
नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपालको नयाँ संविधानप्रति भारतको कुनै असहमति नरहेको दाबी गरेका छन् ।
नेपाल–भारत मैत्री समाजले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा राजदूत रायले भारतको चासो केबल तराई क्षेत्रमा देखिएको आन्दोलनलाई सम्बोधन गरेर दलहरु अघि बढुन् भन्ने मात्र रहेको जिकिर गरे ।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा भैरहेका आन्दोलनले भारत असुरक्षित बनेको भन्दै उनले सीमाक्षेत्रबाट आयात–निर्यात् हुन नसकेको तर्क गरे ।
भारतले अघोषितरुपमा नाकाबन्दी गरेर नेपालमा पेट्रोलियमलगायत दैनिक उपभोग्य वस्तुको अभाव भएको विषयमा भने राजदूत रायले कुनै प्रतिक्रिया दिएनन् ।
तर, सानातिना विषयका कारण दुई देशबीचको सम्बधमा भने कुनै असर नपर्ने उनको दाबी थियो ।
कार्यक्रममा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले अघोषित नाकाबन्दी बढ्दै गए त्यसबाट असहज परिस्थिति उत्पन्न हुनसक्ने बताए ।
नरेन्द्र मोदी भारतमा प्रधानमन्त्री बनेपछि अत्यन्तै घनिष्ठ बनेको नेपाल–भारत सम्बन्धमा अहिलेको नाकाबन्दीले चिसोपना ल्याएको राजदूत उपाध्यायको भनाइ थियो ।
यस्तै, भारतका लागि पूर्वनेपाली राजदूत भेषबहादुर थापाले कसका कारण यो समस्या आयो भनेर पछि फर्कनुभन्दा समाधानको बाटोतर्फ लाग्नु उत्तम हुने बताए ।