नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको दसैँको साइत सार्वजनिक गरेको छ । घटस्थापनाको साइत असोज २६ गते मङ्गलबार बिहान ११ बजेर २५ मिनेटमा रहेको छ । त्यसैगरी सरकारी कार्यालय र सेनाको झन्डा फेर्र्ने साइत असोज २७ गते बुधबार बिहान ११ बजेर ३५ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
यस वर्ष पश्चिम फर्केर झन्डा फेर्नु राम्रो हुने मानिएको छ। कात्तिक १ गते आइतबार पचली भैरबको यात्रा परेको छ। कात्तिक ३ गते मङ्गलबार फूलपातीका दिन बिहान १० बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ। फूलपाती भित्र्याउन भने साइतको आवश्यकता नपर्ने अध्यक्ष गौतमले बताए।
कात्तिक ४ गते बुधबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्री पूजा गर्नुपर्ने पनि समितिले जानकारी गराएको छ। कात्तिक ५ गते बिहीबार महानवमी र विजयादशमी एकै दिन परेको छ । “त्यस दिन महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको छ,” अध्यक्ष गौतमले भने।
कात्तिक ५ गते बिहीबार देवी विसर्जनको साइत बिहान १० बजेर ४५ मिनेटमा रहेको छ भने टीकाप्रसाद ग्रहणको साइत खोज्नेका लागि बिहान १० बजेर ५५ मिनेटको साइत उत्तम रहेको छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साइत नै खोज्नेका लागि मात्र १० बजेर ५५ मिनेटको साइत उत्तम भएको पनि अध्यक्ष गौतमले स्पष्ट पारेका छन्। शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीकाप्रसाद ग्रहण गर्न साइत नचाहिने पनि उनले जानकारी दिए।
विजयादशमीका दिन गरिने तुलजा भवानीको यात्राका लागि कात्तिक ५ गते बिहान ११ बजेर १ मिनेटको साइत र स्थिर आसनका लागि बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ। खड्ग यात्राको साइत कात्तिक ५ गते विजयादशमीकै दिन ११ बजेर ५५ मिनेटमा राम्रो रहेको छ।
दुर्गा पक्षमा विधिअनुसार दिइने सम्पूर्ण बलिलाई कात्तिक ९ गते सोमबार समाप्त गर्नुपर्नेछ। त्यस दिन बेलुकी ८ बजेर १३ मिनेटदेखि पूर्णिमा तिथि लाग्ने र मध्यरातमा पनि पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा ९ गते नै मनाउनुपर्ने शास्त्रीय विधि रहेको समितिको ठहर छ। पूर्णिमा व्रत भने कात्तिक १० गते मङ्गलबार परेको छ। आकाशदीप दान र कात्तिक स्नान आरम्भ पनि कात्तिक १० गते मङ्गलबार नै सुरु गर्नुपर्नेछ।
यस वर्ष आठ रात नौ दिनको नवरात्र परेको छ। नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष पनि गत वर्षकै जस्तोे योग परेको हो। नौ दिन दश रात लगाएर गरिने कार्य भएकैले नवरात्र भन्ने गरिएको हो ।
चैतको नवरात्रभन्दा ठूलो पर्वका रुपमा मनाइने भएकाले शरद ऋतुको आश्विन शुक्ल पक्षमा पर्ने दसैँलाई बडादसैँ पनि भन्ने गरिन्छ। दसैँका लागि समितिले निकालेको साइत विभिन्न व्यक्ति र संस्थाले आफूले निकाले झैँ गरी सञ्चारमाध्यममा प्रवाह गर्ने गरेकाले सरकारको आधिकारिक निकायका रुपमा रहेको समितिका माध्यमबाट भनिने साइतको मात्र जिम्मेवारी लिइने अध्यक्ष गौतमले सबैमा जानकारी गराए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्