
आज बिहान परेको भीषण पानीका कारण आएको बाढीले भक्तपुर र मध्यपुर थिमि पूरै डुबानमा परेको छ । हनुमन्ते खोलामा आएको बाढीका कारण खोला आसपासका क्षेत्रहरुको जनजीवन निकै प्रभावित भएको छ । भक्तपुरको बस्तीमा बिहान ५ बजेदेखि र मध्यपुर थिमिमा बिहान नौ बजेदेखि बाढीको पानी पसेपछि धेरैले भागेरै ज्यान जोगाएका छन् ।
बाढी बस्तीभित्र पसेपछि अरनिको राजमार्ग, अस्पताल, विद्यालय, भूकम्पपीडितका अस्थायी शिविर, जगाती–च्याम्हासिंह क्षेत्र, भेलुखेल, राममन्दिर, बाराहीस्थानका घरहरु डुबानमा परेका छन् । भक्तपुर नगरपालिकास्थित महेश्वरी खेल मैदानमा रहेको भूकम्पपीडितको ८५० जना बस्दै आएको शिविर पूरै डुबानमा परेपछि बिहानैदेखि भागदौड मच्चिएको थियो ।
“बिहान ५ बजे सुतिरहेको शिविरमा एक्कासि पानी पसेपछि भूकम्पपीडितबीच भागदौड मच्चियो”, शिविरमा बस्दै आएकी राधिका त्वातीले भन्नुभयो – “कोही बच्चा बोकेर दौडिए, बूढाबूढीलाई कसैले घिसार्दै दौडिए, शिविरका केही सामान झिक्न पाइएन, ज्यान जोगाउनै मुस्किल प¥यो ।” शिविरको बस्तीमा बसेका भूकम्पपीडितले कुनै सामान झिक्न पाएनन् भने नेपाली सेना र प्रहरीले शिविरका धेरैलाई उद्धार गरेका थिए । खोलाको बाढी सडक हुँदै बस्तीमा पसेपछि यस क्षेत्रका घरहरु एकतलासम्म डुबानमा परेका थिए । लत्ता कपडा र ओछ्यान डुबेपछि शिविरका बासिन्दाको बिचल्ली भएको छ ।भक्तपुर नगरपालिका भएर बग्ने हनुमन्ते खोला क्षेत्र आसपासमा जगाते– च्यामासिंह सडकखण्डका दायाँबायाँका बस्ती, महेश्वरी क्षेत्र, हनुमानघाट, भेलुखेल, राम मन्दिर क्षेत्र, बाराही स्थान, सल्लाघारी, सिर्जनानगरका सयौँ घर, पसल एवम् कारखाना डुबानमा परेका छन् ।
भक्तपुरको शान्ति निकेतन मावि, शारदा प्रावि, बालसेवक निमावि, ब्राइटस्टार, परोपकारको भवन डुबेपछि पढाइसमेत अवरुद्ध भएको छ भने बाढीले सडक अवरुद्ध बनाएपछि धेरै विद्यालयको पढाइ प्रभावित भएको छ । भक्तपुरकै सिद्धिस्मृति अस्पताल, इवामूरा अस्पताल डुबानमा परेपछि बिरामीको उपचार समेत प्रभावित भएको छ । इवामुरा अस्पतालमा पानी पसेर डुबानमा परेपछि आकस्मिक सेवा र ओपिडी सेवा र कलेज नै बन्द गर्नुपरेको अस्पतालका प्रबन्धक रञ्जीत मारिकुले जानकारी दिनुभयो । त्यसैगरी, सिद्धिस्मृति अस्पताल पौडी पोखरीमा परिणत भएपछि उपचार प्रभावित भएको छ ।
अस्पतालको एम्बुलेन्सदेखि इमर्जेन्सीसम्म डुबानमा परेको छ भने, अस्पतालको भुइँतला सबै डुबानमा परेपछि उपचारसमेत प्रभावित भएको अस्पतालका प्रमुख श्यामसुन्दर धौभडेलले जानकारी दिनुभयो । अस्पतालको जेनेरेटरदेखि प्राविधिक सामग्रीहरु डुबानमा परेपछि रु दुई करोड बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो । यता बिहान ९ बजे मध्यपुर थिमिमा बाढी पसेपछि यहाँका तीन सय ५० घर डुबानमा परेका छन् । बिहान ९ बजे बस्तीमा बाढी पसेपछि यहाँका बासिन्दा ज्यान जोगाउँदै भागेका छन् भने धेरै मानिस माथिल्लो तलामा गएर बसेका छन् ।
मध्यपुर थिमि नगरपालिका क्षेत्रको निकोसेरा, राधेराधे, चक्रवर्ती मार्ग पूरै डुबानमा परेको छ । चक्रवर्ती मार्गका स्थानीय बासिन्दा राधिका थापाले खाना खाएर बच्चालाई विद्यालय पु¥याउन जाँदासम्म केही नभएको तर बच्चालाई स्कुल पु¥याएर आउँदा घर एक तला डुबिसकेको बताउनुभयो । राधेराधे बस्ने दुर्गा खड्काले बस्तीको पहिलो तला पूरै डुबानमा परेपछि धेरैले घर छाडेर निस्केको, केही घरको माथिल्लो तलामा गएर बसेको बताउनुभयो ।
बस्तीमा घरभित्र परेका बच्चालाई प्रहरी वृत्त थिमिका प्रहरीले उद्धार गरेर बाहिर निकालेका थिए । बिहान ११ बजेसम्म मध्यपुर थिमि क्षेत्रमा पानीको सतह बढ्दै गएको थियो । वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको पलाँसेमा पहिरो जाँदा करिब पाँच घन्टा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा उपत्यकाबाट रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायतका जिल्ला जाने सवारी साधन र उताबाट उपत्यका आउने सवारी साधन बीचमै रोकिँदा सयौँ यात्रु अलपत्र परेका थिए । डोजरले पहिरो पन्छाएपछि सडक ९ बजे खुलेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्