
काठमाडौं, २४ भदौ । डिस्चार्ज भएका आफ्ना विरामीलाई अस्पतालले नै एम्बुलेन्सको ब्यवस्था गर्ने पर्ने भन्दै नेपाल प्रहरीका असईले पाटन अस्पतालका दुई डाक्टरमाथी कुटिए गरेका छन् । वालुवाटार सामुदायिक प्रहरीमा कार्यरत नेपाल प्रहरीका असई विजय सिलवालले पाटन अस्पतालका डाक्टर विमल पाण्डे र संचित कार्कीमाथि कुटपिट गरेको अस्पताल प्रशासनले जनाएको छ ।
असई सिलवालका एक आफन्त जण्डिसको उपचार गर्न पाटन अस्पताल भर्ना भएका थिए । त्यहाँबाट असई सिलवालले नै रिफर गर्न अस्पताललाई आग्रह गरेका थिए । तर अस्पतालले एम्बुलेन्स उपलब्ध गराउन नसक्ने बताएपछि बर्दीमै रहेका असई सिलवालले डाक्टरमाथी कुटपिट गरेका थिए । ‘एम्बुलेन्स खोज्ने काम हाम्रो होइन, तिमीहरुको हो’ भन्दै उनले डाक्टरमाथी कुटपिट गरेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालले विरामीका लागि एम्बुलेन्स ब्यवस्था गर्न नसक्ने जनाएपछि असई सिलवाल सरासर डाक्टरको कार्यकक्षमा पसेका थिए । ‘उनले पहिले आफ्नो बर्दि खोले, त्यसपछि डाक्टरमाथी कुटपिट सुरु गरे’ अस्पताल स्रोतले बताएको छ ।
डाक्टर कुटपिट गर्ने असई सिलवाल ललितपुरलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । उनीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अस्पतालका डाक्टर कर्मचारी काम छोडेर आन्दोलनमा उत्रेका छन् । डाक्टर कर्मचारीले असई सिलवाललाई कारवाही गर्न माग गरेका छन् ।