
पूज्यनीय बुवाआमा, सादर नमस्कार !
यहाँ म बाँचेकै छु । र, हजुरहरूको कुशल–मंगलताका लागि श्री पशुपतिनाथसँग प्रार्थना गरिरहेकी छु । हजुरहरूलाई धेरै दिन ढाँट्न राम्रो हुँदै होइन । त्यसैले मैले आज मन बाँधेर कलमको सहारामा आँसुले यो पत्र लेख्दै छु ।
पूज्यनीय बुवाआमा ! मैले अनेक सपना साँचेर घर छाडेँ, यो खाडी मुलुकमा आइपुगेँ । यहाँ आउनुको एउटै उद्देश्य थियो– काम गरेर पैसा कमाउनु । पैसा कमाएर के गर्ने ? सपना अनेक थिए– धनी हुने, घर बनाउने, जमिन किन्ने, दोकान गर्ने, राम्रो लगाउने, मीठो खाने, नयाँ जिन्दगी सुरु गर्ने, कुनै असल केटाको नजरमा पर्ने, सुन्दर भविष्य बनाउने, आफूले पढ्न नपाए पनि छोराछोरीलाई पढाउने र बुवाआमालाई पनि सुख दिने । गरिबकी छोरीको सपना कति नै ठूला हुन्छन् र ?
Sarita आज म त्यो निर्दोष बालपन सम्झन्छु । म स्कुलको दैलो भएर मेलापात जान्थेँ । अरु विद्यार्थी कलम समाइरहेका हुन्थे, मेरो हातमा कुटो–कोदालो हुन्थ्यो । स्कुलको आँगनमा अरु विद्यार्थी राष्ट्रियगान गाएर उभिन्थे, म घरको आँगनमा रोएको भाइलाई बोकेर उभिन्थेँ । तपाईंहरूले स्कुल पठाएकै हो । तर, स्कुल गएर के खाने ? घरको उब्जनीले तीन महिना खान पुग्दैनथ्यो । हजुरहरूले दुःख गरेको देख्दा मेरो कलिलो मन भाँचिन्थ्यो । त्यसैले दुई दिन स्कुल जान्थेँ, चार दिन मेलापात । दुई कक्षामा दुईपल्ट, तीन कक्षामा तीनपल्ट फेल भएपछि हलक्कै बढेँ । त्यसपछि स्कुल जान लाज लाग्ने भइहाल्यो । गरिबका छोरी हलक्कै बढ्नु पनि दुर्भाग्य नै रहेछ ।
मैले सोचेकी थिएँ– यहाँ आएर काम गर्छु, पैसा कमाउँछु, यहाँ काम गर्न पैसा कमाउन कुनै गाह्रो नहोला । तर, सोचेजस्तो कहाँ हुन्छ र ?
