
कतिपय सुनचाँदी पसलले चाँदीमा अत्यधीक मात्रामा क्याडि्मएम नामक धातु
प्रयोग गरेको भेटिएको छ । यो धातुले क्यान्सरको खतरा बढ्ने विज्ञहरु
बताउँछन् ।
वाणिज्य विभागले गत असोज ६ गते केही सुनचाँदी
पसलमा अनुगमन गरी संकलन गरेको चाँदीको नमुनामा हानीकारक पनि मानिने
क्याडिमएम धातु अत्यधीक मात्रामा प्रयोग गरेको पाइएको हो ।
यस्तै
सुन पसलहरुले चाँदीमा मापदण्ड भन्दा बढी जिंक समेत प्रयोग गरेको भेटिएको
विभागमा निर्देशक हरिनारायण बेल्बासेले बताए । ‘हानिकारक धातुको प्रयोग
मात्रै भएको छैन, जिंक मिसाउँदै गहना बनाएर बेचिरहेको पुष्टि पनि भएको छ,’
बेल्बासेले भने, ‘कतिपय पसलले झण्डै २० प्रतिशतसम्म हानिकारक क्याडि्मएम
प्रयोग गरेको भेटिएको छ ।
के हो क्याडि्मएम ?
क्याडि्मएम
सुनचाँदीमा घुल्ने एक प्रकारको हानिकारक धातु हो, जुन मानव स्वास्थ्यका
लागि निकै घातक मानिन्छ । युरोपमा गरगहनामा क्याडि्मएमको प्रयोग निषेध
गरिएको छ ।
क्याडि्मएम भएका गरगहना प्रयोग गर्दा
क्यान्सरलगायत घातक रोग लाग्ने सम्भावना हुन्छ । तर, त्यही क्याडि्मएमको
प्रयोग अहिले नेपाली सुनचाँदी ब्यवसायीले गरगहनामा गरिरहेको भेटिएको छ ।
पानीमा समेत घुल्ने भएकाले यो धातु मानव स्वास्थ्यका लागि हानिकारक मानिएको बाणिज्य विभागका अधिकारी बताउँछन् ।
चाँदी
भन्दा निकै सस्तो हुने भएकाले यसलाई गहनामा मिसाउँदा व्यवसायीलाई फाइदा
हुन्छ । त्यसैको लोभमा सुनचाँदी पसलेले त्यसको अत्यधीक प्रयोग गर्ने गरेको
भेटिएको छ ।
बदमासी गर्ने पसल कुन-कुन ?
बाणिज्य
विभागले गत असोज ६ गते न्युरोड र बानेश्वर क्षेत्रका विभिन्न पाँचवटा गहना
पसलमा अनुगमन गरेर सुनचाँदीको नमुना संकलन गरेको थियो । जसमध्ये ३ वटा
पसले उपभोक्तालाई ठगी गरेर हानी पुर्याइरहेको भेटिएको निर्देशक बेल्बासेले
बताए । न्युरोडको सिल्भर प्यालेस र बानेश्वरको कर्माचार्य गहना पसलले
चाँदीमा अत्यधीक क्याडि्मएम प्रयोग गरेको विभागले जानकारी दिएको छ ।
त्यस्तै
विश्वसनीय मानिने न्युरोडकै चाँदी पसलले आफ्ना गरगहनामा १९ प्रतिशत
क्याडि्मएम मिसाएको दाबी नापतौल तथा गुणस्तर विभागले गरेको छ ।
यस्तै कर्माचार्य गहना पसलले पनि चाँदीका गहनामा क्याडि्मएमसहित जिंक प्रयोग गरेको भेटिएको छ ।
यसैगरी न्युरोडकै सिल्भर क्वीन पसलले पनि चाँदीका गहनामा अत्यधीक जिंक प्रयोग गरेको भेटिएको बेल्बासेले बताए ।
जिंक
मानव स्वास्थ्यका लागि त्यति धेरै हानिकारक नभए पनि चाँदीको तौल बढाउन
धेरै प्रयोग गरिएको विभागको निश्कर्ष छ । जिंक मिसाए पनि उनीहरुले त्यसबारे
उपभोक्तालाई जानकारी नदिई ठगी गर्ने गरेको विभागका अधिकारी बताउँछन् ।
विभागले
अनुगमन गरेका मध्ये कोटेश्वरको पाथीभारा सुनचाँदी पसल र बानेश्वरको
सिंगापुर-हङकङ सुन चाँदी पसलले भने बदमासी नगरेको जाँचमा पुष्टि भएको
विभागले बतायो ।
सुनमा पनि मिसावट
बाणिज्य
विभागले गत भदौमा गरेको अनुगमनमा पनि केही सुन पसलले २४ क्यारेट दाबी
गरेको गहनामा १२ प्रतिशतसम्म मिसावट गरेको भेटिएको थियो । त्यसबेला कतिपय
पसलले गहनामा ८८ प्रतिशत मात्रै सुन राखेको पुष्टि नापतौल विभागले गरेको
थियो ।
चाँदीमा मात्रै नभएर सुनमा पनि रसायन, चाँदी र
तामा मिसाउने गरिएको पाइएको छ । २४ क्यारेटको सुनमा ९८ प्रशिततसम्म शुद्धता
हुनुपर्छ । तर, अनुगमनमा अधिकांश पसलले मापदण्डभन्दा कम शुद्धता भएका गहना
बेच्ने गरेको पुष्टि भएको थियो ।
ठग्नेलाई के कारवाही हुन्छ ?
बाणिज्य
विभागले चाँदीका गहनामा हानीकारक धातु प्रयोग गरेको र अन्य धातु मिसाएर
उपभोक्ता ठगी गर्नेलाई कडा कारवाही गर्ने बताएको छ । ‘हामी उपभोक्ताको
स्वास्थ्यमाथि खेलवाड गर्नेहरुलाई नियन्त्रणमै लिएर कारवाही गर्छौं,’
निर्देशक बेल्बासेले भने,’ उनीहरुलाई विभागमा वयानका लागि बोलाएका छौं ।’
विभागले उपोक्तालाई ठग्ने विरुद्ध कालोबजारी र उपभोक्ता हित संरक्षण ऐनअनुसार कारवाही हुने जनाएको छ ।