Skip to content
LAXMI SUNRISE BANK

फेसबुकमा अब ‘डिसलाइक’ पनि

अर्थ सरोकार

विश्वमै लोकप्रिय मानिएको सामाजिक संजाल ‘फेसबुक’ ले प्रयोगकर्ताहरुको मागलाई ध्यानमा राख्दै ‘डिसलाइक’ बटन उपलब्ध गराउने भएको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले यस्तो जानकारी दिएका हुन् । क्यालिफोर्नियास्थित फेसबुक मूख्यालयमा आयोजित एक कार्यक्रममा ३१ वर्षीय जुकरबर्गले भने, ‘फेसबुकमा चाँडै नै डिसलाइक बटन राखिने छ ।’

फेसबुकले सन् २००९ मा ‘लाइक’ बटनको विकल्प उपलब्ध गराएको हो । त्यतिबेलादेखि नै ‘डिसलाइक’ बटनको माग हुँदै आएको छ ।

फेसबुक प्रयोगकर्ताहरुले आफ्ना साथीका तस्वीर तथा स्टाटसलाई मन पराएको अर्थमा ‘लाइक’ बटन प्रयोग हुँदै आएको छ । तर ‘डिसलाइक’ बटनलाई भने प्रयोगकर्ताले कसैको तस्वीर तथा स्टाटस ‘मन नपराइएको’ अर्थमा नभई सहानुभूति व्यक्त गर्ने तरिकाका रुपमा प्रयोग गर्ने फेसबुकको विश्वास छ ।

जुकरबर्गले भने, ‘जब दुःखले भरिएका पोस्ट देखिन्छ, त्यसमा लाइक गर्नु असमवेदनशील मानिन्छ, यस्तो अवस्थामा डिसलाइक बटनको विकल्प प्रयोग गर्न सकिन्छ ।’

प्रयोगकर्ताले कुनै पनि पोस्टमा ‘लाइक’, ‘कमेन्ट’ वा ‘शेयर’ को विकल्प पाउँदै आएका थिए । तर कसैको निधन भएको पोस्टमा ‘लाइक’ गर्नु व्यवहारिक रुपमा राम्रो नदेखिएका कारण त्यस्ता पोस्टका लागि फेसबुकले ‘डिसलाइक’ विकल्प राख्न लागेको हो ।

चाँडै नै यो विकल्प प्रयोगकर्ताका माझ आउने जनाए पनि कहिलेसम्ममा उपलब्ध हुन्छ भन्नेबारे फेसबुकले प्रष्ट पारिसकेको छैन । (एजेन्सी)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK