×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिमी बौलाएकै हौ र बाबुराम ?

GLOBAL IME BANK

तिमी बौलाएकै हौ र बाबुराम ?

२१ आश्विन २०७२, बिहीबार

पढ्न लाग्ने समय: १० मिनेटभन्दा कम

भव्य मौसम थियो । राजधानीमा दीपावली चलिरहेको थियो । एक थान दौरा सुरुवाल लगाएर, दुईचार हरफ महेन्द्रमालाका ‘राष्ट्रवादी हरफ’ कण्ठ गरेर, माधव घिमिरेका दुईचार लाइन कविता गुन्गुनाएर मात्रै पनि राजनीतिक उचाईको ‘नेप्से’ ह्वात्तै बढ्नेवाला थियो । संविधान बनाउन मरिहत्ते गरेर लागेकै हुन् । जन्माउनेदेखि हुर्काउने, बढाउने सबै काम सक्न अहोरात्र खटेकै हुन् भन्ने सबैलाई थाहा थियो । तर पनि काफल पाकेको वन छाडेर एउटा चरोले किन ‘मरुभूमि’तिरको उडान भर्‍यो ? के त्यो चरोलाई दशा नै लागेको हो ? के त्यो चरो बौलाएकै हो ?
 
लाग्छ, हिजो जनयुद्धकालमा जस्तै तिमी रैथाने शासकहरुको ‘भयंकर आतंककारी’को नयाँ संस्करणमा जन्मिएका छौं । अब मात्र तिम्रो टाउकाको मूल्य तोकिन बाँकी छ । फरक यति छ कि अब तिम्रो टाउकोको मूल्य तोक्न हिजो तिमीसँगै मूल्य तोकिएका प्रचण्ड पनि केपी र सुशीलहरुको लाइनमा हुनेछन् ।

त्यो चरो अर्थात् बाबुराम भट्टराई । उनको नामको अगाडि डाक्टरको उपाधि पनि छ । पूर्वप्रधानमन्त्री, सफल अर्थमन्त्री, संवाद समितिका सभापति, अत्यधिक मत ल्याएर विजयी सांसद, एमाओवादीका पूर्व उपाध्यक्ष तथा वरिष्ठ नेता, प्रचण्डको मन पग्लिए एमाओवादीको भावी अध्यक्ष पनि । अन्ततः बाबुराम यि सबै पगरीहरु त्यागेर धोती र कछाड बेरेर मधेसतिर झरे । विगत बिर्सिएर महाकालीको पानीमा पौडी खेल्दै ‘राष्ट्रवादी’ ओलीको ‘बयलगाडा’मा सवार भएर गणतन्त्र नेपालको ‘उन्मुक्त’ सडकमा दीपावली मनाउन छाडेर बाबुराम किन बाहिरिए ? साँच्चै बाबुराम बौलाएकै हुन् ?
सुदर्शन खतिवडा

पार्टी फुटाएपछि विचार छाडेर सम्पत्तिको झगडामा उत्रिएका प्रचण्ड–किरणको अंशबण्डा अझै टुंगिएको छैन होला । पेरिस डाँडादेखि जिल्ला–जिल्लाका पार्टी कार्यालयहरुमा अझै विवादका बबण्डरहरु बाँही नै होलान् । तर बाबुराम पार्टीबाट एक्लै बाहिरिए । तीसौं वर्षसम्म पसिना र आँसुले सिञ्चिएको पार्टीको झण्डा छाडेर गए, निर्वाचन आयोगले दिएको ट्रेड मार्क त्यागेर गए, पेरिस डाँडाको भव्य भवन बिर्सेर गए, छँदाखाँदाका सेवा सुविधा छाडेर गए । विचार समूहमा क्रियाशील हजारौं नेता कार्यकर्ता मात्र होइन युगान्तकारी परिवर्तनको अभियानमा क्रियाशील लाखौं कार्यकर्तालाई स्वतन्त्र छाडेर गए । उनी हिजो जनयुद्धमा लाग्दा आफ्नो निजी जीवनका बहुआयामिक सम्भावनाहरु जसरी छाडेर आएका थिए, तीसौं वर्ष रगत र पसिनाले मलजल गरेको पार्टी र सम्भावना त्यसैगरी छाडेर गए । त्यसो त, हिजो जनयुद्धमा लाग्दा जसरी एकाथरी सम्भावना छाडेर हिँडेर अर्कोथरी सम्भावनाको खेती गरे आज पनि त्यो सम्भावना होला तर उनी किन बनिबनाउ सत्ता र सुविधा छाडेर बाहिरिए ? मानसिक सन्तुलन गुमाएकै हुन् त बाबुरामले ?

उनी यस्तो बेला छाडेर गए, जतिबेला पार्टी अध्यक्ष प्रचण्डको ‘उचाई’ चुलिएको छ । ओली र सुशीलहरुले मन नपराएको जनयुद्धको वर्गीय, जातिय, क्षेत्रीय र लिंगिय एजेन्डाका ‘कलंक’ बोकेर उनी एक्लै किन बाहिरिए ? यस्तो भयंकर जोखिम उठाउनु अघि एउटा पागलले पनि हजार पटक सोच्छ होला । यस्तो खतरनाक जुवा तिमीले खेलिरहेछौं कि हारेमा तिमी मात्रै हार्छौ र, कलंक बोकेर मर्छौ । जितेमा सिंगो देशले जित्छ । लाग्छ, हिजो जनयुद्धकालमा जस्तै तिमी रैथाने शासकहरुको ‘भयंकर आतंककारी’को नयाँ संस्करणमा जन्मिएका छौं । अब मात्र तिम्रो टाउकाको मूल्य तोकिन बाँकी छ । फरक यति छ कि अब तिम्रो टाउकोको मूल्य तोक्न हिजो तिमीसँगै मूल्य तोकिएका प्रचण्ड पनि केपी र सुशीलहरुको लाइनमा हुनेछन् । आखिर किन मोल्दै छौ ‘महान’ जोखिम ? तिमी दिमागी बिरामी भएकै हौ र बाबुराम ? होइन भने, हुनेवाला प्रधानमन्त्रीले ‘क्याबात्’ भन्दै मार्ने धाप र प्रसंशाको धुप, दीप, नैवेद्य छाडेर किन मधेस होमियौ, तिमी किन मगराँत होमियौ ?

छिमेकीको चार वर्षे छोरोले गाडामा तरकारी बेच्दै हिँडेका ५० नाघेका बुढालाई ‘ए धोती’ भनेर जिस्काउँछ । सेतो मान्छेले ‘दर्शन’ भेट्दा कालो छाला भएका मधेसीले ‘तँ, तिमी’ र ‘धोती’ को उपमा पाउँछन । आखिर चार वर्षे बालकका अगाडि मधेसमा जन्मिएका कारण ६० वर्षे वृद्ध ‘भैया’ बनिदिन्छ । यो त हाम्रो संस्कार नै भइसक्यो बाबुराम । यो त हाम्रो गौरवशाली संस्कृति नै भइसक्यो । दुई–चार महिना अघि यिनै मधेसी, जनजाति, महिला, दलित आदिको एजेन्डा बोक्दा तिम्रो ‘गौरवशाली’ पार्टी र त्यसका नायक प्रचण्डलाई कति नंग्याइएको थियो ? के तिमीले बिर्सियौ ? प्रचण्डले ‘बरु मर्न तयार छु, जनयुद्धका एजेण्डा छाड्दिन’ भन्दा सामाजिक सञ्जालमा कति गाली खाएका थिए ? आवरण हेरेर आत्मालाई कुल्चने, माटो समातेर मानवता बिर्सने यो समाज तिमीले चिनेका छैनौ ? एक महिनामा एउटै मानिसलाई रातारात भगवान र रातारात राक्षस बनाउने यो समाजको अपरम्पार चरित्र तिमीले किन ख्याल गरेनौ ? आखिर किन उठायौं बाबुराम यो जोखिम ? यही जोखिम उठाउँदा हिजो आतंककारी भयौ । आज यही जोखिम उठाएर किन ‘दलाल’ बनिरहेका छौ ? के भएका जति सबै विभेदको विरुद्ध लड्नुपर्ने तिमीले मात्रै ठेक्का लिएका छौं ? के तिमी साँच्चै बौलाएकै हौ ?

कति आनन्द थियो । संविधान बनेकै थियो । एकाध वर्ष यसकै जस लिएर सेवा सुविधा लिन सकिन्थ्यो । राजनीतिक अंक गणितका हिसाब–किताब मिलीहाल्यो भने राष्ट्रपति वा प्रधानमन्त्रीका ढोका पनि खुलिहाल्थ्यो कि ? किन लिनुपर्यो समृद्धिको ठेक्का ? किन सुधार्नुपर्यो जनताको स्तर र किन बनाउनु पर्यो देश ? तिमीलाई किन चाहियो नयाँ शक्ति ? राजनीति गर्ने देश बनाउन हो र ? यो त फगत आमसभा गर्न, युद्ध गर्न, ठूलो पार्टी बनाउन र एकाधलाई शासक बनाउन मात्र होइन र ? किन उभियौ तिमी यो भयंकर राष्ट्रवादीहरुको विशाल जुलुसको विरुद्ध ? तिम्रो मगज ठिक त छ बाबुराम ?
 

प्रचण्डले ‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे’ गाइरहँदा तिमीले किन गायौ ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले छेक्नुपर्छ’ भनेर ?

हेर त, तिम्रा समकालीनहरु कसरी गाइरहेछन् ‘राष्ट्रियताको गीत’ । जनता र विभेदको कुरा गर्नु पनि राष्ट्रियता हो र ? तिमीले जमिन र वीरताको गाथा गाउनुपर्थ्यो । माटो चिन्नुपर्दथ्यो, नक्सा र सीमाना चिन्नुपर्थ्यो तर तिम्रो दिमाग बिग्रियो र तिमी जनता चिन्न थाल्यौ । भूगोलको विविधता चिन्नुपर्दथ्यो तर जनताको विविधताको इतिहास पढ्न र पढाउन थाल्यौ । समाजमा विद्यमान विभेदमाथिको पर्दा उघारेर तिमीले किन भड्काउँदै छौ साम्प्रदायिकता ? बिसे नगर्चीको कविता लेख्नेहरुलाई तिमीले किन आदर्शीकरण गर्यौ ? प्रचण्डले ‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे’ गाइरहँदा तिमीले किन गायौ ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले छेक्नुपर्छ’ भनेर ? बिपीले ‘राष्ट्रियताको विवेचनामा सर्वप्रथम तत्व र अन्तिम तत्व पनि जनता हो’ भन्दा अराष्ट्रिय तत्व बनेको इतिहास तिमीले किन भुल्यौ बाबुराम । तिमीले हिमाल, पहरा, छहरा, लालीगुराँस, गाई र डाँफेहरुको गीत गाउन छाडेर किन बोल्यौ जिउँदाजाग्दा मान्छेहरुको बारेमा ? यसकारण, बाबुराम तिमी साँच्चिकै बौलाएका त हैनौ ?
 

पार्टी सदस्यता लिएर मात्र ‘कम्युनिष्ट’ बन्ने औपचारिक र रुढीवादी कम्युनिष्टहरुको भिडका विरुद्ध एक्लै उभिने हिम्मत तिमीले किन गर्यौ बाबुराम ? के तिम्रै ठेक्का हो र कम्युनिष्ट भनेको औपचारिकता भन्दा जीवनशैली र जीवनव्यवहार हो भन्ने कुरा पुष्टि गर्नु ?

कतिपयले त तिमीले कम्युनिष्ट आदर्श पनि छाडेको भनिरहेका छन् । कुनै बेला सिकाइन्थ्यो, ‘मालेमावाद र प्रचण्डपथ’ बाहेक अरु सबै भ्रम हो । यो बाहिरका ज्ञान र सभ्यता जनविरोधी हुन् । तिमीले बिरोध गर्यौ । संविधानसभाको माग राख्दा पार्टीभित्रैबाट सबै हैसियत र सदस्यता खोसेर ‘गैरकम्युनिष्ट’ बनाइयौ । पछि तिमीलाई हैसियत फिर्ता दिइयो र सदस्यता पनि । फेरि तिमी कम्युनिष्ट नै भयौ । तर तिमीले अहिले एमाओवादीको पार्टी सदस्यता त्याग्नासाथ कम्युनिष्ट आदर्शबाट पलायन भएको गाली खाइरहेछौ । पार्टी सदस्यता लिएर मात्र ‘कम्युनिष्ट’ बन्ने औपचारिक र रुढीवादी कम्युनिष्टहरुको भिडका विरुद्ध एक्लै उभिने हिम्मत तिमीले किन गर्यौ बाबुराम ? के तिम्रै ठेक्का हो र कम्युनिष्ट भनेको औपचारिकता भन्दा जीवनशैली र जीवनव्यवहार हो भन्ने कुरा पुष्टि गर्नु ?

