
काठमाडौं, १६ भदौ । मधेसमा आन्दोलनकारीहरुले गिरिजाको शालिक ढालेपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले गम्भीर चिन्ता व्यक्त गरेका छन् । नेपाली कांग्रेसका नेताहरुले समेत कुनै प्रतिक्रिया शीर्ष नेताको तहबाट यस्तो चिन्ता व्यक्त गरिएको हो ।
पार्टीको सदंसदीय दलको बैठकमा बुधबार प्रचण्डले भने, ‘आन्दोलनकारीको नाममा गिरिजाको शालिक ढालिनु असामान्य कुरा हो ।’ उनले गिरिजाबाबु गणतन्त्रका लागि लडेका नेता भएको र उनको शालिक ढाल्नु गणतन्त्रमाथिकै प्रहार भएको र यो गणतन्त्र स्तम्भ ढाले बराबर भएको विचार व्यक्त गरेको बैठकमा सहभागी एक सभासदले बताए । उनले भने, ‘गिरिजाबाबु गणतन्त्रका लागि लडेका नेता थिए । उनको सालिक ढाल्नु कुनै न कुनै रुपमा गणतन्त्रमाथि नै प्रहार हो ।’
सोमबार वीरगञ्जमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको प्रदर्शनको क्रममा कोइरालाको सालिकमाथि आक्रमण भएको थियो । आन्दोलनकारीले गिरिजाको शालिक ढालेका थिए ।
१२ बुँदे सहमति हुँदै संविधानसभासम्म आउँदा विद्रोही पक्षबाट प्रचण्ड र सरकार पक्षबाट स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा शान्ति प्रक्रिया निकै अगाडि बढेको थियो ।
‘हामी अहिले कांग्रेस र एमालेलाई अधिकतम जनताको एजेण्डामा सम्बोधन गर्न दबाव दिने र आन्दोलनरत पक्षलाई सहमतिमा ल्याएर संविधान जारी गराउने वातावरण निर्माणको प्रयासमा छौं,’ बैठकमा अर्को प्रसंगमा प्रचण्डले भने, ‘यसरी हामी दोहोरो र महत्पूर्ण भूमिका निर्वाह गरिरहेका छौं ।’
प्रचण्डले सम्झौता गरेर र लचक भएर भए पनि शीघ्र संविधान जारी गर्नुपर्ने धारणा राखे । ‘संविधान जारी गर्न सकिएन भने भएका उपलब्धी पनि गुम्छन्,’ उनले भने, ‘त्यसैले सम्झौता गरेर भए पनि संविधान जारी गर्नुपर्छ ।’
प्रचण्डले भने, ‘संविधान बनाउन ढिला गरे परिस्थिति उल्टन सक्छ । त्यसो भए हामीलाई नै घाटा हुन्छ ।’
– See more at: http://www.sajhapost.com/2015/09/02/18342.html#sthash.MX7otpEm.dpuf