×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘म त मधेसभन्दा पहाड र हिमाल पीडित देख्छु’

GLOBAL IME BANK

‘म त मधेसभन्दा पहाड र हिमाल पीडित देख्छु’

९ आश्विन २०७२, शनिबार

पढ्न लाग्ने समय: ६ मिनेटभन्दा कम

सन्तोष साह, अध्यक्ष, टुडेज युथ एसिया

मधेस राजनीतिको केन्द्रबिन्दुमध्ये एक सर्लाही बरथहवाका सन्तोष साह स्थानीय सरकारी विद्यालयमा पढ्थें । पढाइ राम्रो भएका कारण उनले खुला प्रतिस्पर्धामा काठमाडौंको बूढानीलकण्ठ स्कुलको छात्रवृत्तिमा आफ्नो नाम निकाले । ९७६ बी नम्बर भनेर चिनिने यी युवाले उच्च शिक्षाका लागि अमेरिकाको छात्रवृत्ति समेत प्राप्त गरे ।

उनले युनिभर्सिटी अफ सेन्डिएगो क्यालिफोर्नियामा उनले द्वन्द्व, राजनीति र न्यायसम्बन्धी अध्ययन गरे । अमेरिकामै राम्रो नाम र दाम कमाउने सम्भावना बढिरहेका बेला अचानक न्युयोर्कको ट्विन टावरमा अल कायदाले आक्रमण गर्‍यो । त्यो दिन उनको त्यही टावरको १३ औं तल्लामा अवस्थित एउटा अफिस जाने कार्यक्रम थियो ।

संयोगले उनी त्यहाँ जान पाएनन् । केही बेरअघिसम्म लाखौं डलरका मालिकहरू ज्यान जोगाउन ट्विन टावरबाट हाम फालेको दृश्यले उनलाई अमेरिका बस्नु बेकार लाग्यो । केही समयपछि उनी नेपाल फर्किए । त्यसयता उनी नेपालमै युवाहरूलाई समेटेर अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम सञ्चालन गरिरहेका छन् । पत्रकारिता, अन्तर्राष्ट्रिय सम्बन्ध र युवा पलायन रोक्ने काममा खटिरहेका सन्तोष केही फरक खालका लाग्छन् । अहिले उनी टुडेज युथ एसियाको अध्यक्षका रूपमा कार्यरत छन् । यो संस्थाले एसियाका युवाहरूलाई विभिन्न किसिमका सहयोग जुटाइदिने एवं योजनाहरू बनाइदिने काम गर्छ ।

तपाईंलाई यस पटकको संविधान चित्त बुझ्यो ?

नेपाली जनताको वर्षौंदेखिको चाहना पूरा भएको छ । अन्तरिम संविधानले जुन–जुन कुराको ग्यारेन्टी गरेको थियो, त्यसैको सेरोफेरोमा नयाँ संविधान बनेको छ । अन्तरिम संविधानमा लेखिएकै कुरालाई व्यवस्थित गर्न हामीले अर्बौं रुपैयाँ खर्च गर्‍यौं, देश र जनताको आठ वर्ष खेर फाल्यौं ।

यति ढिला नहुनुपथ्र्यो, विदेशीहरूको विभिन्न ‘इन्ट्रेस्ट’ र काठमाडौंका केही एलिट वर्गको स्वार्थ रक्षा गर्न जानाजान ढिला गराइयो । यति हुँदाहुँदै पनि मलाई संविधान चित्त बुझेको छ । विदेशी निकायले तिम्रो संविधान बनोस्, अनि सहयोग गर्छु भन्ने जुन बहाना थियो, अब त्यो सकिएको छ । अब विदेशी लगानी बढ्छ । व्यवसायीहरूको भोलि के हुन्छ, लगानी बढाउँm कि नबढाउँm भन्ने चिन्ता अब समाप्त भएको छ ।

विकास निर्माणका कामहरू विभिन्न बहानामा रोकिएका थिए, अब त्यो सुचारु हुन्छ । म त के देख्छु भने भारतमा लगानी गर्ने योजना बनाएका अमेरिकी कम्पनीहरूले पनि नेपालमै लगानी गर्छन् । अब नेताभन्दा यहाँका व्यवसायी तथा अर्थविद्हरूको भूमिका बढी छ । मेरो नजरबाट हेर्दा संविधान बनेर धेरै राम्रो भएको छ ।

मधेसमा आगो सल्किएको छ, त्यसैले यो संविधान कार्यान्वयन होला ?

संविधानका विषयमा जुन असन्तुष्टि छ, यो विस्तारै सेलाएर जान्छ । मेरो विचारमा एक वा दुई महिनाभित्रै तपाईं यो आन्दोलन मत्थर भएको देख्न सक्नुहुनेछ । यो मैले त्यसै भनिरहेको छैन । खास कारण के भने यो आन्दोलन केही नेताविशेषको भाग कति सुरक्षित राख्ने भन्ने विषयसँग बढी सम्बन्धित छ । जनताको कुरा त बहाना मात्र हो ।

अब आन्दोलनका लागि बजेट पनि आउने छैन, किनभने संविधान बनिसक्यो । त्यसका लागि विदेशबाट दोहोर्‍याएर बजेट आउँदैन । अर्को कुरा, प्रतिनिधिसभामा पनि ४० प्रतिशत सिट समानुपातिक छ । अब तुरुन्तै निर्वाचनको घोषणा हुन्छ । निर्वाचनमा जानै पर्‍यो । निर्वाचन नजिते पनि सभासद् हुने सम्भावना छ, पहिले जस्तै । जनतालाई पनि सधैं आन्दोलनमा कुद्ने फुर्सद हुँदैन भने जनतालाई पनि निर्वाचन लाग्छ । यी सबै वस्तुस्थिति हेर्दा यो आन्दोलन बढीमा एक–दुई महिनासम्म चल्न सक्छ ।

तपाईं मधेसी युवा भएर पनि यस्तो कुरा गर्नुहुन्छ ?

हामी पढेलेखेका युवाले जे सत्य हो त्यही भनिदिनुपर्छ । जनताको नाममा राजनीति गर्नेले धेरै धोका दिइसके । यो सत्य कुरा मधेसी जनताले बुझिरहेका छन् । काठमाडौंका धेरै मानिस भ्रममा छन् । किनभने अन्तर्वार्ता वा विचार तिनै व्यक्तिको आइरहेको छ, जो सत्ताको राजनीति गरिरहेका छन् वा पुरानो वर्चस्व फर्काउन चाहन्छन् अथवा ती व्यक्तिहरू, जसले कुनै न कुनै रूपमा आइएनजीओ वा एनजिओमार्फत वाहिरी पैसामा चलखेल गरिरहेका छन् ।

त्यसमाथि काठमाडौंको एउटा एलिट वर्ग देशमा सधैं द्वन्द्व भैरहोस् भन्ने चाहन्छ । उनीहरूले पनि त्यस्तै स्वार्थी व्यक्तिहरूलाई साथ दिएका कारण आन्दोलन चर्कन्छ । ल तपाईं भन्नुस् त आमजनताको आवाज कुन मिडियामा आएको छ ? उनीहरूको चाहना के हो भनेर कसले सोधेको छ ? कुन मधेसी आन्दोलन गर्न चाहन्छ, को आन्दोलनको नाममा मर्न चाहन्छ ?

कतिपय नेता मधेस नै विभाजन हुन सक्छ भनेर धम्की दिइरहेका छन्, संघठन पनि गरिरहेका छन्, के भन्नुहुन्छ ?

डा. सी.के. राउतजस्ता व्यक्ति मधेसी युवाको फ्रस्टेसनको एउटा नमुना हुन् । केही मधेसी युवामा काठमाडौंले हामीलाई हेरेन भन्ने जुन आवेग छ, राउतजस्ता व्यक्तिको माध्यमबाट पोख्न चाहन्छन् । यस्ता चर्का कुरा बाहिर आए पनि ग्राउन्ड रियालिटी अर्कै छ ।

कुन मधेसी नेपालबाट छुट्टिन चाहन्छ ? तपाईं हेर्नुस्, हरेक मधेसी नेपाली बोल्दा गौरव गर्छ । यदि कुनै क्षेत्र छुट्टिन चाहने हो भने ५० औं लाख मानिस एकसाथ सडकमा ओर्लिए भने कसले रोक्न सक्छ ? त्यस्तो हुन मधेसी जनताले नै दिँदैनन् । किनभने मधेसीहरू नेपाली हुनुमा गौरव गर्छन् । बरु यो कुरा काठमाडौंले बुझ्न सकेको छैन ।

भनेपछि संविधान ठिक छ ?

सबै ठीक छ भन्ने पक्षमा पनि छैन । मैले यति मात्रै भनिरहेको छु, यो संविधानले धेरै कुरा दिएको छ । जसलाई प्रचुर सदुपयोग गर्न सकिन्छ । जहाँसम्म मधेसी मात्र ठगिए भन्ने कुरा छ त्यो झुटो हो । खासमा काठमाडौंले मधेसलाई जसरी ठगेको छ, पहाड र हिमाललाई पनि उसैगरी ठगेको छ । म पहाडका धेरै जिल्ला धुमेको छु, त्यहाँ पानी लिन अझै पनि दुई घन्टा हिँड्नुपर्ने अवस्था छ ।

मैले कुनै पनि दुर्गम गाउँमा पीच रोड देखेको छैन । पीचरोडको के कुरा, बाटोसम्म पुगेको छैन । यातायातको व्यवस्था नभएर अन्न, फलफूल, तरकारी आदि बिक्री नभएर कुहिएको छ । यसरी हेर्दा मधेस भन्दा हिमाल र पहाड पीडित छ । म मसेधी युवा हुँ तर त्यसो भन्दैमा मैले आफ्नो फाइदाको कुरा मात्र गर्न मिल्दैन । सत्य कुरा गर्नुपर्छ ।

चित्त नबुझेका कुरा के–के छ ?

एक–दुई कुरा चित्त बुझेको छैन । जस्तो संविधानको भाषा कुनै राजनीतिक दलको दस्तावेज जस्तो भएको छ । देशको मूल कानुन भनेको सयौं वर्षसम्म कायम रहन्छ । इतिहासमा हजारौं वर्षसम्म रहन्छ । भोलिको पुस्ता यो संविधान पढेर पक्कै हाँस्नेछ ।

पारित भएका कुरालाई कानुनको विद्यार्थीलाई राम्रोसँग लेख्न नदिएर हिजोको द्वन्द्व झल्कने भाषा राखिएको छ । भारतमा सन् १९४८ मा संविधान बन्दा देश टुक्रिएको थियो, विभिन्न राज्यका नागरिकको आवाज समेट्न सकिएको थिएन ।

यहाँ जस्तै सिमानाको विवाद थियो तर ती कुरा संविधानमा परेनन् । यद्यपि आज पनि त्यो संविधान जीवन्त छ । कुनै समस्या भए आपसमा सम्झौता गरेर मिलाउन सकिन्छ, तर पनि संविधानमा संविधानको जस्तो भाषा हुनुपर्छ न कि कुनै राजनीतिक दलको घोषणापत्र जस्तो । अर्को कुरा यो संविधानले मधेसीलाई पहाडी जनताबाट अलग गरेको छ ।

मेरो विचारमा उत्तर–दक्षिणको प्रदेश बनाउनुपथ्र्यो । यसले गर्दा उत्तरको मीठो तरकारी मधेसमा खान पाइन्थ्यो । मधेसको चामल पहाड जान्थ्यो । जलविद्युत्को सदुपयोग हुन्थ्यो । यो सबै काठमाडौंको एलिट बर्गले गर्न नदिएको हो ।

तपाईं मधेसी नेता र काठमाडौंको एलिट बर्गलाई बारम्बर लक्षित गर्दै हुनुहुन्छ । यसको कुनै प्रमाण छ ?

जत्ति पनि छ । उदाहरणका लागि २००७ सालमा राजा त्रिभुवनले आफैं देशलाई संघीय मोडलमा लाने, गणतन्त्रमा जाने र आफू साधारण जनता भएर बस्ने मनस्थिति बनाएका थिए । भारतले सोच्यो, गणतन्त्रमा जानेबित्तिकै धेरै जनालाई आफ्नो वशमा राख्नुपर्छ । राजसंस्था भयो भने एउटैलाई कजाएर आफ्नो काम लिन सकिन्छ ।

त्यसैले त्यतिबेला संविधानसभा पनि बनेन र राजतन्त्र पनि कायमै रह्यो । राजा महेन्द्रले यो कुरा बुझेका थिए । उनले विज्ञ टोलीलाई देशलाई संघीय मोडलमा लान के गर्नुपर्छ भनेर सुझाव मागे । विज्ञ टोलीले गाउँ र जिल्लालाई बढी स्वायत्तता दिनुपर्छ भनेर सुझाव पेस गर्‍यो तर एलिट वर्गले त्यसमा आफ्नो भाग खोसिने प्रस्ट देख्यो ।

पाँच विकास क्षेत्र बनाइएपछि किन उत्तर दक्षिण मार्ग बनाइएन ? त्यतिबेला प्रत्येक क्षेत्रमा हिमालदेखि तराईसम्म ठाडो रोड बनाएको भए पहाडको पनि विकास हुन्थ्यो र मधेस पनि एकैपल्ट माथि उठ्थ्यो । आजका दिनसम्म सप्तरी र दोलखा नजिकै छन् तर त्यहाँ काठमाडौं भएर पुग्नुपर्छ । ६० किलोमिटरको यात्रालाई ६ सय किलोमिटर लामो बनाइएको छ । किन ? किनभने काठमाडौं सधैं सेन्टरमा रहन चाहन्छ । यहाँका एलिट बर्ग कुनै पहाड आफै बनोस्, मधेस आफै विकसित होस् भन्ने चाहँदैन ।

आज तिनै एलिटका सन्तान आइएनजिओका परामर्शदाता, जागिरे वा उच्चतम तहमा छन् । उनीहरू पनि यो चाहँदैनन् । यसमा हाम्रा नेताले पनि साथ दिएका छन् । किनभने यसैमा उनीहरूको पनि स्वार्थ छ । यी कुरा घाम जत्तिकै छर्लङ्ग छन् । अझ रमाइलो कुरा के छ थाहा छ ?छैन, भन्नुस् न ।

मधेस आन्दोलन हुँदा धेरै पहाडे मूलका मानिसले तराईका घर जग्गा बेचे । धेरै पहाडेलाई मधेसीहरूले अन्याय गरे भन्ने लाग्न सक्छ तर त्यो जग्गा तिनै एलिट वर्गसँग सम्बन्ध भएका मधेसीहरूले नै किने । ती जग्गा प्लटिङ भए । त्यसको फाइदा त्यसैगरी विभाजन भयो । मधेसको राजनीति हेर्दा जनताको अधिकारका लागि देखिए पनि यो आम्दानी, पावर र इगोसँग सम्बन्धित छ । ध्यान दिएर अध्ययन गर्दा यस्ता अनेकौं साँठगाँठका चित्र देखिन्छन् ।

तपाईंले कुनै पनि मधेसीले यसअघि नगरेको कुरा गर्नुभयो, यसको कारण के होला ?

म अमेरिकाबाट फर्किएपछि लाग्यो, आफैं केही गर्नुपर्छ, देश बनाउनुपर्छ । विदेशमा बस्दा म त नेपाली हुँ नि । हामीले देश बनाउने हो । देश बनेपछि हामी सबै बन्छौं । कुनै पनि मधेसीले यस्तो कुरा गरेनन् भन्ने होइन । जनता के चाहन्छन् भन्ने कुरा कुनै पनि राष्ट्रिय मिडियाले चासो नराखेकाले त्यस्तो लागेको हो । मेरो भाषा आम जनताको भाषा हो । तपाईं ग्राउन्डमा गएर यी कुरा बुझ्न सक्नुहुन्छ ।

स्रोत : कान्तिपुर साप्ताहिक

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: