×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतकै भर पर्दा एमाओवादी उत्तानो, अब पालो काँग्रेस कि मधेसीको ?

GLOBAL IME BANK

भारतकै भर पर्दा एमाओवादी उत्तानो, अब पालो काँग्रेस कि मधेसीको ?

२२ आश्विन २०७२, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

बिहीबार नेपाली काँग्रेसको बैठक बस्यो । उसले ‘नाकाबन्दी’ को ‘न’ पनि उच्चारण गर्न सकेन । सकोस् कसरी, मधेसी आन्दोलनभन्दा बढी भारतपरस्त अनुहारहरु त्यहाँ मौजुदा छन् । तत्कालीन भारतीय राजदुत राकेश सुधलाई गाली गरेकै कारण सत्तारोहण पछि सारिएको रनाहमा परेका सुशील कोइरालालाई ‘पार्टी सभापति’ र ‘राष्ट्रपति’ को टोकन अफ लभ आउने सम्भावना छ । उसमाथि ‘पिएम’ को शासन लम्ब्याउने विषालु रहर मनैदेखि कब्जियत भएर आइरहेको छ । यसमाथि पार्टीमा १३ औँ महाधिवेशनका लागि आउने २४ सय महाधिवेशन प्रतिनिधिमध्ये ४ सय ‘दुई नम्बर’ प्रदेशकै छन् । त्यो मध्ये केही त मौजुदा मन्त्रिमण्डलमै छन् ।

अरु प्रदेशका नेता पनि उस्तै छन् । सरकारका प्रवक्ता डा. मिनेन्द्र रिजाल, अर्का मन्त्री बिमलेन्द्र निधि भारतको स्तुतिमा राजेन्द्र महतोलाई उछिन्न होडबाजी गरिरहेका छन् । कुमार घैँटे मारिएदेखि नै अमिलो भएको गगन थापाको मन पनि कुँडिएको छ । संविधान बने पनि भारत चिढिएकामा उनको मुटुको धडकन नियमित नभएको रेकर्ड लैनचौरमा छ भन्ने चिकित्सकहरु काँग्रेसमै छन् । संविधानसभाका बैठकमा धेरै नजाने प्रदीप गिरी, खुलेर मारकाटमा उत्रन र काँग्रेस जोगाउन देशदौडामा लागेका ‘अक्टोपस’ त्वचाका अमरेशकुमार सिंह पनि छन् त्यहाँ । उसमाथि राष्ट्रपति डा. रामवरण यादव पनि छन् सेनाका परमाधिपति ।

त्यसैले सत्ताको रछ्यानमा बस्ने रहर काँग्रेसमा छैन । लामो समयदेखि घरभाडा तिर्न नसकेका मधेसी पार्टीहरु कार्यालय नै वीरगन्जमा सार्ने भनिरहेकै हुन् । सत्तामा बस्न नपाएपछि आर्थिक समस्या भोगिरहेका उनीहरु फेरि पनि सत्ताकै बार्गेनिङका लागि आफ्नै देशविरुद्ध विदेशीको दालभात चबाइरहेका छन् । सिमामा बसेर देशको उन्नतिमा ताला लगाइरहेका छन् । सुनियो, ‘हामी पनि पूर्वमा जातीय आन्दोलन यस्तै पार्न खोजेका, सहयोग चाहियो लैनचौर भन्दै केही जनजातिका डलरप्रसादहरु युरोपियन युनियनको पैसाले नपुगेर भारु माग्न पुगे रे ।’ पूर्वमा रगत बग्छ भनेर भनेको भन्यै गर्ने खगेन्द्र संग्रौलाहरुको रहर पूरा गर्न आङकाजी शेर्पाहरुलाई लैनचौरको ‘भारु’ चाहिएकै हो कि त !

नेकपा माओवादी एकीकृत नेकपा माओवादी बन्दासम्म भारतको उसले राम्रै सहयोग पायो । पहिलो संविधानसभाको निर्वाचनमा पनि उसले ठूलो हुने अवसर पायो । यसको ऋण उसले कति ति¥यो तिरेन तर दोस्रो संविधानसभाको निर्वाचनमा उसको पराजयको कारण नेपाली जनता थिएनन्, भारत नै थियो । रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का एजेन्टहरु कुनै हालतमा काँग्रेस ठूलो बनाउन भित्रभित्रै लागेका थिए र प्रचण्डसँगको उठवशमा भने फुक्र्याउनु फुक्र्याइरहेका थिए । नवप्रवेशीलाई अबिर छर्न पनि नभ्याएका प्रचण्डलाई यस्तो शर्मनाक हार होला भन्ने भेउ नै थिएन, जब कि यो भारतकै इसारामा रअको प्रयोगमा भएको थियो । सायद यही थाहा पाएर हुनुपर्छ, हिजो यिनका मालिक दिल्लीसँग ‘सीधीबात’ गर्छु भन्ने प्रचण्डले यसपटक भने, ‘म साइकल चढ्न तयार छु, स्वाभिमान गिराउँदिनँ ।’ रुक्मांगद कट्वाल प्रकरणमा नागरिक सर्वोच्चता गुमाएका प्रचण्डले यसपटक स्वाभिमानका सट्टा बाबुराम भट्टराई गुमाए तर उनको शिर, संविधान जारीपूर्व संविधानसभा र खुलामञ्चको सम्बोधनले ‘नेसनल हाइट’ मा रुपान्तरित भए ।

प्रचण्डको यही हाइट गिराउन र ‘ढिक्का’ भएको नेकपा (एमाले)लाई ‘धूलो नुन’ बनाउन भारत राम्रैसँग खेलिरहेको छ । उसलाई यसपटक एमाले सत्तामा पुगे कुनै हालतमा ‘रअ’को भारतीय नून खानेहरु बोर्डरपारि नै बास हुने डर छ । त्यसैले ‘काँग्रेस’ गमलालाई मलजल गरिरहेको छ । २०१७ सालमा ‘खँड्करो चोरेको’ इतिहास भएको काँग्रेसले एमालेलाई सजिलै सत्ता दिन कुरै भएन । भारतभक्ति गरेर सत्तामा नपुगेको मधेसीहरुको साथ र भारतको साथमा सत्ता लम्ब्याइरहेको काँग्रेसले होइन, यतिखेर एमालेसँग निउँ खोजेको भारतले हो, उसको रअले हो ।

नेकपा (एमाले)का नेताहरु एकढिक्का हुँदा सबै आत्तिएका छन् । खासगरी अंगीकृत नागरिकता लिएर १५ करोड भन्दा बढीको सम्पत्ति जोडेका राजेन्द्र महतोलाई अहिले सबैले निसाना बनाइरहेका छन् । उनले ‘केपी ओलीलाई राँची लैजान सरकारलाई सुझाव’ शब्द बोलेपछि त्यो बोलीले अहिलेसम्म पोलिरहेको छ । काठमाडौँको दानापानी बन्द गराउँछु भन्ने हिम्मत गरेको नरेन्द्र दामोदरदास मोदी सरकारले त नसकेको बेला राजेन्द्र महतोका लागि एक–डेढसय युवाको साधारण जुलुश काफी बनिदियो कि साँच्चै दानापानी बन्द गराउने कुरा सामान्य होइन । नेपालका लागि भारतीय राजदूत रणजीत रे सबैभन्दा ‘नाकाम’ राजदूतका रुपमा फिर्ता हुने चरणमा छन् भने उनलाई असफल पार्ने काम यिनै राजेन्द्र महतोहरुले गरेका हुन् ।

दोस्रो संविधानमा एमाओवादीलाई यो साइजमा ल्याएजस्तै रअ अब स्थानीय निकायको चुनावमा काँग्रेसलाई ‘साइज’मा ल्याउन यो अभ्यास गराइरहेको छ । एमालेले सत्ता नपाउँदैमा विचलित हुनुपर्दैन । ‘पाकेका केही आँप’ झर्दैमा रुख नै खत्तम भन्नै मिल्दैन । भारत नेपालका राजनीतिक दललाई छानिछानी प्रयोग गर्न चाहन्छ । उसको आदेश मानेको हेर्न चाहन्छ । तर उसको प्रयोगले संसारभर यति बदनाम कमायो कि उसलाई यो क्षतिपूर्तिको खाडल भर्न अरु दुईसयवर्ष लाग्नेछ । काठमाडौँमा घरघडेरी जोडेका ३० हजार मधेसी मूलका नागरिक र काठमाडौँका नेवारसमुदायबीच झाँगिदै गरेको सद्भाव जलाउने काम रअको चलखेलले गरेको छ । भारतीय सत्ता कहिले बुझ्ला परालको लौरो देखाउँदा नेपाली डराउन छाडे भनेर । राजेन्द्र महतोहरु पराजित बन्दै गइरहेका बेला आङकाजी र केही पत्रकारलाई मासुभात खुवाएर कसरी सफल होला र ? बरु चिन्ता यसमा छ कि, यही पाराले काँग्रेसीहरु भारतभक्त देखिने, नाकाबन्दी नभन्ने गर्न थाले भने अर्को चुनावमा रअकै कारण काँग्रेस एमाओवादीको साइजमा आएर मुलुक कम्युनिष्टमय भयो भने कुनै आपत्ति हुँदैन । बुझिराखे हुन्छ, अब भारतले कमजोर पार्न खोजेको नेपालीको राष्ट्रियता र स्वाभिमान होइन काँग्रेस वा मधेसी हो । (समाचार टिप्पणी)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: