
भारतले नेपालको संविधानमाथि सात बुँदे संशोधन प्रस्ताव गरेको सार्वजनिक भएपछि बुधबार सामाजिक सञ्जालमा त्यसको चर्को विरोध भएको छ । सर्वसाधारणदेखि सामाजिक अभियान्तासम्म भारतको विरोधमा उत्रिएका छन् ।
भारतले नयाँ संविधानमा अघि सारेको संशोधन प्रस्तावमा मधेसवादी दलका मागलाई प्रमुखताका साथ समेटेको छ । संशोधन प्रस्तावका बुँदा सार्वजनिक भएसँगै मधेसको आन्दोलन भारतीय पक्षको आरक्षणमा भएको अनुमान गर्न थालिएको छ । यसै विषयमा सामाजिक अभियान्ता सरस्वती सुब्बाले बुधबार भारतलाई सामाजिक सञ्जाल मार्फत लेखेको खुला पत्र :
भारतलाई चिट्ठी
प्रीय मित्र भारत,
तपाईंले दिएको ७ बुँदे सुझाव असाध्यै दामी लाग्यो । वाह, क्या दामी सुझाव दिनुभयो । मित्र देश हो, सुझाव दिनुहुन्छ । सुझावलाई हामी अन्याथा भन्दैनौँ ।
एउटा कुरा नि मित्र,
तपाईंले दिएको सुझाव अनुसारको संवैधानिक व्यवस्था तपाईको देशको संविधानमा नदेखेर हामी ट्वाँ परेका छौँ । यति दामी सुझाव मित्रले आफ्नै देशमा पहिला लागू गरेको भए कस्तो हुन्थ्यो होला ?
मित्रसँग अनावश्यक रुपमा केही पनि लिन हुन्न भन्ने हाम्रो धारणा रहेको छ । मित्रलाई नै आवश्यक परेको चिज झन हामीले कसरी लिने ? त्यसैले के गरौं भने मित्र, तपाईले दिएको ७ बुँदे सुझाव तपाई नै राख्नुहोस् । ती सुझाव पहिले आफ्नै संविधानमा राख्नुहोला । त्यसपछि हामी पनि विचार गरौँला । हुन्न र मित्र ?
उही नेपाली जनता ।