
सङ्घीयताका नाममा झडप हुँदा भदौ ७ गते सोमबार दिउँसो कैलालीको टीकापुरमा नेपाल प्रहरीका उच्च अधिकृतसहित सुरक्षाकर्मीहरू तथा स्थानीयवासी गरी २० जनाभन्दा बढीको मृत्यु भएको खबरले जीउ नै सिरिङ्ग भइरहेको बेला एउटा फोन आयो । फोनमा आफ्नो परिचय दिइसकेपछि उनले भनिन्— दिदी व्यस्त हुनुहुन्छ, अहिले नै समय लिऊँ भनेर हो । हामी अर्को हप्ता तिजको कार्यक्रम गर्दैछौँ, विशिष्ट अतिथिका रूपमा दिदी आइदिनुप-यो । प्रमुख अतिथिमा (एक नेतृको नाम लिँदै) उहाँलाई बोलाउँदै छौँ । मैले भनेँ– तिज आउन त अझै धेरै दिन बाँकी छ नि होइन र ? उनले भनिन्– हो, तर अन्त पनि मनाउनुपर्छ, हामीचाहिँ अलि चाँडै गरूँ कि भनेर । बहिनी आज कैलालीमा त्यतिका सुरक्षाकर्मी र अन्यको ज्यान गएको कुराले मलाई धेरै डिस्टर्व बनाएको छ भन्दै पछि कुरा गरौँला नि है भने । उनले अलि रिसाएको स्वरमा भनिन्– दिदी हामीले अतिथि नै त बनाउन खोजेका हौँ, कति अप्ठ्यारो मान्नुभएको ?कार्यक्रम लामो हुदैन, तिन चार जनाले बोलेपछि मज्जाले नाँच्ने हो, झडप त यस्तै त हो नि भइरहन्छ नि (शायद उनलाई घटनाको बारेमा थाहा थिएन) । त्यही त आज पनि नेपाल बन्द छ होइन त बहिनी भन्दै मैले भनेँ– यस्तो बेलामा रमाइलोचाहिँ कसरी गर्न मन लाग्छ ? भन्नुस् त ? नाँचेर खुशी मनाउनु पर्ने के छ र त्यस्तो? । जवाफमा केही नभनी खबर पाऊँ न है दिदी भन्दै उनले फोन राखिन् । उनी एउटा महिला समूह, सहकारी र मासिक पत्रिकासँग पनि सम्बद्ध छिन् ।