
काठमाडौँ, २७ साउन । प्रधानमन्त्री सुशील कोइरालाले सङ्घीयताको सीमाङ्कनको विषयलाई लिएर भइरहेको आन्दोलन फिर्ता लिन सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।
सुर्खेतलगायत मध्य र सुदूरपश्चिमाञ्चल क्षेत्रमा भइरहेको आन्दोलनप्रति चासो जनाउँदै प्रधानमन्त्री कोइरालाले अहिलेको अवस्थामा मुलुकले कुनै पनि आन्दोलन, तोडफोड र हिंसा थेग्न नसक्ने भन्दै लामो सङ्घर्षपछि प्राप्त परिवर्तनलाई संस्थागत गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान रेडियो नेपालको भूकम्पपीडितलाई सहयोगार्थ रकमको चेक ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “सङ्घीयताको कतिपय कुरा टुङ्गेकै छैन, तर आन्दोलन र आक्रोश बढेको छ, हिंसात्मक घटना हुनु दुःखद हो । यसले नकारात्मक सन्देश गएको छ । जनताको मागप्रति चार दलका शीर्षनेताले सम्बोधन गर्ने प्रतिबद्धता जनाइसकेका छौँ । मुलुकमा अमनचयन कायम गर्न र समस्त जनताले चाहेका हकअधिकारलाई संस्थागत गर्न आन्दोलन फिर्ता लिन आन्दोलनरत पक्षलाई विनम्र अनुरोध गर्दछु ।” रासस