
भारतले नेपालमा नयाँ संविधान जारी भएको विषयमा विरोध जनाइरहँदा संयुक्त राष्ट्रसंघले पनि त्यस्तै आशयको विज्ञप्ति जारी गरेको छ ।
राष्ट्रसंघका महासचिव वान कि मुनका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा नेपालमा नयाँ संविधान जारी गरिएको कुनै शब्द प्रयोग गरिएको छैन । मंगलबार जारी गरिएको विज्ञप्तिमा नेपालमा संविधान अनुमोदन भएकाबारे जानकार रहेको मात्र उल्लेख छ । भारतले पनि नेपालको संविधानबारे आफू जानकार रहेको मात्रै जनाएको थियो ।
तराईमा जारी हिंसात्मक घटनाप्रति गहिरो चिन्ता जनाउँदै विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शन र भेला हुन पाउने स्वतन्त्रताको सम्मान गर्न समेत आग्रह गरिएको छ । ‘संविधान एउटा जीवन्त दस्तावेज हो । नेपालका नेताहरूले बृहत्तर राष्ट्रिय स्वार्थका लागि लचक र समावेशी ढंगले काम गर्नुपर्छ भन्ने मेरो आग्रह छ ।’ विज्ञप्तिमा भनिएको छ, तराईमा हालैका दिनहरुमा भइरहेका हिंसालाई शान्तिपूर्ण संवादका माध्यमबाट हल गरिनुपर्छ ।
संविधानसभाबाट ९५ प्रतिशत भन्दा बढी बहुमतले संविधान जारी हुँदा समेत विश्वकै साझा संस्था मानिएको राष्ट्रसंघले स्वागत नगर्नुलाई नेपाली नेताहरुले दुःखद भनेका छन् । जबकि संविधानसभा जारी गर्नुभन्दा पहिले दुई दिन मतदान प्रक्रिया स्थगित गरिँदा राष्ट्रसंघीय महासचिव बानले त्यसको स्वागत गरेका थिए । तर, देशमा लोकतान्त्रिक प्रक्रियाबाट संविधान जारी हुँदा समेत राष्ट्रसंघले स्वागत नगर्नुलाई नेपाली जनताले राष्ट्रसंघीय मिसनमा दिएको योगदान अनादार भएको एक नेताले बताए ।
भारत र राष्ट्रसंघले स्वागत नगरेपनि अमेरिका, जर्मनी, रुस, फ्रान्स, जापान, चीन र पाकिस्तानलगायतका मुलुकहरुले भने नेपालमा नयाँ संविधान जारी भएकोमा स्वागत र समर्थन गरेका छन्।