
प्रेम र त्यसपछिको आनन्दले मृत्युको संघारमा पुर्याउँछ भन्ने थाहा थिएन बुइपा–४ की १५ वर्षीया सुनिता राईलाई । महेन्द्रोदय उच्चमावि हलेसीस्थित कक्षा ८ मा अध्ययरत सुनिता मंगललटार–९ का १९ वर्षीय दीपेन्द्र राईसँग प्रेम बन्धनमा गाँसिएपछि यतिखेर जिल्ला अस्पताल खोटाङको बेडमा मृत्युसँग लडिरहेकी छन् ।
दीपेन्द्रसँगको प्रेम सम्बन्धपछि सुनिता गर्भवती भइन् । त्यसपछि आफ्नो पेटमा हुर्कँदै गरेको करिब तीन महिनाको गर्भ फाल्न प्रेमी दीपेन्द्रले आग्रह गरे । सँगै मर्ने र सँगै बाँच्ने वाचा गरेको प्रेमीको आग्रह अस्वीकार गर्न नसकेर सुनिताले प्रेमीले दिएको गर्भ फाल्ने औषधि खाइन् । औषधि खाएपछि अत्यधिक रक्तस्राव भयो र त्यसैले सुनिता मृत्युसँग लडिरहेकी हुन् । ३२ साउनमा जिल्ला अस्पताल खोटाङमा भर्ना भएकी सुनिताको अवस्था गम्भीर रहेको अस्पतालका प्रमुख चिकित्सक माधवप्रसाद लम्सालले बताए ।
चिकित्सक लम्सालका अनुसार अत्यधिक रक्तस्रावका कारण सुनिताको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । भर्ना भएको चार दिनपछि अस्पतालले थप उपचारका लागि पठाए पनि उडान अवरुद्ध र परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सुविधा सम्पन्न ठाउँमा उपचारमा लैजान सकेका छैनन् । सुनितालाई मायाजालमा फसाएर गर्भ फाल्ने औषधि खुवाउने दीपेन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । दीपेन्द्रलाई कारबाही गर्नुको साटो सुनिताको उपचारमा भएको सम्पूर्ण खर्च बेहोराउने पक्षमा सुनिताको आफन्त लागिपरेका छन् ।
सुनिताका काका हिमाल राईका अनुसार आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च खेपाउनुका साथै सुनितालाई जिम्मा लगाउने तयारी गरिएको छ । पक्राउ परेका दीपेन्द्रले सुनिताको उपचार खर्च बेहोर्नुका साथै विवाह गर्ने बताएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी विद्यानन्द माझीले बताए । उनले भने, ‘सुनिताको कम उमेर भएकाले सहमतिमा गर्भपतन गर्ने औषधि खुवाएको दीपेन्द्रले स्वीकारेका छन्, त्यसैले पीडित सुनिताको आफन्तको कुरा बुझेर कारबाही अगाडि बढाइनेछ ।’
त्यसो त जिल्लामा भएको यो प्रतिनिधि घटनामात्र हो । पछिल्लो समय जिल्लामा यस्ता थुप्रै घटना भएका छन् । गाउँमा गर्भपतनका लागि औषधि सेवन गर्ने र पार नलागेपछि जिल्ला अस्पताल आउने गरेको प्रमुख चिकित्सक लम्सालको भनाइ छ ।
‘गाउँमा गर्भपतनका लागि जथाभावी औषधि सेवन गर्ने र पार नलागेपछि अस्पताल आउनेको सङ्ख्या मासिक पाँच/छ जना हुन्छ,’ लम्सालले भने, ‘अस्पतालमा वैधानिक तवरले सुरक्षित गर्भपतन गर्ने सुविधा हुँदाहुँदै जथाभावी गर्भपतन गराउनाले ज्यान जोखिममा परेको छ ।’ उनले थपे, ‘अस्पतालमा गोपनीयता नहुने भन्ने भ्रम छ, त्यो निराधार हो, यसका लागि गाउँगाउँमा सूचना दिनु जरुरी छ ।’
स्रोतका अनुसार निजी क्लिनिक सञ्चालकले एकपटक गर्भपतन गरिदिएबापत ५० हजार रुपैयाँसम्म लिएको तथ्य खुलेको छ । जिल्लामा १९ निजी क्लिनिक सञ्चालनमा छन् । प्रत्येक क्लिनिकबाट प्रतिदिन पाँच/छ गर्भ रहन नदिने इकोन बिक्री हुने गरेको क्लिनिक सञ्चालकले बताए ।-nepalese.org