
कैलाली, भदौ ७ ।
कैलालीको टीकापुरमा थरुहट आन्दोलकारीको आक्रमणबाट सोमबार कम्तिमा ८ जना प्रहरीको मृत्यु भएको छ ।कैलालीको मुनुवा गाविस–६ सिलम चौराहमा कर्फ्यु तोडेर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीको आक्रमणबाट सेती अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरीको मृत्यु भएको हो ।
मृत्यु हुने अन्य प्रहरीहरुमा प्रहरी निरीक्षकद्धय बलराम विष्ट र केशव बोहरा, हवल्दार केशव जोशी, जवानहरु लोकेन्द्र चन्द, तेजबहादुर खड्का, सशस्त्र प्रहरीका हवल्दारद्धय रामविहारी चौधरी र ललित साउद रहेका छन् ।प्रदर्शनकारीले भाला, बन्चरोलगायतका घरेलु हतियार प्रहार गरी प्रहरीको हत्या गरेको प्रहरीले बताएको छ । घटनामा दर्जनौं प्रहरीहरु घाइते भएका छन् भने उनीहरुलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
अञ्चल प्रहरी प्रमुख न्यौपानेले भीडलाई सम्झाइरहेको बेला पछाडिबाट भाला प्रहार गरिएको बताइएको छ ।यस्तै, सशस्त्र प्रहरीका हबल्दार रामविहारी चौधरीलाई जिउँदै आगो लगाइएको थाहा भएको छ ।
आक्रमणकारीले स्थानीय नेत्रबहादुर साउदको घरमा प्रवेश गरी उनका दुई वर्षीय छोराकोसमेत गोली हानी हत्या गरेका छन् । साउदका भाइ सशस्त्र प्रहरीमा रहेको बताइएको छ ।