×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिकापुरमा प्रहरीलाई पानी दिएको रिसमा डेढ वर्षे बालकको हत्या गरिएको खुलासा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

टिकापुरमा प्रहरीलाई पानी दिएको रिसमा डेढ वर्षे बालकको हत्या गरिएको खुलासा !

Artha Sarokar

१३ भाद्र २०७२, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

कैलाली, १२ भदौ- मेरो डेढ वर्षको अबोध बालकको के दोष, किन मार्नुपरेको होला सर ?  टीकापुरमा गत सोमबार भएको घटनामा मृत्यु भएका बालक टेकबहादुरकी आमा यशोदा साउद सबैसँग यसरी नै प्रश्न गरिरहन्छिन् ।

गहभरि आँसु निकाल्दै उनले माग गरिन्, समाज र संसारका बारेमा अनभिज्ञ रहेको मेरो छोराको हत्यारालाई फाँसीको सजाय हुनुपर्छ र छोरालाई सहिद घोषणा गर्नुपर्छ ।

टीकापुरमा डेढ वर्षीय बालक र आठ प्रहरीको निर्ममतापूर्वक हत्या भएको घटनाप्रति यतिबेला स्थानीयवासी आक्रोशित पनि छन्, चिन्तित पनि देखिएका छन् ।

दिउँसो भएको घटनामा डेढ वर्षीय बालक टेकबहादुरको प्रदर्शनकारीले चलाएको गोली लागेर मृत्यु भएको प्रत्यक्षदर्शी मनसरा भण्डारीले बातइन् । ‘विगतको सङ्कटकालमा समेत यस्तो घटना देखेनौँ, त्यतिबेला पुलिस लडाईंमा मर्दा पनि यो ढङ्गले मारिएको सुनेनौँ,’ भण्डारीले बताइन् ।

प्रहरीसँग लडाईं भइसकेको एक घन्टापछि बाहिर आँगनमा छरछिमेकका बच्चाहरुसँगै खेल्दै गरेको अवस्थामा बालकको टाउकोमा गोली लागेको बालककी फूपू दुर्गा कठायतले जानकारी दिइन् । ‘नारा लगाउँदै आएको भीडले चलाएको गोली सिधै टाउकोको पछाडिको भागमा लागेर बालक भुइँमै ढल्यो, कठायतले भनिन् ।

घरदेखि झन्डै सातसय मिटर दक्षिणतर्फ रहेको पशुहाट बजार चोकमा सुरक्षाका लागि खटिएका प्रहरीहरुलाई घेरा हालेर आक्रमण गरिसकेपछि आत्मसुरक्षाका लागि लखतरान् हुँदै बालकको घर नजिकको खेतबारीमा बाँचेका प्रहरीहरु पुगेका थिए । त्यसैबेला घरको अर्को दिशाबाट थरुहट प्रदर्शनकारीहरुको भीड पनि आइपुगेको थियो । सहकर्मीकै घर भनेर आएका प्रहरीले पानी मागेपछि घरको झ्याल खोलेर दुईरतीन पानीका बोतल उनीहरु भएतिरको खेतमा फ्याँकिदिएको बालककी आमा साउदले बताइन् । दुश्मनले पनि पानी मागेपछि दिनुपर्छ भन्ने मान्यता रहेको अवस्थामा प्रहरीलाई पानी दिएकै निहँुमा प्रदर्शनकारीहरुले आफ्नो घरतर्फ गोली चलाएको आशङ्का उनको छ ।

मृतक बालकका बुबा घरदेखि करिब दुई किलोमिटर टाढा टीकापुरमै रहेका सशस्त्र प्रहरी बलको उग्रतारा गणका प्रहरी हवल्दार हुन् । घटना सुनेपछि घर आएका बालकका बुबा नेत्र साउद छोरा मारिएपछि अहिले कार्यालय गएका छैनन् ।

साउदको परिवार घटनापछि विस्थापित भएर अहिले टीकापुर बजारमा रहेको एक होटेलमा भाडामा बसिरहेको छ । छोराको हत्यापछि मन थाम्न नसकेर यशोदा साउद बेहोस भएकी थिइन् ।

घटनाको चार दिनपछि मात्रै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायतका सरकारी सुरक्षा अधिकारीले भेटेपछि आफ्नो आत्मामा थोरै शान्ति मिलेको अनुभव उनले सुनाइन् । अर्यालसहितका सुरक्षा अधिकारीहरुले बिहीबार पीडित साउदको परिवारलाई भेटेर समवेदना दिएका थिए ।

यसअघि प्रदर्शनकारीहरुले गरेको आक्रमणबाट स्थानीय पशु हाटबजार चोकमा खटिएका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहितका प्रहरीहरुको मृत्यु भइसकेको थियो । निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिन सम्झाइबुझाई गरिरहेकै अवस्थामा भएको आक्रमणबाट न्यौपानेसहितका प्रहरीको ज्यान गएको थियो ।

थरुहटका प्रदर्शनकारीले त्यो दिन टीकापुरको पशुहाट बजार क्षेत्र रणभूमि नै बनाएको स्थानीयवासीले बताएका छन् । ‘एकसाथ आक्रमण भएपछि न्यौपाने आत्मरक्षाका लागि स्थानीय सीता बर्माको घरको कोठामा लुक्ने प्रयास गर्दै थिए, स्थानीयले डराई डराई नाम नभन्ने सर्तमा भने –ढोकाको चुकुल लगाउन नपाउँदै भित्रबाट तानेर भाला, लाठी इँटाले हानेर उनलाई मारियो । उनीहरुले दुईजना प्रहरी निरीक्षकलाई घर नजिकैको धान रोपेको खेतमा लगेर आक्रमण गरिरहँदा अन्य प्रहरीलाई घर बाहिरको चौरमा कुटपिट र आगो लगाएर हत्या भएको घटना विवरण पनि सुनाए ।

आ–आफ्नो प्रदेश माग्ने नाममा भएको हिंसात्मक प्रदर्शनका क्रममा भएको घटनामा परी टीकापुरमा आठ प्रहरीसहित एक नाबालक मारिएको घटनाको त्रास यहाँ अझै सेलाउन सकेको छैन ।

घटनापछि सबै उमेरका सर्वसाधारणमा सन्त्रास फैलिएको छ । विद्यालय पढ्ने उमेरका बालबालिकामा यो घटनाले नराम्रो असर पारेको देखिन्छ ।

घटनापछि उत्पन्न वातावरणले बालबालिकामा मनोवैज्ञानिक त्रास फैलिएकाले अवस्था सहजीकरण गर्नु आवश्यक भइसकेको स्थानीय शिक्षक हेमराज तिमिल्सेना बताउँछन् ।

लगातार १९ दिनदेखिको बन्द र त्यसपछि भएको यो घटनाबाट स्थानीय जनजीवन निकै कष्टकर बनेको छ ।

 घटनापछि कुनै तोडफोड, हिंसा हुन नपाई शान्ति सुरक्षाको अवस्थामा सुधार आएपनि जनजीवन भने सामान्य अवस्थामा फर्किन सकेको छैन । लगातारको बन्दसँगै भएको घटनाकै दिनदेखि जारी गरिएको निषेधाज्ञा (कफ्र्यु) यथावत् छ ।

सर्वसाधारण घटनापछि त्रासमा बाँचिरहेका मात्र नभई बजार क्षेत्रमा यतिबेला साग, तरकारी, दाल, चामल पिठो, दूधलगायतको दैनिक उपभोग्य सामग्रीको चरम अभाव देखिएको छ ।

घटनाको दोस्रो दिन नै सरकारले शान्ति सुरक्षाको व्यवस्थापन गर्न नसकेको भन्दै कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठसहित सुदूरपश्चिम क्षेत्रका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षकहरुको हेरफेर गरेको थियो । कैलालीका प्रमुख जिल्ला अधिकारीमा मोहनबहादुर चापागाईंलाई पठाइएको छ ।

एकै देशका नागरिकबीचको यस्तो द्वन्द्वको अन्त्यका लागि निर्वाचनमार्फत चुनिएर गएका सभासद्, राजनीतिक दलका नेताहरु, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार सबैको संयुक्त प्रयासको आवश्यकता टड्कारो रुपमा देखिएको स्थानीयवासीको भनाइ छ । –सिद्धराज भट्ट

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी