तराई–मधेसमा दैनिक प्रहरीको गोलीले निर्दोष मधेसी जनताको ज्यान गइरहेको बेला उनीहरुलाई गोली खान उकास्ने मधेसी मोर्चाका नेता भने विगत चारदिनदेखि भैरहवाका विभिन्न रिसोर्टमा रमाइरहेका छन् ।
शुक्रवार भैरहवामा सभा सकेर मात्र फर्कने विचारमा रहेका मेधेसी मोर्चाका नेताहरु त्यहाँ बसेर ‘काठमाडौको दानापानी बन्द अभियान’ योजना बुनी रहेको श्रोतले बताएको छ । नेता उपेन्द्र यादव वसन्तपुरस्थित रेडिसन रिसोर्ट, महन्थ ठाकुर होल निर्वाण, राजेन्द्र महतो होटल पवन इन्टरनेशनलमा बसिरहेको बताइएको छ । बिहीवार उपेन्द्र यादव बसेको रिसोर्टमा मोर्चाको बैठक बसेको थियो र भैरहवामा पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरेका थिए ।
पत्रकार सम्मेलनमा तीनदलद्वारा आव्हान वार्ता प्रस्ताव वारे मोर्चाको धारणा सार्वजनिक गरिएको थियो । तर, सो बैठकमा खास छलफल भने काठमाडौलाई नाकाबन्दी गर्ने योजना कसरी सफल पार्ने भन्ने मै केन्द्रित रहेको बताइएको छ । मोर्चाका नेताहरुले मुख्य भन्सार नाका भएका सहरमा आन्दोलनलाई सशक्त बनाउने र भन्सार ठप्प पार्ने योजना बनाएको बुझिएको छ ।
महिना दिनमा ३० वढीको मृत्यु भइसेको मधेस आन्दोलनलाई वार्ता र सहमतिको माध्यमले बिसाउनेभन्दा आन्दोलन अझ चर्काएर अझ रगत बगाउने खेलमा मोर्चा लागेको छ । मधेस आन्दोलनलाई सशक्त बनाउन उनीहरुले कार्य विभाजनसमेत गरेका छन् ।
सो कार्य विभाजन अनुसार राजेन्द्र महतो र महेन्द्र यादवले ‘काठमाडौंको दाना पानी बन्द अभियान’ को कमाण्ड सम्हाल्ने छन् भने महन्थ ठाकुर काठमाडौंमा बसेर कुटनीतिक नियोगहरुको ध्यानाकर्षण गराउने छन् । त्यस्तै अशोक राईसंग पार्टी एकिकरण गरेर पहाडमा साइनो गास्न पुगेका उपेन्द्र यादव पहाडकै जनजातीको आन्दोलन उकास्दै राज्यको ध्यान मधेसमा मात्र केन्द्रित हुन नदिने योजनाकासाथ पहाड खटिएका छन् ।