
छत्तीसगढ, भदौ २४ । भारतको छत्तीसगढ राज्यमा मूख्यमन्त्री रमन सिंह र केन्द्रीय स्वास्थ्यमन्त्री जेपी लड्डा सहभागी एक कार्यक्रममा बाँडिएको पानीको बोटलमा सर्पको बच्चा फेला परेको छ ।
शिलबन्दी पानीको बोटलमा सर्पको बच्चा भेटिएको विषयमा छानविन गर्न खाद्य सुरक्षा विभागले निर्देशन दिएको छ ।
समाचार एजेन्सीहरुका अनुसार बुधबार छत्तीसगढको प्रादेशिक राजधानी रायपुरमा भारतीय जनता पार्टीको कार्यालयमा एक कार्यक्रम आयोजना भएको थियो । सो कार्यक्रममा ठूलो संख्यामा पार्टीका विधायक र मन्त्री सहभागी थिए ।
मूख्यमन्त्रीको मेडिकल स्टाफ डा. पुनम पाण्डेलाई दिइएको बोटलको पानीमा सर्पको बच्चा पाइएको हो । सो घटना लगत्तै कार्यक्रममा वितरीत सबै बोटल फिर्ता लिइएको थियो ।
सो घटनाका बारेमा मूख्यमन्त्री र केन्द्रीय स्वास्थ्य मन्त्रीले कुनै प्रतिक्रिया दिएका छैनन् ।
पानी निर्माता कम्पनी अमन अक्वाका प्रवन्ध निर्देशक शैयद शफिकले भने यसमा कम्पनी दोषी नरहेको बताएका छन् । उनले आफ्नो कम्पनीविरुद्ध कसैले षडयन्त्र गरेको आरोप लगाएका छन् । उनले भने, ‘यो एक षडयन्त्र हो ।’ उनले आफ्नो परिवार भारतीय जनता पार्टीसँग निकट रहेका कारण पनि बद्नाम गर्नका लागि कसैले यस्तो षडयन्त्र रचेको हुन सक्ने बताए । (एजेन्सी)