
बर्दिया— बिहान सबैरेदेखि २०—२५ जना थारु युवाको एक समुह मैनापोखर चोकदेखि पश्चिमको दोबाटोमा बसेका थिए। रात्री बस जान नदिने भन्दै उनीहरु कुरा गरिरहेका थिए। त्यही बेला एउटा मोटरसाइकल आइपुग्यो।
गुलरियाका विभिन्न भागमा वितरण गर्न नागरिक पत्रिका त्यसमा थिए। नेपालगञ्जबाट पत्रिका बोकेर आएको मोटरसाइकल युवाहरुले जबरजस्ती रोक।
‘थारु आन्दोलनको समाचार नछाप्ने?’, एक जनाले अलि ठूलो स्वरमा थर्कायो। त्यसपछि उनीहरुले मोटरसाइकलबाट पत्रिका खोसे। अनि अागो लगाइिदए।
जलाइएका नागरिक दैनिक र शुक्रबार साप्ताहिकका प्रतिहरु
नागरिक दैनिकका कर्मचारी दुर्गा पौडेल त्रसित देखिए। मोटरसाइकल डोराएर अलिपर एउटा घरसम्म पुर्याए। अनि घरको आडमा अड्याए। सो समूह मोटरसाइकल पछ्याउँदै आयो। उनीहरु मोटरसाइकल जलाउने कुराकानी गर्दै थिए।
त्यसैबेला झन्डै सय मिटर पर रहेको मैनापोखर चोकमा दुई गाडीलाई स्कटिङ गर्दै प्रहरी आइपुग्यो। मोटरसाइकल जलाउने कुरा गर्दै गरेका युवा आन्दोलनकारी त्यतैतिर लागे। मैनापोखर चोकमा स्थानीय परशुराम थारु र रामहर्क थारुले रात्री बस रोक्न निर्देशन दिए। चालकले बस साइड लाएर रोके। प्रहरीले चाबी लियो।
मैनापोखर चाेक। तस्विरः निर्मल घिमिरे
प्रहरीले आन्दोलनकारीलाई बिहानको रात्री बसलाई जान दिने सहमति भएको अवगत गरायो। उनीहरु विवाद गर्न थाले। युवा समुह आक्रोषित भएर प्रहरीलाई नछोड्ने भन्दै उफ्रिन थाले। बन्दकर्ताहरुले बसको चक्काको हावा फुस्काउने प्रयास गरे। त्यहीबेला जिल्ला प्रहरी कार्यालयबाट मद्दतका लागि दुई ट्रक नेपाल प्रहरी र सशस्त्र प्रहरी चोकमा आइपुगे। सुरक्षाकर्मी थपिएपछि स्थिति केही नियन्त्रित देखियो।
मैनापोखर प्रहरीले स्कटिङ गरेर ल्याएका दुवै रात्री बस जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीलाई हस्तान्तरण गर्यो। प्रहरी सुरक्षामा बस गुलरियातर्फ हुइँकियो।
इलाका प्रहरी कार्यालयमा सुरक्षार्थ खटिएका प्रहरी गुलरिया नेपालगञ्ज सडकखन्डमै थिए। प्रहरी भ्यान कार्यालय पुगिसकेकै थिएन।
त्यतिकैमा नजिकैको मकैबारीमा लुको समुहले प्रहरी कार्यालय र प्रहरीमाथि आक्रमण सुरु गर्यो। गोली पड्किएको जस्तो आवाज सुनियो। प्रहरी हवल्दार देबबहादुर पान्डे राजमार्गमै थिए। उनी निसानामा परेछन्। त्यहीँ ढले।
साथी सडकमा ढलेको देख्ना साथ प्रहरी अलर्टमा देखियो। तत्काल हवाई फायर र अश्रुर ग्यास एकै पटक प्रहार गर्यो। बन्दकर्ता तितरवितर भए। अान्दोलनकारीले हवल्दार पाण्डेमाथि गोली प्रहार गरेको जस्तो देखिन्छ। उनको शरीर रगतमा लतपतिएको अवस्थामा थियो। लगत्तै उनलाई नेपालगञ्जतर्फ लगियो। अस्पतालले उनलाई अत्यधिक रक्तश्रावका कारण मृत्यु घोषणा गरेछ।
घटना लगत्तै नेपाल प्रहरीका प्रहरी उपरिक्षक गोबिन्दराम परियार र सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक प्रदिप पाल मैनापोखर आएका छन्। उनीहरुको घटनामा संलग्नहरुको खोजी गरिरहेको जनाएको छ। मैनापोखर स्थिति अहिलेस्थिति तनाब ग्रस्त छ।
(मैनापोखर घटनाका प्रत्यक्षदर्शी बालकृष्ण लामिछाने, हरिकृष्ण सापकोटा, राम थारु र नागरिक दैनिकका कर्मचारी दुर्गा पौडेलसँगको कुराकानीमा आधारित)