
पत्रकार ऋषि धमलासँग नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान कुरा गर्दै भाजपा नेता जोलीले नेपालमा नरेन्द्र मोदीको पुत्ला जलाएर भारतविरुद्ध प्रचारवाजी गरेको भन्दै नेपालीहरूसँग आक्रोश व्यक्त गरे । ‘हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने ।
भारतविरुद्ध प्रदर्शन गर्ने’, उनले भने, ‘अनि हामीलाई नाकाबन्दी गर्यो भन्ने ? झठ्ठा प्रचार गर्ने । अनि हामीसँगै सबै माग्ने । यो कार्य हामीलाई सैह्य छैन ।’
‘नेपालमा भूकम्प आउँदा सबैभन्दा पहिला भारतले सहयोग गर्यो । नरेन्द्र मोदीले नेपाललाई दश हजार करोड ऋण दिएका छन् । नेपालमा रोकिएका संरचना बनाउन सहयोग गर्यौँ’, भाजपा नेता जोलीले आक्रोशित हुँदै भने, ‘यति धेरै सहयोग गर्दा पनि मोदी र भारतविरुद्ध नेपालमा झुठो प्रचार गर्ने ? यो सब बन्द गर्नुस् ।’
उनले यति धेरै सहयोग गर्दा पनि नेपालीले भारतविरुद्ध प्रदर्शन गरेको भन्दै आफ्ना प्रधानमन्त्री मोदीको पुत्ला नजलाउन चेतावनी दिएका छन् । उनले नेपालमा आफूहरूले नाकाबन्दी नगरेको भन्दै मधेसका नेपालीहरूले नाकाबन्दी गरेको बताए ।
‘पहिला मोदीको पुत्ला जलाउने कार्य बन्द गर्नु पर्यो’, उनले भने, ‘नेपालीहरू गुराहमा बसेर नेपाल र भारतबीचको ‘रोटीबेटी’को सम्बन्ध विगार्न केही तत्व लागेका छन् ।’
‘भारतका नरेन्द्र मोदी नेपालमा विकास र सुःख शान्ति चाहन्छन्’, जोलीले भने, ‘पुत्ला जलाउँने हो भने नेपाल र भारतको सम्बन्ध सुध्रिदैन । राम्रो हुँदैन ।’
विजय जोली
विजय जोली
भारतले नेपालको संविधानको विरोध नगरेको दावी गरेका भाजपा वरिष्ठ नेता जोलीले भने, ‘मधेसी नेपालीहरूको माग सम्बोधन गर । आमसहमतिमा संविधान बन्नुपर्छ भन्दा किन भारतको विरोध ?’
उनले मधेसी मुलुका नेपालीहरूको अधिकारको आन्दोलनमा आफूहरूको साथ र समर्थन रहेको बताए । ‘पहाडी नेपालीको जति अधिकार छ, त्यति अधिकार मधेसी नेपालीको पनि छ’, उनले भने, ‘चालीस जना मधेसी नेपालीको मृत्यु हुँदा नेपाली शासकहरू चुपलागेर बसेका छन् । उनीहरूलाई सँगै लगेर जाउभन्दा एन्टीभारत भइहाल्ने ? सामाजिक सञ्जालमा भारत विरोधी गतिविधि गर्ने ?’
आफू अनुकुल हुँदा भारतको समर्थन लिने नेपाली नेताहरूले अहिले आफू अनुकुल नहुँदा भारतको विरोधी गरेको भाजपा नेता जोलीको भनाइ थियो । उनले नेपालको नयाँ प्रधानमन्त्री पनि आमहसमतिका आधारमा हुनुपर्ने बताएका छन् ।