×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय र बंगलादेशी नेपाली पासपोर्टमा विदेश

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भारतीय र बंगलादेशी नेपाली पासपोर्टमा विदेश

८ आश्विन २०७२, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

खाडी मुलुक कुवेतमा बंगलादेशी नागरिकलाई रोजगारीमा जान प्रतिबन्ध छ । तर, सयौँ बंगलादेशी त्यहाँ कार्यरत छन् । आफूहरू नेपाली भएको भन्दै झुक्याएर उनीहरू कुवेतमा काम गर्दै आएका छन् ।
नेपाली भएको भनेर ढाँट्ने मात्र होइन, उनीहरूले नेपाली पासपोर्ट नै प्रयोग गर्दै आएका छन् । नेपाली पासपोर्ट खरिद गरी सयौँ बंगलादेशी कुवेतलगायतका खाडी देशमा कार्यरत छन् । तीमध्ये एक हुन्– मोहम्मद वोहार । जो यतिवेला महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।
दुई वर्षअघि उनी बंगलादेशबाट कतार गएका थिए । कतारबाट कुवेत जाने क्रममा उनी मोहम्मद वोहारबाट रामकुमार साह बने । मानव तस्करीमा संलग्न गिरोहले नेपाली नागरिक रामकुमार साहको पासपोर्टमा उनको फोटो टाँसिदिए र उनलाई कुवेत पठाए । दुई वर्षसम्म कुवेत बसेर गत महिना बंगलादेश फर्कंदै थिए ।
कुवेतस्थित एयरपोर्टमा कुन देशबाट आएको भनेर अध्यागमनका अधिकारीले सोध्दा उनले आफू बंगलादेशबाट आएको बताए । तर, उनको हातमा नेपाली पासपोर्ट थियो । शंकास्पद लागेपछि त्यहाँको अध्यागमनले उनलाई नेपाल डिपोर्ट गरी पठाएको थियो । नेपालमा अध्यागमन विभागले अध्यागमन ऐनअनुसार उनलाई मुद्दा चलाएकोमा उनी धरौटी तिरेर छुटे । नेपाली पासपोर्टमा किर्ते गरेकाले विभागले थप अनुसन्धान र कारबाहीका लागि गत साता काठमाडौं परिसरमा पठाएको हो ।
सरकारी दस्तखत छाप किर्ते मुद्दामा उनीमाथि छानबिन भइरहेको परिसरका डिएसपी दिनेश आचार्यले बताए । पचरवा–६ धनुषाका रामकुमार साहको पासपोर्टमा उनले कुवेतमा दुई वर्ष काम गरेका थिए । उनीजस्ता सयौँ बंगलादेशी कुवेतमा नेपाली पासपोर्टमा काम गर्दै आएको खुलेको छ ।
अर्का एक बंगलादेशी युवती अध्यागमन विभागको हिरासतमा छिन् । मौनिती नाम गरेकी ती युवती पर्वतकी प्रविना पुन लामिछानेको पासपोर्टमा साउदी अरेबिया गएकी हुन् । भारतमा दलालहरूले उनलाई नेपाली बनाएर साउदी पठाएका थिए । नेपाल फर्कने क्रममा उनी बंगलादेशी भएको खुलेपछि अध्यागमनले कारबाही प्रक्रिया अघि बढाएको हो ।
त्यस्तै, एक भारतीय युवती शोभा तामाङलाई प्रहरीले थुनामा राखी कारबाही प्रक्रिया अघि बढाएको छ । दार्जिलिङ घर भएकी तामाङ हरिपुर–१ सर्लाहीकी सावित्री नेपालीको पासपोर्टमा साउदी अरेबिया पुगेकी थिइन् । साउदीमा दुई वर्ष काम गरेर फर्कने क्रममा उनी गत साता पक्राउ परेकी थिइन् ।
अध्यागमन विभागका अधिकारीका अनुसार यसरी नेपालीको पासपोर्ट किनेर वैदेशिक रोजगारीमा जानेको संख्या ठूलो छ । कतिपयलाई फर्कने क्रममा त्यहाँको सरकारले थाहा पाएर नेपाल डिपोर्ट गर्छ भने कतिपयचाहिँ उम्कन सफल हुन्छन् । बंगलादेशी पुरुष र भारतीय महिला नेपाली पासपोर्टमा खाडी मुलुकमा वैदेशिक रोजगारीमा जाने गरेका छन् ।
ढाकादेखि दुबईसम्म दलाल
नेपालका पत्रपत्रिकामा पासपोर्ट हराएको भनेर हरेक दिन सूचना छापिन्छन् । आखिर कहाँ हराउँछन् ती पासपोर्ट ? हराएको नभई ती पासपोर्टको खरिद–बिक्री हुने गरेको प्रहरी अधिकारी बताउँछन् ।
हराएको भनेर सूचना निकाल्नेबित्तिकै नयाँ पासपोर्ट पाइने भएकाले पुरानो पासपोर्ट बिक्री गरेर नयाँ पासपोर्ट बनाउने चलन छ । त्यसरी हराएको भनेर बेचिने पासपोर्टमा भारतीय तथा बंगलादेशी नागरिकलाई वैदेशिक रोजगारमा पठाउने गरिएको छ । नेपाली भनेर पठाउँदा सहज हुने भएकाले मानव तस्करीमा संलग्न गिरोहले नेपाली पासपोर्टको समेत खरिद–बिक्री गर्दै आएका छन् । यसमा केही मेनपावर तथा मेनपावरका एजेन्टहरूको भूमिका छ । उनीहरूले भिसा लगाइदिने भन्दै पासपोर्ट लिएर हराएको बहाना गरेर बेच्ने गर्दछन् ।
तीन लाख रुपैयाँभन्दा बढीमा त्यसरी नेपाली पासपोर्ट बिक्री हुने गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत वर्ष गरेको अनुसन्धानमा खुलेको थियो । सिआइबीले बंगलादेशी नागरिक मोहम्मद डेलवार हुुसेन तथा नेपाली मेनपावर व्यवसायीहरू देवी काफ्ले, पूर्णबहादुर मगर र कुमार पुरीलाई पक्राउ गरेको थियो ।
धेरैजसो पासपोर्ट दिल्लीमा खरिद–बिक्री हुने गरेको थियो । दिल्लीमा एउटाको पासपोर्टमा अर्काे व्यक्तिको फोटो टाँसी विदेश पठाउने ठूलो गिरोह छ । त्यस्ता गिरोहले महँगोमा पासपोर्ट खरिद गर्ने भएकाले नेपालका एजेन्टहरू हराएको भन्दै बिक्री गर्दथे । दिल्लीबाटै उनीहरूले वैदेशिक रोजगारमा पठाउँदै आएका छन् । त्यसरी दिल्लीबाट अर्काको पासपोर्टमा विदेश गएका केही युवायुवती अहिले पनि काठमाडौं प्रहरीको हिरासतमा छन् ।
प्रमिला सार्की, भेषकुमारी पुन, लामु तामाङ, सुनिता माझी र धनबहादुर तामाङ अर्काको पासपोर्टमा आफ्नो फोटो टाँसेर विदेश गएको डिएसपी आचार्यले बताए ।
केही पासपोर्टहरू भने ढाकामा पठाएर उतैबाट बंगलादेशीहरूलाई वैदेशिक रोजगारमा विभिन्न देश पठाउने गरिएकोसमेत खुलेको छ । फर्किएर आएकाहरू पटक–पटक पक्राउ पर्छन्, तर पासपोर्ट खरिद–बिक्री गर्ने गिरोहहरूको बारेमा प्रहरीले अनुसन्धान गर्दैन । त्यसरी अर्काको पासपोर्टमा विदेश जानेहरूसमेत सामान्य धरौटीमा छुट्ने गरेका छन् । हस्तलिखित पासपोर्टमा सजिलै फोटो परिवर्तन गर्न सकिने भएकाले यसरी पासपोर्टको खरिद–बिक्री हुने गरेको हो । आगामी नोभेम्बर २४ देखि अनिवार्य रूपमा एमआरपी चाहिने निर्णय सरकारले गरिसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: