
भारतको नाकाबन्दीका कारण जनताले सास्ती खेपिरहेका बेला सरकारका मन्त्री भने भारतले नाकाबन्दी नै नगरेको अभिव्यक्ति दिँदै गैरजिम्मेवार रुपमा प्रस्तुत भएका छन् ।
भारतले एक सातादेखि लगाएको नाकाबन्दी खुलाउन र वैकल्पिक व्यवस्था गर्न रातदिन खट्नुपर्नेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधि, सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल र वाणिज्य तथा आपूर्तिमन्त्री सुनील थापा भारतकै पक्षमा महत्वपूर्ण निर्णय गराउन लागिपरेका छन् ।
सञ्चारमन्त्री रिजालले भारतीय च्यानल बन्द गर्ने नेपालका केबुल टिभी अपरेटरहरुलाई मन्त्रालयमार्फत २४ घन्टे स्पष्टीकरण सोध्न लगाएका छन् ।
त्यस्तै, चीनसँग जोडिएका नाका खुलाउनुको सट्टा मन्त्री निधि भने काठमाण्डु–तराई फास्ट ट्र्याक निर्माणको काम विवादित भारतीय कम्पनीलाई दिने फाइल मन्त्रिपरिषदबाट स्वीकृत गराउन लागिपरेका छन् ।
त्यसैगरी नाकाबन्दी आपूर्तिमा अग्रसरता लिनुपर्ने वाणिज्यमन्त्री थापा पनि भारतको विकल्प अन्य हुन सक्दैन भन्दै आनाकानी गरिरेका छन् ।
केही दिनअघि प्रधानमन्त्रीसँगको छलफलमा समेत ती मन्त्रीले भारतको विकल्प अरु देश नहुने र विकल्प खोज्दा भारत चिढिने भन्दै भारतलाई नै मनाएर आपूर्ति सहज गराउनुपर्ने तर्क गरेका थिए ।
नागरिक दैनिकबाट