
राजधानीको जमलबाट लैनचौरतर्फ अघि बढ्दा कान्तिपथस्थित ज्योति भवनको ठीक अगाडि एउटा सानदार होटल छ । मधुर बोर्डमा लेखिएको छ ‘होटल माउन्टेन’ । जसलाई ‘थ्री स्टार’ होटलको समेत उपमा दिइएको छ । होटलको बजारभाउ एक अर्ब भन्दा बढी पर्छ । होटलका आधिकारिक प्रबन्धक संचालक रविन्द्रमान मल्ल हुन् । उनकै नाममा ‘होटल माउन्टेन प्रालि’ दर्ता छ ।
नाफा कमाउने अधिकार उनैलाई हुनुपर्ने हो, तर होटलबाट आउने नाफा चर्चित गुण्डा नाइकेको रुपमा चिनिएका गणेश लामाले खान्छन् । पछिल्लो समय राजनीतिमा लागेर सुध्रिएको बताउने लामाले ३ वर्ष अघिदेखि होटल कब्जामा लिएर नाफा लिँदै आएको खुलासा भएको हो ।
यस्तो छ रामकहानी
mt4दरबार मार्गमा ‘मिटर ब्याज’मा पैसा खेलाउने राजाराम शाखः उर्फ ‘टाइसन’ बाट होटल सञ्चालक रविन्द्र मल्लले ३० लाख रुपैंया ऋण लिएका रहेछन् । सोही ऋणको ब्याजसहित मल्लले ५० लाख दिने गरी कागज गरेछन् । तर समयमै तिर्न नसकेपछि टाइसनलाई गणेश लामाको रोहवरमा एक करोड रुपैयाँ तिर्नुपर्ने कागज गराएछन् । यता टाइसनले गणेश लामालार्ई ३० लाख दिनुपर्ने रहेछ । सोको ब्याजको हिसाबसहित टाइसनले मल्लको ऋणलाई गणेश लामातिर ट्रान्सफर गरेछन् । त्यसपछि लामाले सोही मौकामा होटल लिजमा लिने कुरा अगाडि बढाए । ‘तपाईंको होटल म लिजमा लिन्छु । तपाईंले तिर्नुपर्ने पैसा पनि एडभान्स भयो’ गणेश लामाको भनाई उदृत गर्दै मल्लले भने, ‘गणेशको सोही भनाईपछि सम्झौता हुने कुरा भयो ।’
लामाले सम्झौताको लागि नेपाल प्रहरीका पूर्व डिएसपी मायाकुमार शाहलाई अगाडि ल्याए । शाह लामाको व्यापारिक साझेदार भएको बुझिएको छ । आफू प्रत्यक्ष देखिँदा समस्या हुनसक्ने आँकलन गर्दै उनले व्यापारिक साझेदार शाहलाई अगाडि ल्याएका थिए ।
१ आसोज २०६९ मा होटल सञ्चालक रविन्द्र मल्ल र त्रिवेणी इन्टरनेसनल प्रालिका तर्फबाट मायाकुमार शाहबीच लिज सम्झौता भयो । सम्झौतामा शाहले मल्ललाई मासिक रुपमा १० लाख रुपैंया दिने तथा सम्झौतापछिको सबै कर, तलव उपदान लगायतको खर्च दोस्रो पक्ष भनिएको मायाकुमार शाहले बेहोर्ने कुरा भयो । यद्यपी सहमतिको आधिकारिक ‘सम्झौतापत्र’को पहिलो पक्ष रवीन्द्र मल्ललाई दिइएन ।
सम्झौता मायाकुमार शाहसँग भएपनि सञ्चालनको जिम्मेवारी भने गणेश लामाले लिएका थिए । होटलबाट आउने आम्दानी गणेशकै खातामा जम्मा हुन्छ । होटलको म्यानेजमेन्टको जिम्मा लामाकै साला भनिने गणेश लामालाई दिइयो । होटल सञ्चालक मल्लले सोही सम्झौता बमोजिम गणेशसँग सम्पर्क गर्न थाले । मल्लले आफ्नो पाउनुपर्ने रकम माग्दा गणेशले भरेभोलि दिने भन्दै टारिरहे । सप्लायर्स, भ्याट, तथा बिजुलीको रकम समेत लामाले भुक्तानी गरेनन् । ‘होटलबाट आउने रकम सबै उहाँ ‘गणेश’ को एकाउन्टमा जम्मा हुन्छ’ मल्लले भने, ‘घाटा जति सबै मेरो नाममा गयो पानी बिजुली, सप्लायर्स सबै मैले तिर्नुपर्ने भयो ।’