तिम्रो ममतामयी आमा मरेको खबर नदिएर हिरासतमा थुनेका तिम्रा अध्यक्षले तिमीलाई आमा मरेको दुःखमा आँसु बगाउने अवसर पनि दिएनन् । ज्यान बचाएर निस्कियौ । पछि संविधानसभा पार्टीको लाइन भयो तर, देशको लाइन भएन । तत्कालीन माओवादीले संविधानसभाको नारा लगाउँदा १७ सय नेपाली मारिएका थिए । यसलाई देशकै एजेण्डा बनाउँदा १७ हजार नेपाली मारिए । चुनाव भयो । जनताले ठूलो पार्टी बनाए । तिमीहरु पालुंगटार गयौ । त्यहाँ तिम्रो स्वर सानो भयो । जनताको विश्वासमाथि धोकाधडी भयो । विद्रोहको लाइन पास भयो । तिमी त्यतिबेला पनि हुल र भीड भन्दा सत्यको पक्षमा उभिएका रहेछौ । पछि थाहा पायौं । विद्रोह गर्ने भने । तिमीले हुँदैन, सकिँदैन भन्यौं । हजारौं कार्यकर्ताहरु काठमाडौंबाट जीवनकै सबैभन्दा रक्षात्मक भएर विद्रोहको मोर्चाबाट घर फर्किए । पछि एकथान संविधान बनाउनौ पर्यो । अहोरात्र खटियौ । संविधान बनायौ । उता अध्यक्ष प्रचण्ड केपी ओली र सुशीलसँग मादल बजेअनुसार आफ्नै आदर्शको श्रीपेच फुकालेर नाँचिरहेछन् । तिमी यसरी नाँच्न थाल्यौ कि तिमीले नाँचे अनुसार मादल बजाइदिनेहरु हुनुपर्ने ! यस्तो अप्ठेरो बाटो तिमीले किन रोज्यौ ? के तिम्रो मगजले काम गर्न छाडेकै हो बाबुराम ?
 

यस्तै अन्य सामग्रीहरु आफ्नै फेसबुक वालमा प्राप्त गर्नका लागि हाम्रो आधिकारीक फेसबुक पेजमा लाईक गर्नुहोस् ।

यहाँ झण्डा, सहिदका फोटो र पार्टीको पोर्टफोलियो बोकेर सच्चा कम्युनिष्ट बन्नेहरुको भिड छ । तर झण्डा बोक्नेहरु झण्डाको आदर्श भुलिरहेका छन् । सहिदका फोटो बोक्नेहरुले सहिदका सपना भूलिरहेछन् । इतिहास बेचेर ब्याज डकार्दै बाँचिरहेछन् । सहिदको सपना जनताको जीवनस्तर उकास्ने हो कि एकाध नेताहरुको ? जनयुद्धका एजेन्डा के थिए ? भाँडमा जाओस् भविष्य, जोखिममा परोस् जनताको खुसी र समृद्धि ! यहाँ जनता बेचेर राजनीतिको जागिर जोगाइरहेछन् । दौरा सुरुवाल लगाएर कोशी, टनकपुर, गण्डकी र महाकाली सम्झौता गर्नेहरुको यति ठूलो जमात छाडेर धोती र कुर्ता सलवार भिर्दै तिमीले किन बाटो बिरायौ बाबुराम ?

‘पहाडमा जन्मिने मात्र नेपाली, मधेसमा जन्मिने चाहिँ नेपाली हुँदैनन् ?’ भन्दै मधेसी युवाहरु भड्किरहेका छन् । अन्तका माग दुई चार दिनमा सम्बोधन भए । मधेस आन्दोलनले पीडादायी दिनहरुको अर्धशतक हानिसक्दा आवाज सुनिएको छैन । मधेसी र पहाडको दुरी बढिरहेको छ । डा.सिके राउतहरु हावी भइरहेछन् । हो, मधेसले नेता भन्दा दलाल बढी जन्मायो । तर एकाध बदनाम मधेसी नेताहरुलाई देखाएर सिंगो उत्पीडित मधेसी जनतालाई भड्काउने खेल भइरहेको छ यहाँ । के यो देशको अखण्डता जोगाउने ठेक्का तिम्रो मात्रै हो र ? मधेसकै नेताहरु मधेसको भन्दा छिमेकीको ‘दलाल’ बनिरहेका छन् । तिमी मधेसको पक्षमा बोल्दा तिमीलाई छिमेकीकै ‘दलाल’ भनिरहेछन् । के थाहा सर्वसाधारणलाई वर्षौंदेखि भारतको ज्यादतीविरुद्धमा सीमामा भिडिरहेका मधेसी जनताको राष्ट्रवाद दौरासुरुवाल लगाएर नदीनाला बेच्नेहरुको महान छ भन्ने कुरा । मैलो कपडा लगाएर ‘धोती’को उपमा पाएका मान्छे भएर पनि मान्छे बन्न नसकिरहेका मधेसी जनताको पक्षमा बोल्दा तिमीलाई भारतकै ‘दलाल’ भन्छन् भन्ने थाहा थिएन बाबुराम ? तिमीलाई थाहा छैन यहाँ कमजोरहरुको पक्षमा बोल्न वर्जित छ ? कस्तो गणतन्त्र ल्याएछौ तिमीले ?

तिमी किन मधेसमा चलेको गोलीको आवाज दबाउने गरी काठमाडौंमा नयाँ संविधानको दीपावलीमा पटाका पड्काएर बस्न सकेनौ ? गोलीको आवाजलाई पटाकाले र रगतको रंगलाई दिपावलीले दबाउन तिमीले अरु शीर्ष नेताहरुले जस्तै हिम्मत किन गरैनौं बाबुराम ? मधेसमा मान्छे मारिँदैछ, विदेशी हस्तक्षेप चर्कन सक्छ, ननिम्त्याउ विदेशी । स्वदेशीलाई स्वदेशीकै रुपमा सम्मान गर भनेर तिमीले किन फेसबुकका भित्ता रंगायौ बाबुराम ? के यो देशमा यति धेरै दूरदर्शी बन्न पाइन्छ ?

यसर्थ, फर्क बाबुराम । पुरानै घर फर्क । छाडिदेउ समृद्धिको सपना । मधेस डा.सिके राउतहरुलाई छाडिदेउ । छाडेको सदस्यता फिर्ता लिग र बन फेरि औपचारिक कम्युनिष्ट । छाडिदेउ गाउन मधेसीको विभेद र उत्पीडनको गीत । छाडिदेउ जनताको इतिहास पढ्न । सक्छौ भने भूगोलविद् बन र माटो र ढुंगाहरुको अध्ययन गर । अनि गाउ अध्यक्ष प्रचण्डसँगै माधव घिमिरेको गीत– नेपाली हामी रहौंला कहाँ….. ।

महेन्द्रकालतिर मधेसलाई नेपाल मानिदैनथ्यो । पहाडी समुदायलाई मधेसमा पुनर्वास गराएर, मधेसका उच्च घरानियाका एकाधलाई सेनातर्फ प्राविधिक भूमिकामा मात्र प्रवेश गराइयो त्यो पनि अधिकारको रुपमा भन्दा ‘निगाह बक्स’को रुपमा । सीमामा भारतीय बिस्तारवादसँग पौठेजोरी खेल्ने मधेसीलाई कहिल्यै नेपाली मानिएन् । बलात्कृत नेपालीको रगतले माटो भिज्यो । माटो पुजियो तर ती महिला पुजिईनन् । मधेसीमात्र होइन, महेन्द्रीय राष्ट्रवाद लाद्न खोज्दा गाई खाने हिमालका केही जाति, जनजातिलाई जेल हालियो ‘कानुन’ लगाएर । कुन देशको कानून भन्लाउ बाबुराम, यही देशको कानुन । दलितलाई मरेपछि ‘सिनो’ खान दिइयो तर मारेर खाँदा जेल कोचियो । मातृभाषामा पत्रिका निकालेका थारु र नेवारलाई जेल पनि हालिएको थियो । चाडबाड र परम्पराका कुरा पनि बिर्सिदेऊ ।

खैर, बिर्सिदिउँ बाबुराम बिरानो बनिसकेको विगतलाई । आऊ वर्तमानमा बाँच्न सिक । त्यतिमात्र होइन, बिर्सिदेउ तिमीले महान भनेको जनयुद्धलाई पनि । बिर्सिदेउ उनीहरुका सपनालाई पनि । मात्र टाँस एकथान तस्बिर सहिदहरुको । च्यातेर फालिदेऊ मुटुबाट उनीहरुको तस्बिर र सपनाहरु । त्यहाँ राख्न तिमीलाई अधिकार छैन । तिमीलाई थाहा छ नि यो संसार कति औपचारिक छ । निधारमा टाँस नेपालको नक्सा र मुटुबाट झिकेर फ्याँकिदेउ यो देश । कण्ठ गर दुई लाइन महेन्द्रमालाका हरफहरु । यति भन्दा पनि सम्झिएनौ भने बहुलाएको बाबुरामलाई राम राम भन्न मात्रै सक्छु । काँध थप्न सक्दिन । मलाई माफ गर ।

तिमीलाई थाहै छ, बाबुराम यहाँको पुख्यौली राष्ट्रियताको दृष्टिमा जनताको अधिकार उठायो भने अराष्ट्रिय भइन्छ । यहाँ राष्ट्रवाद भोक लागेपछि मात्रै ब्युँझन्छ । पेट्रोल नपाएपछि ब्युँझन्छ । ग्याँस सकिएर चुलो निभेपछि ब्युँझन्छ । सीमामा नेपाली युवती बलात्कृत हुँदा ब्युँझँदैन । ‘खन्चुवा’ र ‘भोके’ राष्ट्रवादको जात्रा लागिरहेको बेला तिमी किन पस्यौ झुपडीहरुमा बाबुराम ? किन पुछ्न थाल्यौ गरिबका आँसु । छाडिदेउ यो ‘पागल’ काम । देश विकास गरेर, आत्मनिर्भर बनेर पनि कहि राष्ट्रवाद बलियो हुन्छ ? त्यसको लागि त लगाउनुपर्छ नारा घाँटी सुक्ने गरी । फर्क काठमाडौं र लगाउ चर्को स्वरमा नारा । गणतन्त्र घोषणा हुँदैमा राजतन्त्रको विचारधाराले कहाँ छाडेको हुन्छ र ? एकथरी मानिसहरुको दिमाग कब्जा गरिरहेकै छ यसले । यस्तो अँध्यारो जहाँ पुरानै राष्ट्रियताको भूतले लखेटिरहेको छ तर, तिमी नयाँ राष्ट्रियता जन्माउने दुस्साहस किन गरिरहेछौं ?

आउ काठमाडौं । फुकाल मधेसमा लगाएको धोती र छर्क सुनपानी । पवित्र भएर दौरासुरुवाल लगाउ । सक्छौ भने स्वदेसी कुर्सीमा बसेर विदेशी पिआर सुरक्षित गर । किन गर्छौ सबै वेशभूषा र भाषाको कुरा । मेटीदेऊ इन्द्रधनुषी रंगहरु । भोलिबाटै सुरु हुन्छ तिम्रो जयजयकार ।
होइन भने राष्ट्रियता बुझेका बिपीले ऊर्जाशील समय भारत र नेपालको जेलमा बिताए । जनताको प्रगतिमा राष्ट्रवाद खोज्न थाल्यौ भने यत्तिकै सिध्याइने छ तिम्रो बाँकी जीवन पनि ।

मधेसमा ढलेका लासहरुलाई टेकेर काठमाडौं फर्क बाबुराम । अनि लगाउ माटोको टिका र लगाइहाल दौरा सुरुवाल । तिमीलाई थाहा, प्रधानमन्त्रीको चुनावपछि राष्ट्रपतिको चुनाउ हुन्छ । जहाँ पुगेपछि तिमी ‘राष्ट्रवादी’ बनेर बाँच्नेछौ । समयमा बुद्धि फिरेन भने तिमी सधैं पढिरहेका हुनेछौ यही देशका शासकहरुले पागल घोषणा गरेका महाकवि देवकोटाको ‘पागल’ कविता–
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल ।
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बासनालाई संवाद लिन्छु ।
आकाशभन्दा पातलका कुरालाई छुन्छु ।
ती कुरा,
जसको अस्तित्व लोक मान्दैंन
जसको आकार संसार जान्दैन !

-सुदर्शन खतिवडा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: