
काठमाडौं, १२ भदौ । दुई गुन्डा नाइके दिनेश अधिकारी चरी र कुमार घैंटे प्रहरी इन्काउन्टरमा परेपछि अन्य गुन्डा नाइकेहरु दलको छहारीमा पुगेका छन् । राजनीतिक संरक्षणमै रहेका दुई डन मारिएपछि ठुला नेताको संरक्षणमा रहेका डनहरुले असुरक्षित महसुस गर्न थालेका छन् ।
प्रहरी कारवाहीबाट जोगिन पछिल्लो समय सवैजसो गुन्डाका नाइके र तिनका सहयोगी विभिन्न पार्टीभित्र छिरेका थिए । ठुला नेताकै संरक्षणमा गन्डागर्दी गर्दै आएका चरी र घैटे इन्टाउन्टरमा मारिएपछि गुन्डागर्दीका नाइकेहरु तर्सिएका हुन् ।
कसलाई कुन नेताको संरक्षण ?
पहिला राप्रपामा आवद्ध गणेश लामा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन् । अन्य पार्टी ठुलो पद नदिएपछि उनी फोरम लोकतान्त्रिकमा प्रबेश गरेका हुन् । उनले आफ्ना सहयोगीलाई पनि त्यही पार्टीमा प्रवेश गराएका छन् । उनी गच्छदारको संरक्षणमा रहेका छन् ।
जेल परेर पनि नसुध्रिएका भन्दै प्रहरीले निगरानीमा राखेका चक्रे मिलन एमाले नेताहरुसँग निकट छन् । एमाले नेता प्रदीप नेपालसँग उनको पारिवारीक सम्बन्ध समेत छ । नेपालकी श्रीमतीसँग चक्रे मिलनले भाइ टीका समेत लगाउँछन् ।
ललितपुरका मिनकृष्ण महर्जन राजनीतिकरुममा बलिया छन् । कांग्रेस नेता शंकर भण्डारीसँग निकट सम्बन्ध रहेका महर्जनलाई कांग्रेस उपसभापति रामचन्द्र पौडेलको संरक्षण छ । नयाँपत्रिकाका अनुसार पूर्ण गुरुड र महेश श्रेष्ठलाई खुमबहादुर खडकाको संरक्षण छ ।