Skip to content
LAXMI SUNRISE BANK

आन्दोलन अझै लम्बिन्छः महतो

अर्थ सरोकार

वीरगन्ज–संविधानसभाबाट राजीनामा आन्दोलन चर्काउन मधेश झरेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकलौटी संविधान जारी हुने प्रक्रिया बढेकोले अधिकार प्राप्तिको लडाई लम्बिने बताएका छन्। सोमबार वीरगंजमा पत्रकार सम्मेलन गरी अध्यक्ष महतोले प्रान्तदेखि केन्द्रसम्म आफ्नै शासन सत्ता हुने गरी तीन दलले संविधान ल्याउन लागेको आरोप लगाए। उनले गणितीय आधारमा र बिगतका सबै सहमति र सम्झौतालाई उल्टाउदै जारी हुन लागेको संविधान मुलुकका अधिकांश जनतालाई मान्य नहुने जिकिर गरे।

संविधान जारी भएपछिको एउटा फरक अवस्था विकसित भएपछि मात्र जारी मधेश आन्दोलन रोक्ने नरोक्ने कुरा आउने उनले बताए । उनले बेग्लाबेग्लै मोर्चालाई एउटै पारेर आन्दोलनलाई नयाँ कार्यक्रमसाथ अगाडी बढाउनु पर्ने बेला आएको बताए ।

नेता महतोले अबको लडाई कठिन र कठोर हुने भन्दै संघर्ष लम्बिएको र आरपारको लडाईको अवस्था आएको बताए । अब राज्यले गरेको सहमतिमा टेकेर संविधान निमार्णको माग गर्दै आन्दोलन चलिरहेको बेला जनताको निधार र छातिमा गोली ठोकेर दमनको बलमा दबाएर संविधान ल्याउन खोजिएको आरोप लगाउदै महतोले मधेसबाट प्रतिनिधित्व गर्ने सभासदको कमजोरीले यो अवस्था आएको टिप्पणी गरे । मधेसी दलभित्रै अवसरबादी भएर जनताको चाहना कुण्ठित हुन पुगेको उनले आरोप लगाए।

महतोले कांग्रेस, एमाले र एमाओवादीभित्रका मधेशी जनजाति सभासद पार्टीको गुलाम भएको आरोप लगाए । ‘उनीहरु संविधानसभा छोडेर निस्केको भए स्थिति फरक हुने थियो,’ महतोले भने, ‘अहिले पनि उनीहरु सुध्रिएर आए अवस्था फेरिन सक्छ ।’

सरकार तथा कांग्रेस, एमाले र एमाओवादीका नेताहरुले वार्ता गर्नै नचाहेको आरोप लगाए । ‘कोसंग गर्ने वार्ता ? आउनु प¥यो नी ! टेबुल कुर्सीसंग गर्ने वार्ता ?’ महतोले भने, ‘वार्तासार्ताको कुरा नाटक मात्र हो । मुद्दामा छलफल गर्न कोही तयार छैन् ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK