
भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको हाहाकार भैरहेकाबेला उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले हवाइमार्गबाट इन्धन ओसार्ने बताएका छन् ।
इन्धन अभावको सामना गर्न जोर बिजोर प्रणालीका आधारमा गाडी चलाउने घोषणा गरिसकेको भन्दै उनले आत्मसमर्पण गर्ने स्थिति आउन नदिने बताए ।
प्याक–प्याक हुन दिँदैनौं
शनिबार नर्भिक अस्पतालले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री गौतमले नाकाबन्दीको डटेर सामना गर्ने बताए ।
‘भारतले नाकाबन्दी गर्दैैमा प्याक–प्याक हुन दिँदैनौं । काठमाडौंका जनतालाई आत्मसमर्पण गर्ने स्थिति आउन दिँदैनौं,’ भारतप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका मन्त्री गौतमले भने, ‘हवाई जहाज अब रोकिने छैन । हवाई जहाजलाई चाहिने इन्धन हवाईमार्गबाटै ल्याउँछौं ।’
समय धेरै परिवर्तन भैसकेकाले आफूहरुसँग पनि धेरै उपाय रहेको भन्दै उनले पहिलेको जस्तो नठान्न भारतलाई चेतावनी दिए । उनले संविधान निर्माण नेपालको आन्तरिक मामिला भएकाले हस्तक्षेप नगर्न समेत भने ।
मोर्चाको विज्ञप्ति र भारतका कुरा उस्तै–उस्तै
‘हामीले के बिगारेका छौं भारतको निम्ति ?’ एमाले उपाध्यक्ष समेत रहेका मन्त्री गौतमले भने, ‘भारतले हाम्रो चिन्ता गर्नुपर्दैन, आफ्नो चिन्ता गरे हुन्छ ।’
मधेसी मोर्चाको विज्ञप्ति र भारतका कुरा उस्तै–उस्तै भएको भन्दै उनले त्यसलाई संयोगमात्र मान्न नसकिने बताए । मन्त्री गौतमले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेर तराईका जनतालाई नउचाल्न सुझावसमेत दिए ।