आएको केही महिना त काम राम्रैसँग चलेको थियो । काम पनि त्यस्तै थियो । मजस्ती अनपढले कस्तो काम पाउँथे र ? जे गर्छु भनेर आएकी थिएँ, त्यही काम पाएकी थिएँ, मालिकको घरको काम– सरसफाइ गर्ने, खाना बनाउने, भाँडा माझ्ने, यस्तै–यस्तै । सुरुसुरुमा तलब पनि समयमै आउँथ्यो र घरमा पठाउँथे । घरमा पैसा पठाएको रात यति खुसी लाग्थ्यो कि ननिदाएरै सपना देख्थेँ । तर, यो खुसी धेरै दिन टिक्न पाएन ।
दिन बित्दै गयो र मेरो दुई वर्षको भिसा पनि सकियो । म दुई वर्षमै घर फर्कन चाहन्नथेँ, यहाँ आउँदा लागेको ऋण पनि तिरिएको छैन, यति छिटै घर फर्केर के गर्नु ? मैले भिसाको म्याद थप गर्न मालिक्नीसँग अनुरोध गरेँ । भिसा थप्ने कुरा गर्दागर्दै आधा वर्ष कटाइदिए । त्यसपछि मेरो बसाइ गैरकानुनी हुन पुग्यो । भिसा सकिएपछि मेरो तलब पनि रोकियो ।
घरमा मालिक्नी नहुँदा मालिक मेरो ओछ्यानसम्म आइपुग्थ्यो । मालिक–मालिक्नी दुवै नहुँदा उनीहरूको छोरो आउन थाल्यो । मलाई जेल हाल्ने धम्की दिँदै मेरो शरीरसँग खेल्न थाले ।
कति रोएँ, कति कराएँ, तर यो बिरानो भूमिमा मेरो चित्कार सुन्ने को नै छ र ? मालिक र मालिकको छोराको मन फर्किएन । उनीहरूले एउटी नारीमा आफ्नो छोरीचेलीको अस्तित्व देखेनन् । म लुटिँदै गएँ, लुटिनु मेरो विवशता थियो । नलुटिनुको विकल्प आत्महत्या थियो, जो म सोच्नसम्म सक्दिनँ ।
मेरा बुवाआमा ! एउटी छोरी एक्लै र एकान्तमा लुटिन्न, एउटी छोरीसँगै सिंगो संसार लुटिएको हुन्छ, यो संसारमा छोरी मान्छे कहाँ हुँदैनन् र ?
एक दिन अचानक म बिरामी हुन पुगें । सुरुमा अलिअलि ज्वरो आएको थियो । ज्वरो आए पनि घरको काम त जोतिनैपथ्र्यो ।
हे मेरी आमा, म बिरामी हुँदा तिमीले मेरो कति स्याहार गथ्र्यौ । आफूहरूले मकैको च्याँख्ला खाएर मलाई चामलको भात खुवाउँथ्यौँ । बाबा, तिमीले अनेक जडीबुटी बटुलेर खुवाउँथ्यौ ।
यहाँ म एक दिन ज्वरोले ढलेँछु । ब्युँझँदा हस्पिटलमा थिएँ । हस्पिटलमा बत्ती बलिरहेको थियो । मालिक्नी मेरो आडैमा थिइन् । तर, उनको अनुहार अँध्यारो थियो । किनभने, म दुईजिउकी भएँछु । भोलिपल्ट मलाई मालिक्नीले आफ्नो घरमा लगिन् । त्यसको केहीबेरमै मलाई पुलिस लिन आइपुग्यो । किनकि, मेरो भिसाको म्याद सकिएको थियो । यो सब मालिक र मालिकका छोराको चाल हुनुपर्छ । म गर्भवती भएपछि उनीहरूले मलाई धपाउन चाहन्थे ।
पुलिसले मलाई जेल हाल्यो । आज म अदालतमा बयान दिन जाँदै छु । बयान दिनुअघि यो पत्र लेखेँ । हुन त थाहा छैन, यो पराईभूमिमा ममाथि के–कस्ता अभियोग लगाइएका छन्, लगाइने हुन् । तर, अदालतले न्याय दिन्छ भन्छन् । न्याय दिएछ भने, हाम्रो भेट हुने नै छ । अँ सुन्नुस् त, माहिली बहिनी पनि विदेश आउन रहर गरेकी छे । उसलाई रोक्नू । बहिनी ! जति दुःख गर्नुछ, आफ्नै माटोमा गर्नु, बलात्कृत नै हुनु परे पनि आफ्नै माटोमा हुनु, मातृभूमिले त एक दिन न्याय कसो नदेला र ?
हे मेरा बुवाआमा, अहिले कलम बन्द गर्छु । आशा गरेकी छु, दुनियाँमा न्याय मरेको छैन । न्याय पाएर एकपटक हजुरहरूको स्पर्श पाउनेछु ।
उही हजुरहरूकी अभागी छोरी
रामकुमारी, कुवेत
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्