मल्लका अनुसार सप्लायर्सको ६० लाख रुपैयाँ तिर्न बाँकी छ । जसमा आम्दानीको राजश्व कर मात्रै ४० लाख तिर्नु बाँकी छ । तर लामाले अहिलेसम्म कर, बिजुली सप्लायर्सबारे चासो नै देखाएका छैनन् । कर्मचारीलाई तलव नदिएको ३ महिना भइसकेको छ ।
होटलका मालिक मल्ल पनि सोही होटलमा बस्छन् । आफैंले होटलको कोठा प्रयोग गरेबापत हालसम्म ६२ लाख बिल तिरेको मल्लको दाबी छ ।
यसरी आफ्नै होटल लामाले कब्जा गरेर ३ वर्षसम्म आम्दानी लिँदासमेत मल्ल बोल्न समेत सकेका थिएनन् । ‘मलाई उजुरी गर्न पनि गाह्रो भयो’ मल्ल भन्छन्, ‘म एक्लै छु, उनीहरुसँग दुई÷चार हजारमा काम गर्ने मान्छे धेरै छन् ।’
कृषि विकास बैंकबाट ऋण लिएर होटल सञ्चालन गरेका मल्लको सम्पत्ति लिलामीको लागि सो बैंकले सुचना निकालेको छ । सूचनामा गत २८ असारमा होटल लिलाम हुने उल्लेख छ । तर, यद्यपी होटल गणेश लामाले संचालन गरेको थाहा पाएपछि लिलामी गर्न बैंक समेत पछि हटेको छ ।
यसैबीच, होटलको बहाल सम्झौतामा दोस्रो पक्ष भनिएको मायाकुमार शाहले गणेशलाई होटल संचालन गर्न नदिएको दाबी गरे । ‘होटल संचालन गर्न मैंले गणेशलाई दिएको होइन’ शाहले भने, ‘हाम्रो व्यवहार हामी मिलाउँछौं ।’
गणेशसँग मेरो कुनै दुष्मनी छैन :मल्ल
गणेश लामासँग मेरो कुनै दुष्मनी छैन । पाउनुपर्ने मैले पाउनुपर्छ, होइन भने यो होटल छोडेर जानुपर्छ । हामीले उसलाई बहालमा दिएको हो । मैले कुनै अपराध गरेको छैन । दुई चार पैसा आउँछ भनेर लिजमा दिएको हो । तर उहाँले दिनुभएन । कि उहाँले छोड्नुपर्यो, की सम्झौता अनुसार ३ करोड ६० लाख रुपैयाँ मलाई दिनपर्यो । म अन्यायमा पर्दा यहाँको कर्मचारीले समयमा तलब पाएका छैनन् । उनीहरुले खान पाएका छैनन् । कर्मचारीको कोषमा १९ महिनादेखि रकम जम्मा गरिएको छैन । कर्मचारीले दशैं भत्ता पाएका छैनन् ।
यो होटलले निकै तनाव दिइसक्यो : गणेश लामा
त्यो होटल सञ्चालनमा मेरो नाम छैन । तर मैले भाडामा चलाएको छु । मैले गरेर खान पाउनुपर्छ । उहाँको पनि व्यबहार विग्रेको छ । होटल घाटामै छ । मलाई अहिले लाग्छ त्यो होटल चलाएकोप्रति धिक्कार छ । त्यो होटल कब्जा गरेर मैलें चलाएको पुष्टि गरे कानुन अनुसार मलाई कारवाही गरे हुुन्छ ।
मलाई यो होटलले निकै तनाव दिइसक्यो । मैले यो होटलबारे रविन्द्र दाईलाई पटक–पटक सम्पर्क गरेर मिलाउनुपर्छ भनेको छु । तर, दाई सम्पर्कमा आउनुहुन्न । ‘दाई तपाईं जिम्मा लिनुस् चलाउनुस् भनेको छु, तर दाई भेट्नसमेत चहानुहुन्न ।’
मैले चलाउने बेला यो होटल पूरै घाटामा थियो । बिग्रिएको व्यापार मैले सम्हालेको हुँ यसको लागि उहाँले मलाई धन्यवाद दिनुपर्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्