपेको सलले उनले आँखा र मुख छोप्न थालिन् । तर, पीडालाई लुकाउन सकिनन् । उनको रुवाईको आवाज झन् बढ्यो । उनको रुवाईले अदालत स्तब्ध भयो ।
केहीबेरका लागि अदालती सुनुवाई पनि प्रभावित भयो । न्यायाधीशदेखि अन्य उपस्थित ब्यक्तिहरु स्तब्ध थिए । निकैबेर अदालतमा उनको सुक्क सुक्क मात्रै सुनियो । बाँकी अदालत मौन रह्यो । मौनता चिर्दै फेरि खरेल बोले, ‘बहिनी डराउनु पर्दैन । तिम्रो साथमा हामी छौं । साँचो कुरा बताइदेऊ ।’
उनले आँशु पुछिन् । ‘दिनभरिको कामले थाकेर चल्न पनि नसक्ने भएर म सुतिरहेको थिएँ,’ बल्ल उनको ओठ चल्यो, ‘केही गहुँगो बस्तु आएर थिचेजस्तो लाग्यो ।’ त्यो गहु्रङगो वस्तु उनले काम गर्ने घरको मालिक्निको छोरा थियो । ‘म चिच्याउन खोजें, उसले मेरो घाँटी थिच्यो,’ यति भनेर उनी फेरि रोइन् । उसले उनलाई कराए मारिदिने धम्की दियो । ‘म ऊसामु आत्मसमपर्ण गर्न बाध्य भएँ,’ उनले भनिन् ।
खरेलले उनको बयानलाई जस्ताको तस्तै अरबीमा न्यायाधीश सामु बताइदिए । उनलाई पटकपटक ज्यान मार्ने धम्की दिएर बलत्कार गरिएको थियो । दुई तले घरको छतमा उनको कोठा थियो । कोठामा चुकुल थिएन । मालिक्नीका अरु पनि छोरा थिए । केही पहिले अर्को छोराले पनि उनको कोठामा छिर्ने प्रयास गरेको थियो । त्यतिबेला मालिक्नीले थाहा पाएर छोरालाई गाली गर्दै लगेकी थिइन् ।
घरेलु कामदारका रुपमा सात महिना अघि मात्रै उनी कुबेत आइपुगेकी थिइन् । श्रीमानले दोश्रो बिबाह गरेपछि दुई छोराछोरीलाई पाल्न उनी हाउसमेड बनेकी थिइन् । त्यस घरमा आठ भाई छोरा, एक छोरी र बुढाबुढी थिए । बलात्कार हुनेबित्तिकै प्रहरीमा उनको मुद्दा दर्ता भएको थिएन । बिरामी भएर परिक्षण गर्न जाँदा गर्भवती भएपछि अस्पताल प्रशासनले प्रहरीको जिम्मा लगाएको थियो । त्यही उनले प्रहरीलाई आफ्नो बलत्कार भएको बताएकी थिइन् ।
तीन दिनसम्म सुनुवाई भएपछि अदालतले सुनुवाईको अर्को तारिख दिएको छ । बलात्कृत नेपाली युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ । बलत्कारी कुबेती युवालाई अनुसन्धानको लागि प्रहरीले थुनेको छ ।
कुबेतस्थित नेपाली दुताबासले कुबेत प्रहरीले नै मुद्दा हेरेकोले पीडित आफुहरुको सम्र्पकमा नआएको जनाएको छ । ‘थप बुझेर पीडितलाई न्याय दिलाउने काम हामी गर्नेछौं,’ कुबेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमालले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्